बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

के अभिभावकप्रति सन्तानको जिम्मेवारी छैन ?

 २७ असार २०७८, आईतवार  

शाहिदा शाह ।  आज हामी महिला विशेष स्तम्भ बुर्काभित्र/बुर्काबाहिरमा एउटा यस्तो विषयमा चर्चा गर्ने छौं जसको सीधा सरोकार महिलासंग हुन्छ । हामीलाई थाहा छ परिवार भनेको आमाबुवा, दाईभाई, दिदीबहिनी, छोरीबुहारी र नातीनतिना मिलेर बनेको हुन्छ । एउटा परिवार खुशहाल तब रहन्छ जब त्यसका सम्पूर्ण सदस्यहरुले आ आफ्ना दायित्व पुर्ण रुपले निर्वाह गरेका हुन्छन् । यति कुनै एक सदस्यले नि दायित्व निर्वाह गर्न पन्छिने गर्छ भने परिवारमा अशान्ति, कलह र द्वन्द्व सृजना हुन थाल्छ । जुनकि पछि ठुलो रुप लिएर कुटपिट घर निकाला र अदालत सम्म नै पुग्ने गर्छ । परिवारलाई चलाउन अभिभावक र सन्तानको महत्त्वपूर्ण भुमिका रहेको हुन्छ । आज हामीले समाजमा हेर्छौं कि आभिभावकले आफ्ना सन्तानहरुको पालन पोषणमा आफ्नो रगत पसिना बगाउन पछि हट्दैन्न् । दुख कष्ट गरेर उनीहरुलाई हुर्काउन्छन् । बुवाले आफुले सक्दो शिक्षादिक्षा दिलाउन्छन् , दिनरात मिहेनत गरी उनीहरुका हरेक आवश्यकताहरु पुरा गर्छन् । बच्चाले राति दिसा पिसाब गरिदिए आमाले आफु भिजेको ओछ्यानमा सुतेर रातभरी सुत्न नसकि बच्चालाई सुक्खा ठांउमा सुताउंछिन् । आफुले नखाएर बच्चाहरुलाई खुवाउंछिन् । बच्चा बिरामी पर्दा आफु रात रात भरी जागेर उसको हेरचाह गर्ने औषधी दिने उसको ख्याल राख्ने गर्छिन् । जसले गर्दा बच्चा चांडै निको भइ जाओस् । जब बच्चाहरु ठुलो भइहाल्छन् तब उनीहरुलाई आफ्ना आमाबुवा बोझ सरह ठान्न थाल्छन् । आमाबुवाको स्नेहबाट उनीहरुलाई दिक्क लाग्न थाल्छ । आमा बुवा ब्याकवर्ड लाग्न थाल्छन् । अब उनीहरु आमाबुवासंग चांडै छुटकारा पाउन खोज्न थाल्छन् । आफ्नो आमाबुवा प्रतिको जिम्मेवारीबाट पन्छिन थाल्छन् । यस कारण आज आमाबुवा प्रति सन्तानहरुको दायित्व बारे छ भनी चर्चा गर्नेछौं ।

धर्म जुनसुकै किन न होस् आमाको स्थान सधैं उच्च रहेको छ । कसैले पनि आमाको स्थान लिन सक्दैन् र कसैले आमा जस्तो निवार्थ अविरल प्रेम दिन सक्दैन् । मानिस कत्ति धनी भइहालोस् उसले कहिल्यै आमाको प्रेम किन्न सक्दैन् । आमाको आंसुले मानिसलाई बर्बाद गर्न सक्छ। आमाको स्थान धेरै ठूलो छ सन्तानहरुले पूरै जीवन चाहे पनि पूर्ति गर्न सक्दैन्न् । यसै सन्दर्भमा हाम्रो आजको सामाजिक परिवेश के कस्तो छ र इस्लाममा के भनिएछ भनी हेर्नेछौं ।

सामाजिक परिवेश
आजभोलि हामी हेर्ने गर्छौं हाम्रो समाजमा पहिलाको भन्दा परिवेश फरक छ । पहिला आमालाई देवी र जन्नत भनी आदर गरिन्थ्यो । आज तिनै आमालाई बोझ ठानेर कि त घरको एक कुनामा जनावर सरह व्यवहार गरी राखिन्छ कि वृद्धाश्रममा पठाईन्छ । अनि एक पटक वृद्धाश्रम पठाईसकेपछि फर्केर हेर्न जान पनि समय हुदैंन् सन्तानहरुसंग । कोही कोही त मरेपछि लाश ल्याएर दहसंस्कार गरिदिन्छ कोही त त्यो पनि गर्न भ्याउदैनन् । घरमा राखिएकी आमालाई उनको पति हुदां सम्म त अलि देखभाल भइहाल्छ । तर पति नहरेपछि त उनलाई घरको कबाड वा बेकामको सामान सरह व्यवहार गरिन्छ । यदि कुनै बेला उनले आफ्नो सन्तानलाई आफु समक्ष बस्न भन्छिन् भने मसंग फालतु समय छैन् थाकेछु आराम गर्छु भनी जवाफ आउछं । कहिले आफ्नो लागि कुनै सरसमान वा औषधी ल्याउन आग्रह गरिन् भने जे जति पाएकीछौं त्यो नै ठुलो कुरा हो हैन भने तिमीहरुले मेरो लागि गरेकै के थियौ र । भनी जवाफ आउंछ । बच्चाहरु जब सम्म साना हुन्छन् तब सम्म उनलाई आफ्नो अभिभावक संग यो गुनासो हुन्छ कि फलानो साथी जस्तै मेरो छुट्टै बेडरुम बनाउनु भएन् । मेरो लागि फलानो साथी जस्तो जुत्ता किनाउनु भएन् । मेरो जन्मदिन मा फलानो साथी जस्तै ठुलो केक सहितको भव्य भोज गर्नु भएन् । मलाई उसको जस्तो महंगो खेलौना दिलाउनु भएन् आदि यो त ५ देखि १३ वर्ष सम्मको गुनासो । जब १४ वर्ष भन्दा माथि हुन्छ तब उनलाई आमाबुवाको स्नेह र देखदेख अनावश्यक बन्धन लाग्न थाल्छ । जब १७ वर्ष भन्दा माथि हुन्छन् तब उनको गुनासो हुन्छन् कि आमा बुवाले उनलाई बुझ्नै सकिरहेका छैन्न् किनभने आमाबुवा पुरानै सोचका छन् जबकि ऊ आफु आधुनिक सोचको भइसकेछ । अब उसको र अभिभावकको बीच कुरै मिल्दैन् किनकि आमाबुवाले आधुनिक संसार हेरैकै छैन्न् जबकि ऊ त नंया संसारबाट प्रभावित भइसकेको ठान्छ । अब आमाबुवाले भनेका कुरा बेकार, बेकाम र अनाहक लाग्न थाल्छन् । अब उनीहरुलाई नयाँ अनुभूतिका लागि नंया नंया साथीको खांचो हुन थाल्छ । अबेर राति सम्म घर बाहिर बस्नु, साथीहरुसंग सिनेमा हेर्नु, शहर बाहिर साथीहरुसंग पिकनिक जानु आदि यो उसको जवान भइसकेको निसानी हो भन्ठान्छन् । यदि आमाबुवाले सम्झाउन बुझाउन खोजे उनीहरुले उसको स्वतंत्रता हनन गर्न खोज्ने आरोप लगाउन पनि पछि पर्दैन्न् । साना सानासाना कुरा आमाबुवासंग झर्किनु, ठुलो स्वरमा कुरा गर्नु, बेलाबेलामा झगडा गर्नु , मेरो लागि आखिर के गर्यौ भनी जवाफ माग्नु अभिभावकसंग वास्तै नराख्ने आफ्नो जिन्दगीमा मस्त रहने यो नै आजको अधिकांश युवापिढीका सन्तानहरुको दिनचर्या रहेछ । जसका कारण बुवा त चिन्तामा हुन्छन् नै तर आमा सब भन्दा बढी पीडामा हुन्छिन् । उनलाई सन्तानहरुले भन्छन् कि तपाईले मेरो लागि सिफारिश नगरिदिएकै कारण म पिकनिकजान पाइन, त्यो खेलौना पाएन ,त्यो मोबाइल पाएन, तपाईकै कारण म आफ्नो साथीहरु जस्तै सुखशैलमा जीवन जिउन पाएन । उता बुवाले भनेकै हुन्छन् तिमीले गर्दा नै छोरा छोरी बिग्रिए, तिमीले नै यिनीहरुलाई टाउकोमा टेकायौ, म त दिनभरी बाहिर कमाउन गएको हुन्छु तिम्रो जिम्मेवारी थियो मेरो अनुपस्थितिमा यिनीहरुको राम्रो शिक्षादिक्षा र पालनपोषण गर्नुको तर तिमीले आफ्नो दायित्व निभाउन सकिनौं र सन्तानहरु बेलगाम भए । तिमी एक असक्षम र असफल आमा साबित भयौ । समाजले पनि आमालाई नै दोष लगाउछ तर आमाको पीडा कसैले बुझेको हुदैन ।

इस्लाममा सन्तानहरुको दायित्व
इस्लाममा भनिएको छ कि त्यहाँ आमाको खुट्टा मुनि स्वर्ग छ । तसर्थ यदि तपाई स्वर्ग चाहनुहुन्छ भने आफ्नो आमालाई खुशी राख्नु उसलाई मनाउनुहोस् । यदि आमा खुसी छिन् भने अल्लाह खुशी हुन्छ र यदि आमा आफ्नो सन्तानहरुसग रिसाइन् भने अल्लाह पनि रिसाउंछ । आमाको महत्व यसरी पनि बुझ्न सकिन्छ भनिएको छ कि यदि बुबाले पहिला पानी मागे आमाले पछि माग्छिन् सबैभन्दा पहिले पानी वा अरू केही सरसमान आमालाई दिनुपर्छ अनि मात्र बुबालाई । अभिभावकप्रति सन्तानहरुको उत्तर दायित्व कुरानमजीदमा उल्लेख छ तर कि त पढ्दैन्न् भने कति त पढ्ने बुझ्दैन्न् । अब नपढ्ने वा नबुझ्नेले कसरी थाहा होस् कि आखिर कसका विषयमा के र किन भनियो । यसले गर्दा यहां तल यसै सम्बन्धमा कुरानापाकका २ आयत उल्लेख गरिएका छन् हेरौं ।
कुरान मजीदमा आदेश छ सुराह बनीइस्राईल
आयत ः २३ र २४
र यो निर्णय गरिएको छ कि तपाईका परमेश्वरले कि उसलाई बाहेक अरू कसैको पूजा नगर्नु र अभिभावकसंग राम्रो व्यवहार गर्नु । यदि तपाईको साथ बुढेसकालमा पुग्नुहुन्छ ती मध्ये एक वा ती दुबै त उनीहरूलाई उफ्फ सम्म नभन्नुस् तिनीहरूलाई हप्काउनुहोस्, र नरमीसंग कुरा गर्नुहोस् र आफ्ना हातहरू उनीहरूको अगाडि सहज र अनुग्रहको साथ झुकाउनुहोस् र प्रार्थना गरिरहनुहोस्ः हे मेरा अल्लाह यिनी दुबै जनामाथि कृपा गर्नुहोस् जसरी तिनीहरूले मलाई बाल्यकालमा हुर्काए ।

उनीहरूलाई आवश्यकता पर्दा उनीहरूका साथमा उपस्थित हुनुहोस् । हुन त कुनै पनि व्यक्तिले इबादत गर्नबाट रोक्दैन् तर कदम कदाचित जानेर वा अन्जानमा यदि अभिभावकहरूले उनीहरूको कल्याणको लागि नफल इबादत (नमाज) छोड्ने आदेश दिन्छन् भने त्यसलाई छोड्दिनुस् अल्लाहको सामु आमाबुवाको सेवा नफल भन्दा बढी महत्व राख्छ । आफ्नो कामको कारण अभिभावकको आदेशद्वारा परित्याग गर्न मिल्दैन । हदीश शरीफहरूद्वारा प्रमाणित छ कि आमाबुवाप्रति सन्तानहरुको दायित्व कति धेरै छन् । उनीहरुलाई सहयोग गर्नुहोस् र उनीहरूलाई हृदयको गहिराइबाट प्रेम गर्नुहोस् उनीहरुसंग मिठोभाषा बोल्नुहोस्, उठ्दा बस्दा उनीहरुको आदरको ख्याल राख्नुहोस्, उनीहरूको सम्मानमा शब्दहरू बोल्दै उनीहरूलाई मनाउने कोसिस गर्नुहोस्, आफ्नो राम्रो सम्पत्ति तिनीहरूबाट टाढा नराख्नुस् उनीहरूको मृत्युपछि उनीहरूको इच्छा पूरा गर्नुहोस् । उनको मृत्यु पश्चात उनीहरूको लागि फातिहा, सदाकत (दान–दक्षिणा), तिलावते कुरानपाक गरिनुहोस् ।

अल्लाहसंग तिनीहरूको भलाईको लागि प्रार्थना गर्नुहोस् । उनीहरुको चिहानमा नियमित जादैं गर्नुहोस् यो सन्तानहरुको कर्तव्य हो । साथै यो पनि आफ्ना आमाबुवा प्रति सन्तानहरुको दायित्वमा सामेल छ कि यदि तिनीहरू पापको अभ्यस्त छन् , कुनै दुष्टता वा कुलतमा फसेका छन् भने उनीहरूलाई राम्रो व्यवहार र नम्रताका साथ असल पथमा फिर्ता ल्याउने प्रयास गर्नुहोस् ।
अल्लाह आफ्नै कृपा र ईच्छाले सबै पापहरुको क्षमा प्रदान गर्दछ तर जसले अल्लाहको एकेश्वरवादलाई अस्वीकार र अविश्वास गर्दछ ऊ यो संसारमा मर्नु अघि सजाय भोग्नुपर्छ । (मिशकात शरीफ) हजरत शाह अब्दुल गनीले हदीश शरीफ बयान गरेर आफ्नो मालफुजातमा एक घटना उल्लेख गर्नु भएको छ ः –
एक जना मानिसले आफ्नो बुबाको घांटीमा डोरी बांधेर उसलाई बांसको खेतसम्म तानेर लग्यो । जुन अगाडि दस–बीस गज टाढा थियो त्यहां पुगेपछि बुबाले छोरालाई भन्योः छोरा ! अब यहांबाट अगाडि नतान्नु नत्र त तिमी अपराधी हुनेछौ ।
छोरा छक्क पर्दै भन्योः जब मैले तपाईलाई २० गज सम्म तानें भने के म अझै अपराधी भएन ?
बुबाले भनेः हो, तिमीले अहिले सम्म अपराधी भएनौ किनकि मैले मेरो बाबु अर्थात तिम्रो हजुरबुबालाई यही ठांउसम्म यसै गरी घांटीमा डोरी बांधेर घिसारेको थिएं । तसर्थ अहिले सम्मको कष्ट मैले मेरो कार्यको बदला पाएकोछु । अब यदि तिमी यो ठाउंबाट अगाडि सर्छौ भने तब तिमी अपराधी हुनेछौ ।

हदीश शरीफमा मुहद्दिसीन भन्छन् कि पापको सजाय मृत्युपछि दिइनेछ तर जसले बाबुआमालाई चोट पु¥याउंछ ऊ यस संसारमा नै दण्डित हुन्छ र सजाय पाउने बित्तिकै मृत्यु आउंदैन् ।

यदि कुनै बेला यस्तो अवस्था आइपर्यो र अभिभावकका आदेश वा शब्दहरू स्थगित गर्न आवश्यक भयो भने बुद्धिमता र कोमलताका साथ गरिनुपर्छ । कडा शब्द वा आवेगमा त्यस्तो जवाफ नदिनुहोस् जसले उनीहरूको मुटु दुखोस् । जब तपाई आफ्नो अभिभावकका सामु आउनुस् तब तपाईको हावभाव, कुरा गर्ने शैलीमा विनम्रता र आदर सम्मान सहितको अभिव्यक्ति हुनुपर्दछ । अभिभावककाप्रति सन्तानहरुको यी पनि दायित्वमै पर्दछन् कि अल्लाहसंग सधैं उनको लागि प्रार्थना गर्नुहोस् कि “जब म कमजोर थिएं तब जसरी यिनले मेरो खाना, मेरो आराम र मेरो अन्य आवश्यकताहरू पुरा गरे । जसरी यिनले मेरो समस्यालाई आफ्नो समस्या ठान्थे र मलाई सान्त्वना र आशीर्वादहरूका साथ मेरो लागि त्याग गरे । म तिनीहरूलाई यसको भुक्तान गर्न सक्दिन् म ती सबैको बदला पुरा गर्न असक्ष छु । यसैले म बिन्ती गर्दछु कि ऐ अल्लाह तपाई तिनीहरूमाथि दया गर्नुहोस् र तिनीहरूको भलाइ र दयाका साथ क्षमा गर्नुहोस् ।

बुढेसकालमा यस्तो समय पनि आउछं यस्तो अवस्थामा बुढापाकाहरुमा बच्चाहरूको बानी कहिलेकांही फर्केर आएको हुन्छ र तिनीहरूका धेरैजसो शब्दहरू बेमतलब र आदेशहरू अप्रभावी हुन्छन् । जसले गर्दा कहिले त उनीहरूलाई सम्झाउनुपर्छ भने कहिले रोकिने अवस्था आउंछ । हामी उनीहरुको भलोकै लागि कहिले रोक्छौं कहिले टोक्छौं । यी सबै प्रयासहरूको बाबजुद कहिलेकांही चूक भइहाल्नु स्वाभाविक हो । यहां भन्न खोज्नुको आशय के भने अल्लाहले तपाईको नियत र तपाईको हृदयको आशय हेर्नुहुन्छ । तपाईको नियत ठीक छ भने तपाईले आफ्नो अभिभावककाप्रति निर्वाह गरेका जिम्मेवारीहरु बापत अल्लाहले पुण्य दिनुहुनेछ यदि नियत र व्यवहार ठीक छैन् भने पापको भागिदार हुनेछ । जुन पापको सजाय मृत्यु पश्चात के पाईने हो त्यो त पछिको कुरा हो तर आमाबुवाको नाफरमानी, उनीहरुसंग गरिने अमानवीय व्यवहार ,अपशब्द र अपमान जस्ता कार्यको परिणाम जीवनमा नै भोग्नु पर्छ । तसर्थ आफ्नो आमाबुवासंग राम्रो व्यवहार गर्नुहोस् उनीहरुको हेरचाह गर्नुहोस् यसैमा तपाईको भलाई र सफलता छ ।

चुनौती 
अहिलेको समयमा सबभन्दा ठुलो चुनौतीको विषयबच्चाहरु नैतिक शिक्षाबाट टाढा हुनु हो । बच्चाहरुलाई सब विषय पढिईन्छ तर एक नैतिकवान व्यक्ति कसरी बन्ने कुरा पाठ्यक्रममा हटाइएकोले यही कुरा सिकाईनुबाट बन्चित छन् । जसको फलस्वरूप आज बच्चाहरु निष्ठुरीपन, निर्दयिता र अमानवीयता तर्फ बढ्दै छन् । जुनकि आउने समयमा सभ्य समाज निर्माणका लागि निकै समस्या खडा गर्न सक्ने छ । साथै टेक्नोला‘जीको प्रयोगबाट फाईदा लिनुको सट्टा उसको दास हुनु पनि एक प्रमुख चुनौती हो ।

सिकाई 
अब बच्चाहरुलाई नैतिक शिक्षाका पाठ सिकाईनु आवश्यक छ । कुनै पनि धर्मसंग आबद्ध किन न होस् उसलाई उसको धर्मले भनेका नैतिक शिक्षा सिकाईनु जरूरी छ । सबैलाई उनीहरुको अधिकारका साथ उनीहरुले आ आफ्नो स्तर अनुसार निर्वाह गर्नुपर्ने दायित्व बारे पनि जानकारी गराईनुपर्छ । यदि कसैले गरेन भने उसलाई समाज वा परिवारबाट बहिष्कृत वा कुनै उप्युक्त सजायको व्यवस्था गरी पाठ सिकाउनु पर्छ ताकि अरुले त्यसबाट सिकुन् ।

गर्नुपर्ने पहल

सबभन्दा पहिला त सबैले आ आफ्नो सन्तानलाई आफ्नो धर्मको शिक्षा दिनुपर्छ धर्मले सिकाएका नैतिकतालाई जीवन र व्यवहारमा उतार्न लगाइनुपर्छ । यसका साथै देशका पाठ्यक्रममा नैतिक शिक्षा पुनः सामेल गर्न सरोकारवालाहरु मार्फत पहल गरिनुपर्छ ।

परिकल्पना
जब हरेक नागरिकले नैतिक शिक्षा हासिल गरी नैतिकता लाई आफ्नो जीवन र व्यवहारमा उतार्छ तब परिवार समाज देश सबै ठांउमा सभ्यताको जिवंत उदाहरण देखिनेछ । सबैले आ आफ्नो दायित्व पुरा गर्ने हुदां परिवारमा शान्ति कायम हुनेछ । झगडा कलह र द्वन्द्वको अन्त्य हुनेछ । सभ्य, संयमित र नैतिकवान व्यक्तित्वहरुको विकास हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै