बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेपालमा १७ वर्षकै उमेरदेखि सुर्तिजन्य पदार्थको प्रयोग

 २४ असार २०७८, बिहीबार  

नेपालमा १७ वर्षकै उमेरदेखि सुर्तिजन्य पदार्थको प्रयोग गर्ने गरेको एक अध्ययनले औल्याएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सन् २०१९ मा गरेको एक अध्ययन सर्वेक्षण अनुसार १७ वर्ष पुग्ने बित्तिकै चुरोट पिउने, गुट्खा, पानपराग र खैनी जस्ता सुर्तिजन्य पदार्थहरुको प्रयोग गर्ने गरेको अध्ययनले औल्याएको छ। मंगलबार ‘कोभिड १९ को सन्दर्भमा नसर्ने रोग र धुमपानको सम्वन्ध’ विषयक गोष्ठीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले यस्तो जानकारी दिएका हुन्।

तथ्यांक अनुसार सन् २००७ को अध्ययनले २१ वर्षमा, सन् २०१३ मा १८ वर्षमा र सन् २०१९ मा १७ वर्षको उमेरमै सुर्तिजन्य पदार्थको सेवन सुरु गरेको पाइएको हो। नेपालमा धुमपानविरुद्धका अभियानसंगै सुर्तिजन्य पदार्थहरुको सेवनकर्ताको संख्या घटेपनि कम उमेरमा प्रयोग गर्नेहरुको संख्या बढेको डा. धिमालले बताए। बिभिन्न प्रकारका मिडियाकाे प्रभाव, साथीसंगत र पारिवारिक वातावरणक कारणले नेपालमा सानै उमेरदेखि सुर्तिजन्य पदार्थको सेवनकर्ता बढीरहेको डा. धिमालको भनाइ छ। यो सँगै धुमपानविरुद्धको ऐन बिपरित सार्वजनिक स्थल, कलेजनजिकका स्थलहरुमा समेत सुर्तिजन्य पदार्थको बिक्री भइरहेकाले पनि कम उमेरमै प्रयोग गर्न सुरु गरेको उनको भनाइ छ।

तथ्यांक अनुसार नेपालमा सन् २००७ मा ३७.१ प्रतिशत, सन् २०१३ मा ३० प्रतिशत र सन् २०१९ मा २८.९ प्रतिशतले सुर्तिन्जय पदार्थको प्रयोग गर्छन्। यो हिसावले १४ वर्षको अवधिमा ९ प्रतिशत मात्र प्रयोगकर्ता घटेको देखिन्छ। तथ्यांक अनुसार नेपालमा महिलाको तुलनामा पुरुषहरुले बढी मात्रामा सुर्तिजन्य पदार्थको प्रयोग गरेको पाइएको छ। तथ्यांक अनुसार २०१३ मा सुर्तिजन्य पदार्थ प्रयोग गर्ने पुरुषको संख्या २७ प्रतिशत थियाे भने २०१९ मा २८ प्रतिशत रहेकाे छ। सन् २०१३ मा १०.३ प्रतिशतले प्रयोग गर्दथे भने सन् २०१९ मा ७.५ प्रतिशत महिलाले प्रयोग गरेका छन्।

यी पदार्थहरुले मुटु, मस्तिष्क, ढाडको रोग, उच्चरक्तचाप,दम, श्वास–प्रश्वास सम्वन्धी अन्य रोगहरु, मुख, फोक्सो तथा आन्द्राको क्यान्सर समेत हुने भएकोले यी पदार्थ सेवनको रोक हुनु पर्नेमा अहिलेसम्म कानुन कार्यान्वयनमा आउन नसकेको विज्ञहरुले औंल्याए।

धुमपानले स्पाइनल (मेरुदण्ड)को हड्डीमा समस्या उत्पन्न गराएको कारण कम उमेरमै ढाड र घाँटी  दुख्ने समस्या लिएर बिरामीहरु उपचारमा आउने गरेको बरिष्ठ स्पाइनल सर्जन तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका उपाध्यक्ष डा. गौरव ढकालले बताए। धुमपान गर्नेहरुमा शरीरको कम्मर, घाँटी र ढाड दुख्नुको साथै हड्डीको स्वास्थ्यमा समेत समस्या आउँछ। डा. ढकालका अनुसार धुमपान गर्नेहरुमा हड्डी भाँच्चिने, हड्डीको घनत्व कम हुने र हड्डी कमजोर हुने जस्ता समस्या देखिन्छ।

त्यसैगरी शल्यक्रिया गरेपछि घाउमा संक्रमण हुने, घाउ निको नहुने र अन्य खालका मानसिक समस्या देखिन्छ। तथ्यांक अनुसार धुमपान गर्नेहरुमा प्रति वर्ष २० प्रतिशतमा कम्मर दुख्ने र उनीहरुको जीवनकालमा एक पटक ढाड दुख्ने समस्या ८० प्रतिशतमा देखिन्छ। चिकित्सकका अनुसार सुर्तिजन्य पदार्थमा हुने निकोटन रगत हुँदै शरीरका अन्य भागमा पुग्ने क्रममा रगतका नलीहरु साँघुरो भई स्पाइनलमा अक्सिजनको मात्र कम हुँदा पर्याप्त पोषणको कमीले हड्डी बलियो हुन पाउँदैन भने स्पाइनलका हड्डीमा थप पोषणको कमी हुन गइ ढाड तथा घाँटीको भाग दुख्ने समस्या आउँछ।

नेपालमा सबैभन्दा बढी मृत्यु नसर्ने रोगहरु उच्चरक्तचाप, मुटु, मधुमेह र दम जस्ता रोगहरुको कारणले बढी हुने गरेको तथ्यांकले औल्याएकाे छ। तथ्यांक अनुसार प्रति वर्ष कुल मृत्युको ७१ प्रतिशत मृत्यु नसर्ने रोगको कारण, ८ प्रतिशत चोटपटक र २१ प्रतिशत संक्रामक रोगको कारणले हुने गर्छ। मृत्यु गराउने नसर्ने रोगहरु धेरै जसो धुमपानसँग सम्बन्धित छन्। जसमा दम, क्यान्सर, मुटु, उच्चरक्तचाप लगायत छन्।

इटलीमा भएको पछिल्लो अध्ययन अनुसार नसर्ने रोगहरु, श्वास–प्रश्वास सम्वन्धी रोगहरु, उच्चरक्तचाप, क्यान्सर, मिर्गौला, मधुमेह जस्ता रोग भएका व्यक्तिहरुमा कोभिड संक्रमणको मृत्युदर उच्च भएको पाइएको थियो। यस कारण जोखिमपूर्ण नसर्ने रोग भएका व्यक्तिहरुले कोभिड १९ को अवधिमा भौतिक दूरी पालना गर्ने, सफाइ गर्ने, मास्कको प्रयोग, स्वस्थ खाना खाने र अन्य सावधानी अपाउन उनीहरुले सुझाएका छन्।

गोष्ठीका सहभागीहरुले नेपालमा धुमपानविरुद्धको कानुन कडाइका साथ पालना नहुनाले धुमपान र यसले निम्ताउने रोगहरुमा नियन्त्रण हुन नसकेको गुनासो गरे।  साभार : नागरिक दैनिक

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै