बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

एमालेमा आन्तरिक विवाद कायमै, दुबैको अजेन्डा कस्तो छ ?

 ३ श्रावण २०७८, आईतवार  

काठमाडौं।  एमालेमा आन्तरिक विवाद कायमै रहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएको छ। एमाले केपी ओली समूहले आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ।

केन्द्रीय कमिटीको अजेन्डा तय गर्न आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको हो। स्थायी कमिटीको शुक्रबार बसेको बैठकले विवाद निरूपणसम्बन्धी कार्यदलले प्रस्ताव गरेका सहमतिका बुँदालाई अनुमोदन गर्नुका साथै कार्यदल खारेज गरेको छ।

सो बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय पनि गरेको छ। ओली पक्षले फेरि आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटीको बैठक राखेर नेपाल पक्षलाई अप्ठेरोमा पार्न खोजेको छ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले सबै बैठक रोकेर ओली र नेपालबीच संवाद गराउन चाहिरहेका छन्। तर ओली र नेपाल दुवै संवाद नगरी अघि बढ्ने मुडमा देखिएका छन्। ‘हामीले दुवै नेताहरूबीच संवाद गरेपछि मात्र पार्टीको बैठक राख्न अनुरोध गरेका थियौं तर अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटीको बैठक बोलाए।

फेरि आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। संसदीय दल र स्थायी कमिटीको बैठकबाट देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गराए। यी गतिविधि हेर्दा अध्यक्ष ओलीले नेता नेपालको साथ नचाहेको देखियो’, कार्यदलमा रहेका एक सदस्यले भने।

नेता नेपालले कार्यदलका सदस्यहरूले १० बुँदे सहमतिमा हस्ताक्षर गरेपछि पाँच दलीय गठबन्धनमा नरहने घोषणा गरेकै बेला ओलीले एमालेमा नेपालको कुनै पनि स्थान नभएको अभिव्यक्ति दिए। त्यसले सप्रिन लागेको वातावरण बिग्रियो। त्यसपछि नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य विजय पौडेललाई गठबन्धनको बैठकमा पठाएर गठबन्धनमा कायमै रहेको सन्देश दिएका छन्।

‘ओलीले निरन्तर बैठक राखेर नेपाललाई पेलेर अघि बढ्न चाहेका छन्। नेपालले पनि ओलीलाई देखाउन पाँच दलीय गठबन्धनमा रहेको सन्देश दिएका छन्’, कार्यदलमा रहेका ती सदस्यले भने। ती सदस्यका अनुसार दुवै नेताहरूले आफूहरू आ–आफ्नो अडानबाट टसमस नभएको सन्देश दिइरहेका छन्।

तर पनि कार्यदलमा रहेका १० सदस्यसहित पृथ्वी सुब्बा गुरुङ र योगेश भट्टराईले सहमति कायम गराउन शनिबार लामो छलफल गरे। उनीहरूले ओली र नेपाललाई अलगअलग भेटी पार्टी एकता कायम राख्न आग्रह गर्ने भएका छन्। त्यसैअनुसार कार्यदल सदस्यहरूले शनिबार साँझ ओलीलाई भेटिसकेका छन् भने आइतबार बिहान नेपाललाई भेट्दैछन्।

‘१० बुँदे सहमति कार्यान्वयन गर्दा एमालेको एकता जोगिन्छ भन्नेबारेमा हामीले छलफल गरेका छौं’, ओली पक्षका नेता नेम्वाङले भने। उनले सर्वोच्च अदालतको फैसलामा असहमति हुँदाहुँदै पनि मानेर जाने विषयमा विमति नरहेको बताए। नेपाल पक्षका नेता गोकर्ण बिष्टले भने पार्टीलाई एक बनाउन १० बुँदे सहमति कार्यान्वयनको विकल्प नभएको बताए। कार्यदलमा रहेका दुवै पक्षका नेताहरूले शनिबार सिंहदरबारमा छलफल गरिरहेका बेला कोटेश्वरस्थित नेपाल निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगेका थिए। दाहालले वर्तमान सरकारलाई जोगाएर अघि बढ्नुपर्ने विषयमा नेपालसँग कुरा गरेका थिए।

सर्वोच्च अदालतले संविधानको धारा ७६ ९५० अनुसार सरकार बनाउँदा सांसदलाई पार्टीका ह्विप नलाग्ने भनेको छ। यसै आदेशमा टेकेर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिनुपर्ने विषयमा नेपाल–दाहालबीच कुराकानी भएको स्रोतले बतायो। नेता नेपालले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने आश्वासन दिएको स्रोतको दाबी छ। ‘प्रतिनिधिसभा पुनस्र्थापना र ओलीको विकल्पमा सरकार बनाउन नेता नेपालको भूमिका रहेकाले देउवा सरकारलाई विश्वासको मत दिनु नैतिक दायित्व हो।

त्यसकारण पनि देउवाले विश्वासको मत पाउँछन्’, नेपालनिकट एक सांसदले भने। नेपाल पक्षका सांसद विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायतले सरकारलाई विश्वासको मत दिने बताउँदै आएका छन्। नेपाल पक्षका केही नेता पाँच दलीय गठबन्धन र दाहालसँगको भेटघाटबाट उनलाई टाढा राख्नुपर्ने बताउँछन्। नेपाल पाँच दलीय गठबन्धन र दाहालसँग निकट बन्दै गएपछि ओलीले एकलौटी रूपमा बैठकहरू डाकेर पेल्न थालेको बुझाइ नेपाल पक्षका नेताहरूको छ। ‘जब हामीले पार्टी मिलाउने कुरा गर्न सुरु गर्छौं तब दाहाल नेपाललाई भेट्न कोटेश्वर पुग्छन्। यसको पछाडि केही न केही कारण हुन सक्छ’, एमाले कार्यदलमा रहेका नेपाल निकट एक सदस्यले भने।

ती सदस्यका अनुसार दोस्रो पुस्ताका नेताहरू पार्टी मिलाउने पहलमा जुटिरहेका बेला कुनै न कुनै बहाना बनाएर दाहालले नेपाललाई भेट्ने गरेका छन्। ‘यसले पार्टी एकताको वातावरण बिग्रेको अवस्था छ’, विगत कोट्याउँदै कार्यदलमा रहेका ती सदस्यले भने। ती सदस्यका अनुसार ओली र नेपाल सहमतिभन्दा एकले अर्कोलाई गलाएर झुकाउने रणनीतिमा लागेका छन्। तर दुवै नेता नझुक्दा विवाद निरूपणभन्दा झन् जटिल बन्दै गएको दाबी ती सदस्यको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै