बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

विवाद समाधान गर्न सफल होला त कार्यदल ?

 २५ असार २०७८, शुक्रबार  

काठमाडौं। नेकपा एमाले विवाद समाधान गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दैछ। एमाले नेता सुवास नेम्वाङले आज विहान साढे ११ बजे बैठक बस्ने जानकारी दिए। गत सोमबारदेखि लगातार बसिरहेको बैठकबाट अहिलेसम्म सहमतिको टुंगो लागिसकेको छैन। कार्यदलको बैठक निरन्तर बसिरहेको छ।

यसबीच बुधबार कार्यदलका सदस्यको आग्रहमा माधव नेपाल र केपी शर्मा ओलीबीच पनि छलफल भएको थियो। तर, दुवैबीच पनि सहमति बन्न सकेन। विशेषगरि ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गर्ने फैसलापछि उत्पन्न हुने जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सरकारको निरन्तरताका लागि नेता नेपालबाट ठोस प्रतिबद्धता खोजेका छन् भने नेपाल पक्षले शक्ति बाँडफाँटको विषयलाई मुख्य बनाएको छ।

यसैगरि माओवादी केन्द्र छाडेर आएका नेताहरुको व्यवस्थापन, सांसदको हस्ताक्षर फिर्तालगायतका विषयमा पनि सहमति खोजिँदैछ। कार्यदल सदस्यहरूले सहमतिनजिक पुगेको बताइरहेपनि प्रत्येक दिन बसिरहेका बैठकले ठोस परिणाम भने दिन सकेको छैन। बिहीबार दुई चरणमा बसेको बैठकमा विवाद समाधानका बारेमा कुनै सहमति हुन नसकेपछि थप छलफलका लागि आज बैठक बोलाइएको हो।

थप गृहकार्यका लागि भनेर बिहीबार बिहानको बैठकबाट उठेका कार्यदलका सदस्यहरु साँझ सिंहदरबारमा बसेका थिए। तर, बैठक विषय प्रवेश नै नगरी स्थगित भएको कार्यदलका सदस्य एवं एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले बताए। पार्टीभित्र देखिएको विवाद समाधान गरी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालको हस्ताक्षरमा संयुक्त विज्ञप्ती जारी गर्ने गरी कार्यदलका सदस्यहरु छलफलमा छन्।

यसबीचमा बुधबार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता समेत भएको थियो। कार्यदलमा रहेका नेताहरुले अध्यक्ष ओली र नेपालबीच बुधबार सकारात्मक वार्ता भएको र छिट्टै पार्टी एकतामा महत्वपूर्ण उपलब्धि हासिल हुने बताउँदै आएका थिए। बिहीबार साँझको छलफलपछि निष्कर्षमा पुग्ने भनिएपनि कुरा मिल्न नसकेको हो।

नेता नेम्वाङले आज बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुंगोमा पुग्ने विश्वास व्यक्त गरेका छन्। कार्यदलमा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ संयोजकसहित विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। यस्तै, नेपाल पक्षबाट भीम रावल संयोजकसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन्।  लोकपाटी

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै