बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

अक्टोबर क्रान्तिका यी हुन् ११ विशेषता

 १० श्रावण २०७८, आईतवार  

अक्टोबर क्रान्तिले सय वर्ष पूरा गरेको छ। यस क्रान्तिबाट स्थापित मजदुर सत्ता र विश्व शक्तिको रूपमा रहेको सोभियत संघ, सात दशक लामो साम्राज्यवादी घेराबन्दी तथा षड्यन्त्रको लामो श्रृंखला, कम्युनिस्ट पार्टीका गल्ती कमी-कमजोरी तथा अस्सीका दशकको अन्ततिर सुरु भएको प्रतिक्रान्तिकारी प्रक्रियाको दौरान गोर्भाचोव-एनाएभ-सेर्भेर्दनाद्जे मण्डलीको अदूरदर्शिता र यल्तसिन आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिक्रान्तिकारी शक्तिहरूको खुल्ला आक्रमणको कारण ७२ वर्षपछि सन् १९९० मा ढलेको छ र त्यहाँ प्रतिक्रान्ति सम्पन्न भएको छ। यो आफैमा सामाजिक इतिहासमा भएको एउटा अभूतपूर्व दुर्घटना हो, जसले विश्व परिस्थितिमा नयाँ अवस्था सृजना गरेको छ। अक्टोबर क्रान्तिको शतवार्षिकीको यस अवसरमा यस घटना विकासको विविध पक्षमा सामान्यरूपमा भए पनि दृष्टिपात गर्नु सान्दर्भिक हुने छ। यो रचना क्रान्तिको शतवार्षिकीको उपलक्षमा अक्टोबर क्रान्तिलाई समर्पित गरिएको हुँदा पनि अक्टोबर क्रान्ति र सोभियत संघका प्रमुख पक्ष र विशेषताहरूबारे अलि विस्तारमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

अक्टोबर क्रान्तिका इतिहासको पुनप्रस्तुति वा व्याख्या यस लेखनकाको उद्देश्य होइन। त्यो सर्वत्र उपलब्ध छ। हाम्रा आफ्ना क्रान्तिकारी गतिविधि निर्धारण गर्दा यसका केही सार्वभौम पक्षहरू सहयोगी सिद्ध हुने छन् भन्ने उद्देश्यले यहाँ केही सैद्धान्तिक, कार्यनीतिक, रणनीतिक र राजनैतिक पक्ष उजागर गर्ने उद्देश्यले केही प्रमुख बुँदाहरू प्रस्तुत गर्न खोजिएको मात्र हो। यसको छोटकरी परिचय यस कारण पनि प्रस्तुत गर्न खोजिएको हो कि त्यस क्रान्तिको जगमा नै विश्वको पहिलो समाजवादी सर्वहारा सत्ता अस्तित्वमा आएको थियो। जसले मार्क्सका सैद्धान्तिक अवधारणाहरूलाई व्यवहारिक रूप दिएर मानव समाजलाई नयाँ युगमा प्रवेश गराउनुका साथै क्रान्तिको सफलतापछिका कार्यभार, समाजवादी संरचनाको निर्माण, त्यसको नियमन, संरक्षण, विकास र समाजवादी व्यवस्थामा मानवीय मूल्यमान्यताको प्रश्न, सामाजिक सम्बन्धहरूको पुनर्व्याख्या, समाजवादी आर्थिक विकासका विविध पक्ष र तिनका अन्तरसम्बन्ध र विकास तथा विगत भन्दा भित्र त्यस नयाँ परिवेशमा हुने मानवीय सचेतनाको विकास, त्यसको चरित्र तथा नयाँ सामाजिक-आर्थिक संरचनामा अस्तित्वमा आउने सामाजिक अन्तरसम्बन्ध र अन्तरद्वन्द्व आदि यावत पक्षलाई व्यवहारमा हेर्ने र बुझ्ने आधार प्रस्तुत गर्दछ। बहत्तर वर्षको संघर्षपूर्ण उतारचढावको जीवनपछि त्यसको दुःखद अवसान भएपनि यसका अनुभव, त्यसबाट प्राप्त भएको क्रान्तिकारी शिक्षा र समाजवादको निर्माणमा नेतृत्वको चरित्र, चिन्तन र व्यवहारका पक्षहरूको महत्त्व बारे सिक्नु पर्ने पाठहरूको ऐतिहासिक महत्त्व छ।

समाजवादी विचारधारा, कम्युनिस्ट आन्दोलन तथा मजदुर आन्दोलनले धक्का खाएको वर्तमान अवस्थाबाट अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा मजदुर आन्दोलनलाई बाहिर निकाली नयाँ उँचाइतिर अगाडि बढाउन मार्क्सवादीहरूले विद्यमान वैश्विक आर्थिक सामाजिक अवस्थाको समष्टिगत अध्ययन विश्लेषणकासाथै रुसमा भएको युग परिर्वतनकारी अक्टोबर क्रान्ति तथा समाजवादी परिपाटीको सफलता, असफलता, विकृति आदिको वस्तुगत विश्लेषण गर्न त्यस क्रान्तिको विकास क्रम, त्यसको जीवनकालको ऐतिहासिक कालखण्डमा त्यसले प्राप्त गरेका सफलता, विश्वका लागि, विशेष गरेर श्रमिक वर्गको हित संरक्षणका लागि र फासिज्मको प्रकोपबाट विश्वलाई जोगाउन गरेको बलिदान, मानव भविष्यका लागि आणविक हतियारको नियन्त्रण तथा प्रसारण रोक्न र विश्वशान्ति तथा सहअस्तित्वको लागि गरेका प्रयास, वैज्ञानिक प्रगति आदि क्षेत्रहरूमा प्राप्त सफलता तथा साम्राज्यवादको दमनकारी छाडा प्रवृत्तिमा अंकुश लगाउन पुर्‍याएको योगदान, त्यस क्रान्तिले र सोभियत सत्ताले आफ्नो जीवनकालमा भोग्नु परेका कठिनाइ र प्रतिरोधकासाथै त्यस दौरान भएका सैद्धान्तिक र व्यक्तिगत कमी कमजोरी आदिको पूर्वाग्रह रहित विश्लेषण आवश्यक छ। यसबाट नै समाजवादलाई सही परिपेक्षमा बुझ्न र कम्युनिस्ट आन्दोलनको अगाडिको मार्गचित्र कोर्न मदत पुग्ने छ।

अक्टोबर क्रान्ति समाजवाद विरोधीहरूले भन्ने गरे जस्तो कुनै ऐतिहासिक आकश्मिकता वा भूलवश घटेको घटना नभै सामन्ती कृषि व्यवस्थाविरुद्ध दीर्घकालीन किसान आन्दोलन, निरंकुश जारशाहीविरुद्ध किसान, मजदुर, शहरिया मध्यम वर्ग, उदीयमान पूँजीपती वर्ग लगायत समाजका सबै फाँटमा जारशाहीविरुद्ध बढ्दै गएको जनआक्रोश तथा राजनैतिक संघर्ष, विश्वयुद्धमा बेहोर्नु परेको क्षति, सन् १९०५ को असफल जनक्रान्तिको अनुभव तथा सन् १९१७ अक्टोबरको पूँजीवादि क्रान्तिले रुसी समाजलाई पूँजीवादबाट समाजवादमा संक्रमणको लागि उपस्थित गरेको अनिवार्य ऐतिहासिक आवश्यकताको तार्किक परिणाम थियो।

रुस मध्यम स्तरको पँजूीवादी देश भएपनि यसको चरित्र साम्राज्यवादी नै थियो। पोलैण्ड, टर्की, फिनलैण्ड, मध्य ऐसियका अनेक देश, प्रीबाल्टिक, मंगोलिया आदि देशहरू यस साम्राज्यका उपनिवेश थिए। एकतर्फ तीव्र गतिमा विकसित भइरहेको पूँजीवाद र औद्योगीकरणको अवस्था, अर्कोतर्फ निरंकुश जारशाही अन्तरगत भूदाशताका अवशेष सहित बर्बर सामन्ती कृषि व्यवस्थाविरुद्ध तीव्रतर हुँदै गएको अन्तरद्वन्द्व, अर्कोतर्फ मजदुर, किसान, बुद्धिजीवी, विद्यार्थी, मध्यमवर्गबीच बढ्दो मार्क्सवादको प्रचार आदिले बिसौं शताब्दीको सुरुदेखि नै रुसमा बर्बर जारशाहीविरुद्ध क्रान्तिका बस्तुगत तथा मनोगत आधार विकसित हुँदै आएको अवस्था थियो। तत्कालीन रुसको सामाजिक-आर्थिक संरचना बहुआयामिक र जटिल संरचना थियो। सोहीअनुसार राजनैतिक र वैचारिक विचारधारा तथा सामाजिक मनोविज्ञानको अवस्था र सामाजिक अन्तरद्वन्द्वको अवस्था पनि थियो। यसले वैचारिक र राजनैतिकरूपमा क्रान्तिकारी शक्तिहरूबीच समन्वय तथा सांगठनिक निकटता कायम गर्नु आफैमा चुनौतीपूर्ण काम थियो।

सारांशमा भन्नु पर्दा क्रान्तिकारी अवस्था यसरी निर्माण भएको थियो- सन् १९०५को जनक्रान्तिको दमनपछि जून १९०७ मा षड्यन्त्र पूर्वक दोस्रो डुमा विघटन गरेर पाशविक बर्बरता र दमनचक्रको ‘कालो युग’ सुरु गरियो। हजारौं मारिए, हजारौंलाई कालकोठरीमा थुनियो, हजारौंलाई निर्वासित गरियो। किसानहरूले कब्जा गरेका जमिन खोसिए। चौतर्फीरूपमा पाशविक दमनचक्र सुरु गरियो। डूमाका बोल्सेकि सदस्य कुनै जेल परे कुनै निर्वासनमा परे। क्रान्तिकारी मजदुरहरूको निर्मम दमन गरियो। दमनको यस कालरात्रिमा मानिसका आस्था फेरिए, क्रान्तिकारी लामबाट बुद्धिजीवी, धनी किसान, शहरिया मध्यमवर्ग, लेखक समालोचक जस्ता क्रान्तिकारी तपका पछि हटे। एक किसिमको विचार सून्यताको अवस्था सृजना भयो। तेस्रो डुमामाथी प्रतिक्रियावादीहरूले कब्जा जमायो र यसले जनविरोधी र किसान विरोधी अनेकौं कानून पारित गरी दमनचक्रलाई अरू चर्कायो। थोरै संख्यामा डूमामा निर्वाचित वोल्सेविकहरूले दृढता साथ प्रतिक्रियावादी सरकारको भण्डाफोड गरेपछि तिनलाई साइवेरियामा निष्कासन गरियो। क्रान्ति पछाडि धकेलियो। सन् १९१० पछि विस्तार विस्तारै आर्थिक माग लिएर कलकारखानाका मजदुर तथा ग्रामीण क्षेत्रमा सामन्ती भूमिव्यवस्थाविरुद्ध गरिब किसान र कृषि मजदुर कुलक र बिर्तावाल सामन्तहरूविरुद्ध प्रतिरोध आन्दोलनमा ओर्लिन थाले। बुद्धिजीवीहरू, शहरिया मध्यमवर्ग तथा बौद्धिक जमात पुनः क्रान्तिकारी लाममा सरिक हुँदै गए। वोल्सेविक पार्टीले जनताबीच कामलाई पुनः तीव्रता साथ अघि बढायो। सन् १९१२ मा ‘प्राव्दा’ पत्रिकाको प्रकाशनपछि वैचारिक र राजनैतक प्रचारसँगै क्रान्तिकारी उभार नयाँ चरणमा प्रवेश गर्‍यो।

सन् १९१५ मा देशव्यापी रूपमा श्रृंखला बद्ध भएका मजदुर वर्गका आर्थिक आन्दोलन क्रमिक रूपले राजनैतिक आन्दोलनमा परिणत हुँदै गए। आन्दोलनको दौरान आन्दोलनको सञ्चालनका लागि स्वःस्फूर्त रूपमा पुनः मजदुर, किसान तथा सेनाका सोभियतहरू गठन गरिए र तिनको नेतृत्वमा मजदुर किसान विद्रोहमा ओर्लिए। ठाउँ ठाउँमा हडताली मजदुर र किसानहरूको निर्मम दमन गरे पनि आन्दोलन थमिएन र फरवरी क्रान्तिको आधार निर्माण हुँदै गयो। सन् १९१६ को शरद ऋतुमा आन्दोलनको तीव्रतासँगै राजनैतिक अवस्था झन् तनावपूर्ण हुन पुग्यो। देशभरि क्रान्तिकारी अवस्था निर्माण हुँदै गयो। सन् १९१७ को सुरुवातसँगै आन्दोलनमा अभूतपूर्व उभार देखा पर्‍यो। ठाउँ ठाउँमा मजदुरहरूले सशस्त्र विद्रोह गरे। युद्ध क्षेत्रको अवस्था र पराजयले सेनाभित्र सरकारप्रतिको आक्रोश आफ्नो उच्चतम विन्दुमा थियो। बोल्सेभिकहरूले उठाएको युद्ध विरोधी र जारशाही विरोधी नाराले जनताको अभूतपूर्व समर्थ पाउँदै थियो।

१८ फेब्रवरी सन् १९१७ मा पेट्रोग्राडका पुलितोभ कारखानाका मजदुर, जसलाई सन् १९०५ मा जारशाहीले भुटेको थियो, आन्दोलनमा ओर्लिए। पेट्रोग्राडमा तैनात सेनाका बटालियनहरू मजदूहरूसँग आन्दोलनमा लामबद्ध भएपछि विद्रोह नियन्त्रणभन्दा बाहिर गएको र कुनै पनि बेला मजदुरहरूले सत्ता कब्जा गर्नसक्ने अवस्था सृजना भएपछि आत्तिएका ‘क्रान्तिकारी समाजवादी,’ ‘मेनसेविक’ र ‘क्याडेट’ जस्ता पार्टीहरू र तिनका डूमा सदस्यहरू राजालाई हटाएर सत्ता आफ्नो हातमा लिएर आन्दोलनलाई मन्थर गर्ने र आफ्नो सत्ता जोगाउन चाहन्थे। तर, डूमामा रहेका बुर्जुवा तथा सामन्ती कुलीन ‘डुमा’ सदस्यहरू राजालाई हटाउन तयार थिएनन्। त्यस अवस्थामा डूमामा रहेका ‘क्रान्तिकारी समाजवादी,’ ‘मेनसेविक’ र ‘क्याडेट’ पार्टीका केही सदस्यहरूले आफ्नो समर्थनमा रहेको मजदुर सोभियत केन्द्रीय निकायको समर्थनमा २७ फेब्रवरीका दिन एउटा समिति गठन गरी सत्ता आफ्नो हातमा लिएको घोषण गरे। यस सत्तामा मेन्सेभिक र क्रान्तिकारी समाजवादीको नियन्त्रण थियो। त्यस समितिले मार्च २ सन् १९१७ मा जारलाई ‘राज्यसत्ता छोडेको र आफ्ना भाइ मिखाइललाई उत्तराधिकारी नियुक्त गरी प्रिन्स लुभोफको नेतृत्वमा अस्थायी सरकार गठन गरेको’ घोषणा गर्न बाध्य गरायो। र, यिनकै प्रभावमा रहेको पेत्रोग्राड सोभियतको समर्थनमा २ मार्च सन् १९१७ का दिन क्रान्तिकारी समाजवादी र मेन्सेविकसहितको संयुक्त अस्थायी सरकार गठन गरियो।

तर, यस कदमप्रति केन्द्रीय समितिको समर्थनका बाबजुद आम मजदुरहरूको समर्थन थिएन। आम मजदुर तथा किसान क्रान्तिकारीहरू राजतन्त्रको समाप्ति चाहन्थे। बाध्य भएर ३ मार्चका दिन राजन मिखाइलोभले पनि राजगद्दी परित्याग गरेको घोषण गर्‍यो र क्रान्तिकारी समाजवादी, मेन्सेविक तथा क्याडेहरूको गद्दारीले गर्दा प्रिन्स लूभोभलाई नै मन्त्रिमण्डलको अध्यक्ष नियुक्त गरी केरेन्सकीलाई उपाध्यक्ष बनाए र क्याडेटहरूको बाहुल्यता भएको अस्थायी बुर्जुवा सरकार गठन गरियो। क्रान्तिकारी समाजवादी तथा मेन्सेविक पार्टीहरूको सम्झौता परस्त तथा ‘अहिले समाजवादी क्रान्ति गर्नु हुँदैन’ भन्ने नीतिले गर्दा पेत्रोग्रादमा राज्यसत्ता बुर्जुवाहरूको हातमा त पुग्यो तर, देशभरि स्थापित सशक्त मजदुर, किसान र सैनिक सोभियतहरूको शक्ति र प्रभावले गर्दा देशको सम्पूर्ण सत्ताको नियन्त्रण एकलौटी रूपमा बुर्जुवा सरकारले आफ्नो हातमा लिन सकेनन्। व्यवहारिक रूपमा पेत्रोग्रादमा अस्थायी क्रान्तिकारी सरकार गठन गरिए पनि देशभरि नै जनसत्ता सशस्त्र सोभियतहरूको हातमा नै थियो, जसको समर्थन विना अस्थायी सरकार नत टिक्न सक्ने अवस्थामा थियो न स्वतन्त्ररूपमा काम गर्नसक्ने अवस्था नै थियो। यसलाई लेनिनले माथिल्लो सत्ता बुर्जुवाहरूको डिक्टेटरसिप र देशभरि सोभियत सत्ता, जसको साथमा जनसमर्थन, हतियार र शक्ति थियो, त्यसलाई, ‘डेमोक्राटिक डिक्टेटरसिप अफ द प्रलिटारिएट एण्ड पीजेन्टस्’ स्थापित भएको भन्नुभयो। यस प्रकार व्यवहारिक रूपमा देशमा द्वैतसत्ता- एकतर्फ केन्द्रमा पूँजीपतिको अस्थायी सरकारको सत्ता र अर्कोतर्फ कलकारखानाहरूमा मजदुर वर्गका सोभियत, ग्रामीण क्षेत्रमा किसानहरूका सोभियतहरूको जनसत्ता कायम हुन पुग्यो । यस परिवर्तनको फलस्वरूप बोल्सेविक पार्टी खुला भयो र समाजवादी क्रान्तिको तयारीमा जुट्यो । लेनिनले यस अवस्थालाई ‘सामान्य पूँजीवादी प्रजातान्त्रिक क्रान्तिको सीमाभन्दा माथि उठिसकेको तर सर्वहारा वर्ग र किसान वर्गको विशुद्धरूपको अधिनायकत्व स्थापित भइनसकेको अवस्था’ भन्दै यसका लागि अर्को चरणको क्रान्ति सम्पन्न गर्नुपर्ने र त्यसका लागि सर्वहारा वर्गको आन्दोलनलाई अरू उँचामा लैजानु पर्ने निर्क्यौल गर्दै समाजवादी क्रान्तितिर अगाडि बढ्न आह्वान गरे।

क्रान्तिकारी अवस्था एक दिनमा परिपक्व हुँदैन र नत त्यो कसैले चाहँदैमा र खोजेको समयमा नै परिपक्व हुन्छ। तर, क्रान्तिकारी अवस्थाको निर्माण गर्न क्रान्तिकारी शक्तिहरूबीच समन्वय कायम गरी त्यसलाई सुनिश्चित दिशा दिन र क्रान्तिकारी उभारको निर्माण गर्नमा क्रान्तिकारीहरूका सचेत क्रियाकलाप र सहभागिताको अहम् भूमिका अवश्य रहन्छ। रुसमा क्रान्तिको बस्तुगत अवस्थाको निर्माण उपरोक्त घटनाक्रमहरूका विकासले गरेको थियो भने मनोगत अवस्थाको निर्माण बोल्सेभिक पार्टीको संगठनात्मक र वैचारिक आधार, मजदुर, किसान आदि क्रान्तिकारी वर्गहरूबीच जीवन्त एकता, समन्वयात्मक रूपमा तिनको परिचालन, क्रान्तिकारी अवस्थाको पहिचान र क्रान्तिकारी नेतृत्वको उद्देश्यमूलक सचेत र ठिक समयमा क्रान्तिकारी निर्णय लिनसक्ने क्षमताले निर्माण गरेको थियो। भनिन्छ क्रान्ति सम्पन्न गर्नु आफैमा एउटा कला हो। यस पक्षबाट हेर्ने हो भने अक्टोबर क्रान्तिको परिघटना क्रान्तिको सफलताका लागि बस्तुगत अवस्थाको पहिचान, मनोगत अवस्थाको निर्माण, क्रान्तिकारी शक्तिहरूबीच समन्वय र सामञ्जस्य, ठिक समयमा दृढ र साहसिक निर्णय गरी क्रान्ति सम्पन्न गर्ने कलाकारिताको जीवन्त र विशिष्ट नमुना थियो।

फरवरी क्रान्तिपछि वर्गसंघर्ष नयाँ चरणमा प्रवेश गर्‍यो। अबको संघर्ष मुख्यरूपमा बुर्जुवाहरूको हातबाट राज्यसत्ता खोसी मजदुर किसानहरूको राज्यसत्ता कायम गर्न राजनैतिक संघर्षमा केन्द्रित हुन पुग्यो। यस संघर्षमा फेब्रवरी क्रान्तिमा साथमा रहेका पूँजीवादी प्रजातन्त्रवादी शक्ति तथा मेनसेविक र क्रान्तिकारी समाजवादी पार्टीहरू पूँजीवादी क्रान्तिको संरक्षण र संवर्द्धनका लागि क्रान्तिको विरुद्ध उभिए। समाजवादी क्रान्तिको विकासको दौरान आ-आफ्नो वर्गीय स्वार्थ तथा वैचारिक दृष्टिकोणअनुसार क्रान्तिका सहयोगी छुट्टिँदै जान्छन् र सबै सहयोगी समाजवादी क्रान्तिको चरणसम्म पुग्दैन भन्ने कुराको यो जीवन्त प्रमाण हो र यस पक्षमा हाम्रो जस्तो अवस्थामा विशेषरूपले ध्यान दिनुपर्ने कुरा हो।

सोभियतहरूको सहयोग र समर्थनबिना अस्थायी सरकार टिक्न सक्ने अवस्था थिएन। जन सोभियतहरूले जन मिलिसिया र सैन्य सोभियतहरूको समर्थनमा सरकारी तथा उच्च सैन्य अधिकारीहरूका आज्ञप्ति र आदेशहरूलाई उल्ट्याउँदै आफ्नै बलमा राजनैतिक स्वतन्त्रता, सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा आधारभूत सुधारका साथै निरंकुश जारशाहीद्वारा तहसनहस गरिएका प्रजातान्त्रिक संघसंस्था र संगठनहरू, ट्रेडयूनियन र कलकारखानाहरूका इकाईहरूको पुनर्गठन गरे। कलकारखानाहरूमा आठ घण्टाको काम सुनिश्चित गर्नुकासाथै कारखानाहरूमा उत्पादन प्रक्रियालाई सुचारु गर्ने, खोसिएका जमिन किसानलाई फिर्ता गर्ने र आफ्नै सैन्यदल निर्माण गर्ने काम गरे। मजदुर, किसान तथा सैन्य सोभियतहरूले अखिलरूस सोभियत सम्मेलन गरी आफ्ना केन्द्रीय निकायहरूको निर्माण गर्नुकासाथै सबैलाई एउटै छातामुनि संगठित गर्न सफल भए। यो आफैमा देशभरि नै स्थापना भएको मजदुर-किसान वर्गको क्रान्तिकारी प्रजातान्त्रिक सत्ता (डेमोक्राटिक डिक्टेटरसिप अफ द प्रलिटारिएट एण्ड पीजेन्टस्) को अवस्था थियो। अब क्रान्तिलाई नयाँ ऊर्जा दिनु प्रमुख काम थियो। यसका लागि सोभियतहरूको केन्द्रीय कार्यसमितिलाई मेनसेविक र क्रान्तिकारी समाजवादी जस्ता अवसरवादी पार्टीहरूको प्रभावबाट मुक्त गरी तिनलाई क्रान्तिकारी लाममा आबद्ध गर्नु आवश्यक थियो।

फरवरी क्रान्ति र अक्टोबर क्रान्तिबीचको छोटो कालखण्ड यस संघर्षको ज्यादै जटिल र उतार चढावकाबीच अत्यन्त तीव्र गतिमा क्रान्तिकारी घटनाक्रम अगाडि बढेको कालखण्ड रहेको हो। यस छोटो कालखण्डमा छिनछिनमा आन्दोलनका रूप र नारा फेरिएका छन्। यसै क्रममा आफ्ना समर्थक सोभियतहरूको केन्द्रीय कार्यसमितिको बलमा टिकेको अस्थायी सरकार किसान विरोधी घोषणा तथा क्रियाकलाप, मजदुर आन्दोलनको दमन, युद्धमा एकपछि अर्को पराजयकाको कारण सैनिकहरूमा बढ्दो असन्तोष आदि कारणले जन समर्थन गुमाउँदै गयो र अस्थायी सरकार र जनताबीचको खाडल बढ्दै गयो। त्यसवेला लेनिन निर्वासनमा थिए। आन्दोलनबारे छलफल गर्न त्यहाँ पुगेका क्रान्तिकारीहरूसँग छलफलपछि लेनिनले आफ्नो प्रसिद्ध ‘अप्रिल थेसिस’ लेख्नु भयो। जसमा भनियो- ‘अहिले देश क्रान्तिको प्रथम चरणबाट गुज्रिँदै छ। सर्वहारा वर्गका चेतनाको कमी र संगठनात्मक कमजोरीले गर्दा सत्ता पूँजीपति वर्गको हातमा गएको छ। क्रान्तिको दोस्रो चरणले सत्ता सर्वहारा वर्ग र गरिब किसानको हातमा दिने छ’। ‘अबको काम पूँजीवादी संसदीय गणतन्त्र होइन, श्रमजीवी वर्गका सोभियतहरू खडा भैसको वर्तमान अवस्थामा त्यसो गर्नु पछाडि फर्किनु हुने छ, वल्कि माथिदेखि तलसम्म सर्वहारा वर्ग, कृषि मजदुर र किसानका प्रतिनिधिहरूको सोभियत गणतन्त्रात्मक व्यवस्थाको स्थापना गर्नु हो’। (संकलित रचना ठेली २४)

यसका साथै लेनिनले ‘सोभियतहरूलाई सत्ता, किसानहरूलाई जमिन र सिपाहीलाई शान्ति’को नारासहित क्रान्तिको नेतृत्व बोल्सेभिकको हातमा लिए। यो नारा आमजनताको नारा बन्न पुग्यो। मेन्सेभिक र क्रान्तिकारी समाजवादी पार्टी र तिनको सरकार सोभियतहरूलाई सत्ता हस्तान्तरणको विरोधमा उभिए। १८ जून सन् १९१७ मा पेट्रोग्राडमा भएको सरकार विरोधी विशाल प्रदर्शनले आन्दोलनलाई नयाँ मोड दियो। त्यहाँ कुनै पनि सैन्य रेजीमेन्ट वा कुनै पनि कारखानाका मजदुर संगठन सरकारको पक्षमा देखिएनन्। आन्दोलनले नयाँ मोड लियो। क्याडेट पार्टीले क्रान्तिकारी रेडगार्डलाई निःशस्त्र गर्न, क्रान्तिकारी सैनिक बटालियनलाई राजधानीबाट बाहिर पठाउन र बोलसेभिक पार्टीमाथि प्रतिबन्ध लगाउन सरकारमाथि दबाब दिने उद्देश्यले सरकार छोडे। क्रान्तिकारीहरूले सरकार एक्लिएको यस अवस्थाको उपयोग गर्दै जुलाइ ३ मा पेट्रोग्राडमा स्वःस्फूर्तरूपमा विशाल जनप्रदर्शन गरे। बोल्सेभिकहरूले अवस्था परिपक्व भैसकेको छैन भन्दै शक्तिको प्रदर्शनबाट पछि हट्न आग्रह गरे। तर, जनविद्रोह रोकिएन। अस्थायी सरकारले सशस्त्र विद्रोहको खतरा देखेर यसको दमन गर्ने र यसकासाथै द्वैत शासन समाप्त गर्ने उद्देश्यले युद्ध क्षेत्रबाट बोलाइएको नयाँ सैन्य टकडीद्वारा आन्दोनमाथि निर्मम प्रहार गर्‍यो। आम नरसंहारपछि आन्दोलन दबाइयो। मजदुर तथा क्रान्तिकारी सैन्यबललाई निःशस्त्र गरियो। अप्रिलदेखि जुलाईसम्म भएका तीन वटा जनविद्रोहको दमन गरेको भएपनि द्वैतशासन समाप्त गर्न पटक-पटक असफल भएको अस्थायी सरकार र प्रतिक्रियावादी शक्तिहरू यस पटक प्रतिक्रान्ति गर्न सफल भए र द्वैतसत्ता समाप्त गरी एकलौटी पूँजीवादी सत्ता कायम गरियो। द्वैतशासनको अन्त गरी एकछत्र बुर्जुवा सैन्यवादी अधिनायकवाद स्थापन गरियो। मेन्सेविकहरूको प्रभावमा रहेको सोभियतहरूको केन्द्रीय कार्य समितिले यसको स्वागत गरे। यस घटनापछि शान्तिपूर्ण आन्दोलनबाट समाजवादमा संक्रमणको अवस्था समाप्त भयो। बोल्सेभिक पार्टी पुनः भूमिगत भयो र लेनिन फिनल्याण्ड हुँदै जर्मन पुगे। शान्तिपूर्ण सत्ता हस्तान्तरका सम्भावना रहेनन्। शोभितहरूको केन्द्रीय कार्यसमिति प्रतिक्रान्तिको समर्थनमा गएकोले लेनिनले केही समयका लागि ‘सत्ता सोभियतलाई’को नारा स्थगित गरे।

दमनबाट क्रान्तिकारी उभार केही समयका लागि पछि धकेलिन सक्छ। तर, साधैका लागि समाप्त हुँदैन। त्यसमा पनि रुसको अवस्था भित्र थियो। जुलाइको घटनापछि बोल्सेविकको समर्थनमा जनसमर्थनको बाढी जस्तै आयो। मेन्सेविकहरूको प्रभावमा रहेका सोभियतहरू बोल्सेभिकको पक्षमा आए। लेनिनले नारा दिए ‘अबको लागि सोभियतहरूले सत्ता प्राप्त गर्न एक मात्र बाटो सशस्त्र विद्रोह हो। सशस्त्र विद्रोहको बाटो परित्याग गर्नु ‘सत्ता सोभियतलाई’ भन्ने नाराको परित्याग हुने छ। तर, अब यस नाराको अर्थ बदलिएको छ। जुलाईको घटनापूर्वक यसको अर्थ थियो शान्तिपूर्ण तरीकाबाट सोभियतहरूलाई सत्ता हस्तान्तरण गर्नु, तर, अव यसको अर्थ हो सैन्य विद्रोह गरी सत्ता खोस्नु। (संकलित चरना ठेली २६)।

अक्टोवर १६, सन् १९१७ मा बसेको वोल्सेभिक पार्टीका केन्द्रीय समितिको बैठकले जिनोएभ र कामित्रेभको विरोधका बाबजुद सशस्त्र विद्रोहको निर्णय गर्‍यो र त्यसको परिचालनका लागि ठोस जिम्मेवारीसहित विभिन्न समितिहरू निर्माण गरिए। सन् १९१७, २५ अक्टोबरमा मजदुरका सैन्यदस्ता तथा सेनाका विद्रोही टुकडीहरूले सहरका मुख्य भाग तथा रेलबै, पुल, कार्यालयहरूमा नियन्त्रण गरे, टेलिफोन लाइन काटिए। सोही राती पूर्वनिर्णय अनुसार जलपोत अरोराले सीत प्रसाद कब्जागर्ने संकेतमा गोला दाग्यो र क्रान्तिकारीहरू शीत प्रसादमा प्रवेश गरी कुनै खूनखराव विना सत्ता आफ्नो हातमा लिए। बिहानी पखसम्म मन्त्रिमण्डलका सम्पूर्ण सदस्यहरूको गिरफ्तारी सहित सत्ता कब्जा गरियो। लेनिनले ‘बोल्सेभिकहरूले भन्ने गरेको मजदुर किसान क्रान्ति सम्मपन्न भएको’ घोषणा गरे र ‘सत्ता सोभियतहरूलाई, जमिन किसानहरूलाई र सैनिकहरूलाई शान्ति’को वोल्सेभिक नारा कार्यान्वयनको घोषणा गरे। यसका साथै देशमा मजदुर-किसानको राज्यसत्ता कायम गरियो।

अक्टोबर क्रान्तिका विशेषताहरू

१. सर्वहारा वर्गको बलियो संगठित शक्ति तथा आन्दोलनको लामो इतिहास भएका यूरोपेली देशहरूभन्दा कम विकसित तथा सर्वहारा आन्दोलनको लामो इतिहास नभएको देशमा यो क्रान्ति सम्मपन्न भयो। फरवरी क्रान्ति भन्दा पहिले रुसमा जनआन्दोलन एकतर्फ शहरहरूमा निरंकु जारशाही विरोधी शहरिया नवोदित पूँजीपति वर्ग, मजदुर वर्ग, तथा मध्यम वर्गीय बौद्धिक जमातको राजनैतिक आन्दोलन थियो भने अर्कोतर्फ ग्रामीण क्षेत्रमा कुलकहरू र सामन्ती अभिजात वर्गीय भूमिपतिहरूको शोषणविरुद्ध आम किसान र दाशतामा बाचिरहेका भूदाश तथा करिया र बँधुवा किसानहरूको विद्रोहको रूपमा थियो। लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टीले अपनाएको सफल रणनीति तथा कार्यनीतिको कारण मजदुर आन्दोलनले वैचारिक र राजनैतिक हतियार प्राप्त गरेपछि बिस्तारै यस वर्गले आन्दोलनको नेतृत्व आफ्नो हातमा लिँदै यसलाई किसान-मजदुरको संयुक्त आन्दोलनमा परिणीत गर्न सफलता प्राप्त गर्‍यो। परिवर्तनकारी सैन्य बल पनि यस आन्दोलनसँग जोडिएपछि पहिलो चरणमा पूँजिपति वर्ग तथा तिनका पार्टीहरूलाई साथमा लिई निरंकुश जारतन्त्र समाप्त गरी पूँजीवादी क्रान्ति सम्पन्न गर्ने रणनीति लियो। पूँजीपति वर्गले पनि आफ्नो स्वार्थ अनुसार क्रान्तिकारीहरूको साथ दिए र किसान, मजदुर तथा सैन्य सोभियतहरूको संयुक्त शक्तिबाट निरंकुश सामन्ती साम्राज्यवादी जारशाहीको अन्त गरी पूँजीवादी क्रान्ति सम्पन्न गरियो। पूँजीवादी क्रान्तिको सम्पन्नतासँगै मजदुर वर्गको बढ्दो शक्तिदेखि तर्सिएको, पूँजीपति वर्ग तथा पूँजीवादी राज्यसत्ता अन्य प्रतिक्रियावादी शक्तिहरूसँग मिली मजदुर आन्दोलनको विरुद्ध ओर्लिएपछि बोल्सेभिक पार्टीले समाजवादी क्रान्ति सम्पन्न गर्ने नयाँ रणनीति लिइयो र पूँजीवादी क्रान्ति सम्पन्न भएको नौ महिनाकै छोटो अवधिमा समाजवादी सर्वहारा क्रान्ति सम्पन्न गरियो।

२. पूँजीवादी क्रान्तिमा मजदुर तथा किसानका सशस्त्र जत्था र विश्वयुद्धबाट आजित र थकित सैन्यवल र तिनका सोभियतहरूको निर्णायक भूमिका भए पनि सोभियतहरूको केन्द्रीय नेतृत्व क्रान्तिकारी समाजवादी तथा मेन्सेविकहरू जस्ता पूँजीवाद परस्त पार्टीहरूको हातमा रहेको हुँदा सत्ता मजदुर वर्गको साटो पूँजीपति वर्गको हातमा पुग्यो। ती पार्टीहरू तत्काल सर्वहारा क्रान्ति र समाजवादको पक्षमा थिएनन्। तिनको यस दोहोरो चरित्रले क्रान्तिमा मजदुर किसान वर्गको निर्णायक भूमिकाको बावजुत केन्द्रीय राज्यसत्ता पूँजीपति वर्गको हातमा गयो। तर, स्थानीय जनसत्ता स्थानीय सोभियतहरूकै हातमा भएको हुँदा दोहोरो शासन सत्ताको अवस्था उत्पन्न हुन गयो। राजनैतिक संघर्ष नयाँ चरणमा प्रवेश गर्‍यो। त्यस नयाँ अवस्थामा मजदुर-किसान तथा सैन्य सोभियतहरूको बलमा सशस्त्र विद्रोह गरी सर्वहारा क्रान्ति सम्पन्न गर्ने रणनीति लिइयो र क्रान्ति सम्पन्न गरी मजदुर-किसानको सोभियत सत्ता कायम गरियो।

३. पूँजीवादी क्रान्ति सम्पन्न भएको नौ महिनाको छोटो अवधिमा नै सर्वहारा क्रान्ति सम्पन्न गरियो। उन्नाइसौं शताब्दिदेखि विकसित युरोपका पूँजीवादी देशहरूमा सशक्त मजदुर आन्दोलन र किसान विद्रोहका बाबजुद कम्युनिस्ट पार्टीहरूको ढुलमुल नीतिले किसान-मजदुर शक्तिलाई एउटै झण्डामुनि संगठित गरी किसान-मजदुर सत्ता स्थापित गर्ने सौभाग्य प्राप्त भएन। यसको विपरीत एउटा कम विकसित तथा किसानको बाहुल्यता रहेको देशमा समाजवादी क्रान्ति सम्पन्न गरियो।

४. अक्टोबर क्रान्ति ‘मजदुर वर्गले आफ्नो मुक्तिको युद्ध आफै लड्नु पर्छ’ भन्ने मार्क्सवादी सैद्धान्तिक प्रस्थापनाको व्यवहारिक कार्यान्वयन थियो। विकसित औद्योगिक युरोपमा मजदुर वर्गको लामो संघर्ष र निरन्तरका पराजयको पृष्ठभूमिमा पेरिसकम्यूको पराजयको चार दशकपछि मजदुर, किसान र सैन्य शक्तिको संयुक्त शक्ति र कम्युनिस्ट पार्टीको नेतृत्वमा २५ अक्टोबर १९१७ (रसियन नयाँ पात्रो अनुसार ७ नोभेम्बर १९१७) मा रुसी जनताले इतिहासमा पहिलो पटक महान सर्वहारा क्रान्ति सम्पन्न गरे, जसले हजारौँ वर्षदेखि शोषण, असमानता तथा विभेदको जाँतोमा पिसिँदै आएका श्रमजीवीहरूलाई शोषण मुक्त गरी युगौं पुरानो शासक र शासित, शोषक र शोषितको शासन प्रणालीको अन्त गरी शोषित वर्गलाई सत्ताको मालिक बनायो र मानव समाजलाई वर्ग र वर्गीय शोषण विहीन समाजवादी युगमा प्रवेश गरायो।

५. अक्टोवर क्रान्तिको अर्को विशेषता के हो भने क्रान्तिको दौरान सशस्त्र विद्रोहमा हजारौंको ज्यान गयो तर २५ तारिकको राती सत्ता कब्जा गर्दा कुनै रक्तपात भएन। त्यसैले केहीले यसलाई शान्तिपूर्ण क्रान्ति भन्ने तर्क पनि गर्ने गरेका छन्, तर, त्यो सत्य होइन । यस क्रान्तिको दौरान हजारौँ हजारले बलिदान दिएका छन् र यो मजदुर, किसान तथा सैनिकहरूको संयुक्त शक्तिद्वारा सम्पन्न गरिएको सशस्त्र क्रान्ति नै थियो।

६. रुसको सन्दर्भमा भन्नेहो भने त्यहाँ मजदुर आन्दोलन भन्दा निरंकुश जारशाहीको कुलिन सामन्ती सत्ता र सामन्ती भूस्वामित्व विरुद्ध किसानहरूका सशस्त्र विद्रोहको इतिहास लामो थियो। अक्टोबर क्रान्तिमा पनि तिनको अहम् भूमिका रहेको हो। वैचारिक र लक्षगत आधारमा मजदुर-किसान र सैन्य दलहरूको एकता कायम नभएको भए यो क्रान्ति सम्भव थिएन । यस एकताको मूल आधार लेनिनको- किसानलाई भूमि, सैनिकहरूलाई शान्ति र सोभियतलाई सत्ताको नारा थियो, जसले आम किसान तथा सैन्य शक्तिलाई मजदुर वर्गसँगै क्रान्तिको एउटै लाममा उभ्याएको हुँदा सर्वहारा क्रान्तिलाई बल पुग्यो। क्रान्तिको सम्पन्नता, यसको संरक्षण र क्रान्तिकारी रूपान्तरणको प्रक्रिया अगाडि बढाउन तथा प्रतिक्रियावादीहरूलाई समाप्त गर्नमा यस संयुक्त शक्तिको नै निर्णायक भूमिका रहेको हो।

७. समाजवादी सर्वहारा क्रान्तिका लागि मार्क्सले त्यति महत्त्व नदिएको तथा रूसकै सन्दर्भमा हेर्ने हो भने प्लेखानोभ जस्ता मार्क्सवादी चिन्तकको विरोधका बाबजुद लेनिनले समाजवादी क्रान्तिको लागि आम ग्रामिण गरिब किसानको शक्तिलाई पहिचान गरे र त्यस वर्गलाई समाजवादी क्रान्तिको लागि मजदुर वर्गको निकटतम सहयोगी शक्तिका रूपमा परिभाषित गरी त्यसलाई व्यवहारमा परिणीत गरे। अक्टोबर समाजवादी क्रान्तिपछि मात्र समाजवादी क्रान्तिका लागि मजदुर-किसान एकताको नारा स्थापित हुन पुग्यो र अहिले मजदुर आन्दोलनको आम नारा भएको छ। यो अक्टोबर क्रान्तिको देन हो। यस अनुभवलाई हामीले आफ्नो परिपेक्षमा कसरी बुझ्ने र व्यवहारमा कसरी लागू गर्ने ? हाम्रो अवस्थामा हामीले नै निर्णय गर्नु पर्ने विषय हो।

८. अक्टोबर क्रान्ति मानव समाजमा नयाँ युगका थालनीको नयाँ परिघटना थियो। कुनै पनि सामाजिक परिघटना वा वैज्ञानिक विकासको प्रक्रिया एकपल्टको असफलसँगै अन्त हुँदैन। बल्कि त्यो नयाँ सृजनाको लागि आधार हुन्छन्। सामाजिक क्रान्तिहरूका लागि पनि यही कुरा लागू हुन्छ। एक पल्टको असफलताले नयाँ चरणका लागि नयाँ चिन्तनलाई जन्माउँछ। सबैलाई थाहा भएकै कुरा हो पहिलो विद्युत् लैम्प दश सेकण्डभन्दा केही बडी समय मात्र बलेको थियो। पहिलो हवाई जहाज एक मिनट पनि उड्न सकेको थिएन। एक्सरेको ज्ञान एउटा घटनाबाट भयो। पहिलो मजदुर सत्ता पेरिस कम्यून ७२ दिन मात्रै टिक्न सक्यो। अक्टोबर क्रान्ति ७२ वर्ष बाँच्यो तर यसले सुरु गरेको नयाँ युगमा काम गरिरहेका समवादी व्यवस्थाहरूले आर्थिक, सामाजिक, राजनैतिक विज्ञान र प्रविधिका क्षेत्रहरूमा नयाँ उपलब्धिहरू हासिल गरेका छन्। विश्व अवस्थामा नयाँ शक्ति सन्तुलन स्थापित हुँदैछ। यी सब अनुभव र उपलब्धिहरूले समय र अवस्था सापेक्ष आवश्यक परिमार्जनसहित नयाँ क्रान्तिहरू सम्पन्न गर्ने आधार र अनुभव प्रस्तुत गरेको छ। अहिले पनि चीन, भियतनाम, क्यूबा, कोरिया जस्ता देशहरू आ-आफ्नो विशिष्टता अनुसार समाजवाद निर्माणको दिशामा अगाडि बढ्दै छन्। विभिन्न देशहरूमा कम्युनिस्ट तथा वाम शक्तिहरू सत्तामा आउने जाने प्रक्रिया निरन्तर चलिरहेको छ। यस्ता हरेक घटनाले नयाँ शिक्षा दिँदै छन् र श्रमिक आन्दोलन तथा कम्युनिस्ट आन्दोलनहरूले नयाँ अनुभव प्राप्त गर्दै छन्। नेपालमा शान्तिपूर्ण तथा जनमतको माध्यमबाट कम्युनिस्ट पार्टीले सत्ता प्राप्त गरेको छ, जसले नयाँ सम्भावनाहरूका क्षितिज खोलेको छ। पूँजीवादले अनेकौं असफल क्रान्तिपछि आजको अवस्था प्राप्त गरेको हो। आजको पूँजीवाद नत एउटै क्रान्तिको परिणाम हो न ती क्रान्तिहरू सबै ठाउँमा सधैं सफलता मात्र बेहोर्दै अगाडि बढेका थिए।

९. अक्टोबर क्रान्तिभन्दा पहिले श्रमिक सत्ता र समाजवाद सैद्धान्तिक अवधारणाकै रूपमा थियो। अक्टोबर क्रान्तिले यस परिकल्पनालाई व्यवहारिक रूपमा स्थापित गर्‍यो। पूँजीवादविरुद्ध मजदुर आन्दोलनको लामो बलिदानपूर्ण इतिहासका पक्षबाट हेर्ने हो भने यो उसले पूर्ण विजय पाएको महान् घटना थियो। यसै अर्थमा यो क्रान्ति युग परिवर्तनकारी परिघटना थियो।

१०. उपरोक्त केही पक्ष अक्टोबर क्रान्तिका विशिष्टता हुन भने अक्टोबर क्रान्तिको दौरान घटनाक्रमहरूको विकास, जटिलतम अवस्थामा पार्टीले लक्ष सापेक्ष अपनाएको कार्यनीति, पार्टीको संगठनात्मक स्वरूप र परिचालनको परिपाटी, प्रत्येक परिस्थितिमा शक्ति सन्तुलनको पहिचान आदि जस्ता सम्पूर्ण पक्ष बोल्सेभिक पार्टी नेतृत्वको विशिष्टता हुन्। यस पक्षबाट हर्ने हो भने लेनिन सिद्धान्तकार मात्र नभएर दृढसंकल्पी क्रान्तिकारी र सक्षम संगठनकर्ता पनि हुन्, जसले मार्क्सवादलाई जीवन्त व्यवहारमा परिणीत गरी युग परिवर्तनको जग बसाले। लेनिनको अर्को विशिष्ट पक्ष हो, वहाँ मार्क्सवादी सिद्धान्तकार मात्र नभएर सशरीर क्रान्तिमा संलग्न रहेका र क्रान्तिको नेतृत्व तथा क्रान्तिको सिद्धान्त, क्रान्तिकारी पार्टीको गठन, सांगठनिक सिद्धान्त, व्यावहार र चरित्रको समष्टिगत रूपमा व्याख्या गर्दै क्रान्तिको तयारी, क्रान्तिकारी अवस्थाको पहिचान, संरक्षण, संवर्द्धन, विकास र समाजवाद निर्माणका लागि क्रान्तिकारी व्यवहारिक नीति तथा जनता र जनक्रान्ति बीचका अन्योन्याश्रित सम्बन्धहरूको व्याख्याता पनि हुन।

११. पेरिसकम्यूनको गणना नगर्ने हो भने अक्टोवर क्रान्तिले स्थापना गरेको सोभियत संघ र त्यसको जगमा उभिएको विश्व समाजवादी शिविरको पतनसँगै अक्टोवर क्रान्तिले सुरूगरेको क्रान्तिको एउटा चरण पूरा भएको छ। तर, त्यसले सुरु गरेको समाजवादी क्रान्तिको युग नै अन्त भयो भन्नु गलत हो। यसले नयाँ क्रान्तिकारी उभारका लागि आधार निर्माण गरेको छ। यो नयाँ ऐतिहासिक चरणमा नयाँ किसिमले अगाडि बढ्दै छ र बढ्ने छ। ऐतिहासिक परिघटनाहरूको विकासलाई दिन गन्तीको आधारमा हेर्नु हुँदैन। त्यस कारण सोभियत कालको बस्तुगत मूल्यांकनको आवश्यकता छ, जसले नयाँ अवस्था र नयाँ चरणमा विगतका कमी कमजोरीलाई सुधार गर्दै समाजवादी क्रान्ति र मजदुर आन्दोलन र समाजवाद निर्माणको कामलाई अगाडि बढाउन मार्ग निर्देशन गर्ने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै