बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

३ लाख डोज खोपको तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन, कता हरायो ?

 ५ श्रावण २०७८, मंगलवार  

काठमाडौं ।  नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन। नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो। स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा समस्या भएको दाबी गरे पनि यति ठूलो मात्रामा खोपको हिसाबकिताब नहुँदा अनियमितताको आशंका उब्जेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन्। खोपको दुवै डोज लगाउनेको संख्या ४ लाख ६० हजार ७३४ छ। पहिलो र दुवै डोज लगाएकाको संख्या जोड्दा २२ लाख ८९ हजार २१८ डोज खोप प्रयोग भएको देखिन्छ।

भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको १ लाख डोजको हिसाब नगर्दा पनि नेपालले भारत सरकारबाट अनुदानमा १० लाख, सेरम इन्स्टिच्युटसँग खरिद गरेको १० लाख र कोभ्याक्सअन्तर्गत प्राप्त ३ लाख ४८ हजार गरी कुल २३ लाख ४८ हजार कोभिसिल्ड डोज खोप पाएको थियो। भायलका हिसाबले नेपालले कुल २ लाख ३४ हजार ८०० भायल खोप प्राप्त गरेको हो। नेपाली सेनाले प्रयोग गरेको १ लाख डोज खोपको तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन।

भारत सरकारद्वारा सेरम इन्स्टिच्युटद्वारा उत्पादित १० लाख डोज कोभिसिल्ड खोप गत माघमा प्राप्त भएपछि नेपालले खोप अभियान सुरु गरेको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार गत जनवरी २७ देखि फेब्रुअरी २२ सम्म ४ लाख ५८ हजार ९६२ डोज, मार्च ७ देखि २३ सम्म १३ लाख ६९ हजार ५२२ डोज गरी १८ लाख २८ हजार ४८४ डोज खोप लगाएको देखिन्छ। यसैगरी २० देखि २८ अप्रिल तथा २५ देखि ३० मेसम्म ४ लाख ६० हजार ७३४ जनालाई दोस्रो खोप डोज उपलब्ध गराएको देखिन्छ। यसरी पहिलो र दोस्रो डोजसहित नेपालमा कुल २२ लाख ८९ हजार २१८ डोज कोभिसिल्ड खोप लगाएको देखिन्छ।

कोभिसिल्डको एक भायल खोपमा ६.३ मिलिलिटर औषधि हुन्छ। खोपको एक डोजमा ०।५ मिलिलिटर दिइने भएकाले एक भायलबाट १० अथवा ११ डोज खोप लगाउन पुग्छ। नेपालले कुल २ लाख ३४ हजार ८ सय भायल खोप प्राप्त गरेको हिसाबले एक भायलबाट १० डोज खोप लगाउँदा २३ लाख ४८ हजार डोज र ११ डोज खोप लगाउँदा २५ लाख ८२ हजार ८ सय डोज खोप लगाउन पुग्छ। खोप केन्द्र्रअनुसार केही फरक भए पनि नेपालका अधिकांश खोप केन्द्रमा हरेक भायलबाट ११ जनालाई खोप लगाइएको छ। यसरी हिसाब गर्दा कुल २५ लाख ८२ हजार ८ सय डोज कोभिसिल्ड खोप नेपालमा उपलब्ध भएको देखिन्छ। तर स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार हालसम्म २२ लाख ८९ हजार २१८ डोज कोभिसिल्ड खोप लगाएको हिसाबले झन्डै ३ लाख डोज खोपको हिसाबकिताब देखिँदैन।

प्रतिभायल १० डोज खोप लगाइएको अवस्थामा पनि कुल ६४ हजार ६४६ डोज खोप प्रयोगको तथ्यांक देखिँदैन। विज्ञका अनुसार अन्य खोपको हकमा एक प्रतिशतको हाराहारीमा खोप खेर (वेस्टेज) जाने गर्छ। तर कोभिसिल्डको हकमा खोप खेर जाने प्रतिशत नगण्य छ। उत्पादन मितिदेखि ६ महिनाभित्रमा कोभिसिल्ड खोप प्रयोग गरिसक्नुपर्छ। नेपालले पछिल्लो खेपमा प्राप्त गरेको कोभिसिल्डको प्रयोग गर्ने मिति पनि गत साता कटिसकेको छ। आपूर्ति सुनिश्चित नभएपछि जेठको मध्यदेखि कोभिसिल्ड खोप औपचारिक रूपमा लगाउन बन्द गरिएको थियो।

सुरुमा अग्रपंक्तिमा खटेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, बैंकका कर्मचारी, विदेशी नियोगका कर्मचारी, पत्रकार, स्थानीय सरकारका निर्वाचित प्रतिनिधि तथा दोस्रो चरणमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई यो खोप उपलब्ध गराइएको थियो। सेरमसँग प्रतिडोज ४ अमेरिकी डलरमा नेपालले खोप खरिद गरेको हिसाबले लगभग ३ लाख डोजको सही हिसाबकिताब नहुँदा १३ करोड ८० लाख रूपैयाँ बराबरको आर्थिक अनियमितता भएको देखिन्छ। प्रतिभायल १० डोज खोपमात्र दिइएको मान्ने हो भने पनि झन्डै ३ करोड रूपैयाँ पर्ने खोपमा अनियमितता भएको देखिन्छ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतम खोपमा अनियमितता नभएको, डाटा इन्ट्रीमा समस्या देखिएको दाबी गर्छन। उनी प्रारम्भिक तथ्यांकका आधारमा खोप हराएको तथा अनियमितता भएको भन्न नमिल्ने तर्क गर्छन्। ‘स्थानीय तहबाट डाटा इन्ट्री गर्न हामीले निश्चित समय दिन्छौं तर जिल्लागत रूपमा डाटा इन्ट्रीमा समस्या देखिएका छन्।

त्यसैले तथ्यांक संकलनमा केही समस्या भएको हुन सक्छ’, उनी तर्क गर्छन्। देशका ५ हजार खोप केन्द्रबाट कोभिसिल्ड खोप लगाइएको थियो। डा। गौतमले दुर्गम जिल्लामा खोप लगाउने क्रममा भायल खोल्दा चाहिने संख्यामा मानिस नआएर खोप खेर गएको पनि बताए।

इमिडिमिओलोजी तथा सरुवा रोग महाशाखाका पूर्वप्रमुख डा। बाबुराम मरासिनी खोप लगाएको सही रेकर्ड नहुँदा अनियमितता भएको हुन सक्ने बताउँछन्। उनी स्वास्थ्यकर्मीले लक्षित समूहभन्दा बाहिरका नातागोतालाई खोप दिएको हुन सक्ने र शक्तिका आडमा स्थानीय राजनीतिक नेतृत्वले आफ्ना मान्छेलाई खोप लगाउँदा रेकर्ड नराखिएको हुन सक्ने उनको अनुमान छ।

‘खोप खरिदमा मात्र होइन, खोप लगाउँदा पनि सुशासनको अभाव देखिएको छ,’ उनी भन्छन्। आगामी दिनमा राज्यले खरिद गरेको हरेक डोज खोपको उपयोगमा पारदर्शिता हुनुपर्ने र समयमै तथ्यांक संकलन गर्ने चुस्त प्रणाली बनाउन उनको सुझाव छ। ‘खोप प्रयोग गर्ने क्रममा खेर गएको हो भने त्यसको प्रतिशत प्रस्ट हुनुपर्छ, उनी भन्छन्।नेपालमा गत माघदेखि खोप अभियान सुरु भए पनि हालसम्म ४ प्रतिशत जनसंख्याले मात्र खोपका दुवै डोज लगाएका छन्। अमेरिकाको जोन्सन एन्ड जोन्सन तथा चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित खोपमार्फत हाल नेपालको खोप अभियान अगाडि बढाइएको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै