एक पुस्तामा विद्वान हुनै सकिन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पुस्तामै विद्धान तयार गर्न नसकिने बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वजहरूले कयौँ परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सके मात्रै विषय विज्ञता हासिल गर्न सकिने बताएका हुन्।
मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविष्कार गर्दे जानुपर्नेमा उनले जोड दिए। उनले अनुकूल हावापानी र विविध भौगोलिक अवस्था भएका कारण हिमाली, पहाडी र तराईको हावापानी अनुसारका वस्तु उत्पादन गर्न सकिने बताए।
उनले भने, ‘एक जेनेरेसनमा नै मेहनत गरेर विद्वान हुन सकिँदैन। जेनेरेसन टु जेनेरेसनको मेहनतबाट मात्रै विद्धान हुन सकिन्छ। हामीहरूले पूर्वजको मेमोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने मेमोरी पावर र इन्नोभेटिभ पावर। मेमोरी पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौं। हाम्रो जस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौं।’
प्रायः सार्वजनिक कार्यक्रममा सरकार विरोधी विपक्षी मोर्चामा संलग्न नेताहरूको चर्को आलोचना गर्ने गरेका प्रधानमन्त्री ओलीले बिहीबारको कार्यक्रममा भने जडीबुटीको उपयोगिता, नयाँ आविष्कार तथा परम्परागत औषधिहरूको बेलिबिस्तार लगाए।