बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

“चर्चित २० शब्दावली जुन मार्क्सवादी दर्शनमा प्रयोग हुन्छ”

 १२ श्रावण २०७८, मंगलवार  

अतर्कबुद्धिपरकः विवेक, चिन्तनको आधारमा अबोधगम्य, तार्किक अवधारणाहरूमा व्यक्त हुन नसक्ने। अतर्कबुद्धिवादमा अतर्कबुद्धिपरकले विशेष, विवेकबाट वञ्चित शक्तिहरूको प्रतिनिधित्व गर्दछ, जुन मानौं मानवचित्त र स्वयं सत्तासम्मको आधारमा निहित हुन्छन्।

अताराक्सियाः आत्मिक प्रशान्तता तथा अविचलताको अवस्था, जसलाई केही यूनानी दार्शनिकहरूका अनुसार ज्ञानीले उपलब्ध गर्न सक्दछन्। डेमोक्रिटस, एपीक्यूरस, लूक्रेटियसका अनुसार अताराक्सियासम्म पुग्ने मार्ग विश्वको संज्ञान, डरमाथि विजय, चिन्ताबाट मुक्ति हुँदै अगाडि बढ्दछ। संशयवादीहरुले यो सिकाए र कि अताराक्सिया निर्णय दिनबाट हटेर उपलब्ध गर्न सकिन्छ। स्टोइकहरुले उदासीनताको आफ्नो सिद्धान्तलाई जुन भइरहेको छ, त्यसको आनन्द तथा शोकप्रति उपेक्षाभावको रूपमा विकसित गरेका थिए। मार्क्सवादी नीतिशास्त्रले जीवनप्रति चिन्तनात्मक प्रवृत्तिलाई अस्वीकार गर्दछ र जीवनमा व्यक्तिको क्रियाशील स्थितिलाई आदर्श मान्दछ।

अतिकल्पनाः कल्पना, जसको विशेषता कल्पित विचारहरू तथा बिम्बहरूको शक्ति, विविधता तथा असामान्यता हो।

अद्वैतवादः एउटा दार्शनिक मत, जसअनुसार सम्पूर्ण अस्तित्वको एउटै स्रोत छ। भौतिकवादीले पदार्थलाई जगतको आधार मान्दछन्, जबकि आदर्शवादीले चेतना, विचारलाई त्यसको आधार मान्दछन्। हेगेलको दर्शन आदर्शवादी अद्वैतवादको सबभन्दा बढी सुसंगत धारा हो। विज्ञानसम्वत तथा सुसंगत अद्वैतवाद द्वन्द्वात्मक भौतिकवादको विशेषता हो, जसले यो मान्दछ कि जगत भौतिक हो, जगतमा सम्पूर्ण परिघटनाहरू गतिशील पदार्थका विभिन्न रूपहरू हुन्। मार्क्सवादी दर्शनमा भौतिकवादलाई सामाजिक परिघटनाहरूमाथि पनि लागू गरिन्छ। अद्वैतवादको विपरीत द्वैतवाद हो।

अधःस्तरः विभिन्न विषयहरू तथा पृथक्, एकल विषय, वस्तुका गुणहरूको एकता तथा समरुपताको आधार (मूलतत्व)।

अधिगणितः (प्रमाणको सिद्धान्त) – एउटा सिद्धान्त, जसले आकारगत प्रणालीहरू र कलनहरुका भिन्न-भिन्न गुणहरूको (अन्तर्विरोधरहित, पूर्णता, आदिको) अध्ययन गर्दछ। हिल्बर्टले गणितका आधारशीलाहरुको बारेमा आफ्नो मतको प्रशंगमा अधिगणित शब्दको प्रयोग गरेका थिए (आकारवाद)।

अध्यात्मवादः आत्मालाई जगतको मूल मान्ने एउटा आदर्शवादी सिद्धान्त। केही अध्यात्मवादीहरुको लागि भौतिक जगत परमात्मा तथा उसका गुणहरूको अभिव्यक्तिको माध्यम हो, जबकि अन्य अध्यात्मवादीहरुको लागि त्यो मानव चेतनाको मायाजाल हो। अध्यात्मवादका प्रतिपादकले आत्माको शरीरबाट स्वतन्त्र अस्तित्व हुन्छ भन्ने मान्दछन्। सुसंगत अध्यात्मवादीले आधुनिक विज्ञानका उपलब्धिहरूको मिथ्याकरण गर्दछन् र विज्ञानको स्थानमा प्रेतात्माहरु तथा दैवी विधानमा अन्धविश्वासको स्थापना गर्ने प्रयास गर्दछन्। २) बुर्जुवा दर्शनमा अध्यात्मवाद शब्दको अर्थ अधिकांशतः आदर्शवाद हुन्छ।

अनुघटनाः एउटा पद, जुन चेतनालाई जगतको भौतिक अन्तर्वस्तुको निष्क्रिय परावर्तनको रूपमा चित्रित गर्नको लागि उपयोगमा ल्याइन्छ। यसलाई प्रकृति वैज्ञानिक भौतिकवादका प्रवक्ता (टी. हक्स्ले, एफ. ले- दान्तेक) र कैयौं आदर्शवादी दार्शनिक (ई. हार्टम्यान, नित्से, सान्तायाना) ले प्रयोग गर्दछन्।

अनुध्यानः अवलोकन तथा प्रयोगद्वारा सिद्ध वैज्ञानिक तथ्यहरूसँग असम्बन्धित अमूर्त तार्किक व्याख्याहरूको आधारमा सत्यको सैद्धान्तिक रूपले बोध गर्ने विधि। त्यसै कारण अनुध्यान अवैज्ञानिक स्वरूपको हुन सक्दछ। प्राचीन यूनानी चिन्तकहरुका दार्शनिक प्रणालीहरू, मध्ययुगीन शास्त्रीयतावादी सिद्धान्त, १८औँ तथा १९औँ शताब्दीका प्राकृतिक-दार्शनिक सिद्धान्त, जसलाई शेलिंग र हेगेल तथा केही प्राकृतिक वैज्ञानिकहरूले प्रस्तुत गरेका थिए, अनुसन्धानात्मक स्वरूपका थिए। वैज्ञानिक ज्ञानको थप प्रगतिसँगै अनुसन्धानात्मक विचारहरूलाई विस्तार-विस्तार परित्याग गर्न लागियो र तिनीहरूको स्थान वैज्ञानिक विचारले लिन थाले। कहिलेकाहीँ अनुध्यानलाई दार्शनिक संज्ञानको विशिष्टताको रूपमा परिभाषित गरिन्छ।

अनुभवनिरपेक्षः आदर्शवादी दर्शनमा प्रयुक्त शब्द, जुन अनुभवसापेक्ष ज्ञानको विपरीत अनुभवभन्दा पहिलेको र त्यसबाट स्वतन्त्र ज्ञानको, आरम्भदेखि नै चेतनामा निहित ज्ञानको द्योतक हो। दुई शब्दहरुको-अनुभवनिरपेक्ष र अनुभवसापेक्षको- यो परिप्रतिवर्तन विशेष गरी कांटको दर्शनको विशेषता हो। कान्टले यो मान्दथे कि ज्ञानेन्द्रियहरुबाट प्राप्त ज्ञान असत्य हो, उनले त्यसको परिप्रतिवर्तन गरेर संवेदनग्राह्यताको (स्थान र समयको) र विवेकको (कारण, आवश्यकता, आदिको) अनुभव निरपेक्ष रूपलाई प्रामाणिक ज्ञानको रूपमा प्रस्तुत गरे।

अनुभवसापेक्षः अनुभवनिरपेक्षबाट भिन्न यो शब्द त्यो ज्ञानको द्योतक हो, जुन अनुभवबाट प्राप्त हुन्छ। अनुभवातीत अन्तर्वर्तीको विपरीत यो पदले त्यसलाई लक्षित गर्दछ, जुन चेतना तथा संज्ञानभन्दा पर छ। यो पदको कान्टको दर्शनमा अत्यधिक महत्त्व छ, जसले यो मान्दथे कि मानिसको ज्ञान अनुभवातीत जगतमा, वस्तुनिजरुपको गठनमा पुग्न असमर्थ छ। अर्कोतिर, कान्टका अनुसार मानिसको आचरण अनुभवातीत मानकहरुबाट (स्वतन्त्र संकल्प, अमर आत्मा, ईश्वरबाट) निर्धारित हुन्छ।

अनुभवात्मक प्रतीकवादः यो नाम आदर्शवादी यूश्केभिचले अनुभवसिद्ध आलोचनाको त्यो रूपलाई दिएका थिए, जसको रचनाकार उनी थिए। अनुभवात्मक प्रतीकवादको मुख्य विचार के हो भने, संकल्पनाहरु (सत्य, सत्ता, सार, आदि) केवल स्वेच्छाचारी प्रतीक मात्र हुन् र यिनीहरूले कुनै वास्तविक वस्तुलाई प्रतिबिम्बित गर्दैनन्। यो विचार प्वाइंकेर र माखबाट ग्रहण गरिएको थियो (जसले पदार्थलाई तार्किक प्रतीक मात्र मान्दथे)। यूश्केभिचले यो सिद्ध गर्ने प्रयत्न गरे कि वस्तुगत जगत अनुभवात्मक प्रतीकहरूको (अर्थात् आदर्शवादी ढंगले परिभाषित अनुभवका प्रतीकहरूको) समुच्चय हो। यूश्केभिचका अनुसार प्रतीकहरूको यो वा त्यो प्रणालीको छनौट अनुभवको परिभाषाको सुविधाबाट निर्धारित हुन्छ। भी. आई. लेनिनले ’भौतिकवाद तथा अनुभवसिद्ध-आलोचना मा यो दर्शाए कि अनुभवात्मक प्रतीकवाद आत्मगतवादी आदर्शवाद हो, जसले बाह्य जगत र त्यसका नियमहरूलाई ज्ञानको प्राप्तिको मानिसको क्षमताको प्रतीक मात्र मान्दछ।

अन्तःक्षेपणः प्रकृतिवादी तथा अनुसन्धानात्मक (अधिभूतवादी) भौतिकवादको व्याख्या तथा आलोचनाको लागि अभिनारियसद्वारा प्रचलित अवधारणा, जसले प्रकृतिवादी तथा अनुसन्धानात्मक भौतिकवादको विरुद्धमा ‘प्रमुख समन्वय’ को सिद्धान्त प्रस्तुत गरेका थिए। अभिनारियसका अनुसार अन्तःक्षेपण व्यष्टिक चेतनामा विशिष्ट आत्मिक बिम्ब, भावात्मकको अननुज्ञेय समावेश हो, जसको परिणाम द्वैतवाद हुन्छ। द्वन्द्वात्मक भौतिकवादले भावात्मकलाई निजी चेतनासम्म सीमित गर्नुको बदला त्यसलाई भौतिकको प्रतिबिम्ब मान्दै त्यसको सामाजिक-व्यावहारिक स्वरुपलाई प्रकाशमा ल्याएका अन्तःक्षेपण तथा द्वैतवादबाट बच्दछ। लेनिनले ‘भौतिकवाद तथा अनुभवसिद्ध-आलोचना शीर्षक आफ्नफ पुस्तकमा अन्तःक्षेपणको आलोचना गरेका थिए।

अन्तरंग तथा बहिरंगः ‘अन्तरंग’ शब्द कुनै यस्तो विचार वा सिद्धान्तको नाम हो, जुन केवल दीक्षितहरूको लागि मात्र हुन्छ, जुन केवल विशेषज्ञहरूको लागि मात्र बोधगम्य छ। यसको विपरीत ‘बहिरंग’ शब्द ‘लोकप्रिय’, ‘अविशेषज्ञहरुको लागि पनि सुलभ्य’को अर्थमा उपयोगमा ल्याइन्छ। यी शब्दहरू परिघटनाहरूका आन्तरिक तथा बाह्य सम्बन्धहरूलाई लक्षित गर्नको लागि पनि प्रयोग गरिन्छ।

अन्तज्र्ञानः प्रत्येक नयाँ प्रत्यक्ष ज्ञानको मानिसको पूर्वअनुभूतिमाथि र प्रत्यक्ष ज्ञानको समयमा उसको मानसिक अवस्थामाथि निर्भरता। यो शब्दको प्रयोग लिब्निजले प्रत्यक्ष ज्ञानभन्दा भिन्न आत्मचेतनाको अर्थमा गरेका थिए।

अन्तर्वर्तीः कुनै विषय, परिघटना वा प्रक्रियाको आन्तरिक विशेषता। अन्तर्वर्ती शब्दको प्रचलन एरिस्टोटलबाट ग्रहण गरिएको थियो। कान्टले अन्तर्वर्तीको वर्तमान ज्ञानको विकास गरे। अनुभवातीतको विपरीत अन्तर्वर्तीको अर्थ हो कुनै वस्तुको निजरुप हुनु। अन्तर्वर्ती आलोचना कुनै विचार अथवा विचारहरुको प्रणालीको आलोचना हो, जुन यो विचार वा प्रणालीको आफ्नै बोधमाथि आधारित छ। दर्शनको अन्तर्वर्ती इतिहास दर्शनको यस्तो प्रक्रियाको रूपमा आदर्शवादी व्याख्या हो, जुन सर्वथा आफ्ना नियमहरूबाट निर्धारित हुन्छ, जसमा दार्शनिक चिन्तनको विकासक्रममाथि अर्थतन्त्र, वर्गसंघर्ष, सामाजिक चेतनाका विभिन्न रूपले प्रभाव पार्दैनन्।

अन्तर्विरोधको नियमः तर्कशास्त्रको एउटा नियम, जसअनुसार एक-अर्कोलाई निषेध गर्ने दुई प्रस्थापनाहरू एकसाथ सत्य हुन सक्दैनन्। अन्तर्विरोधको नियमको पहिलो निरूपण एरिस्टोटलले गरेका थिए। यो नियमलाई अर्को ढंगबाट पनि निरूपित गर्न सकिन्छ ः कुनै प्रस्थापना एकसाथ सत्य तथा असत्य हुन सक्दैन। तर्क अथवा वैज्ञानिक सिद्धान्त त्यस बेला असंगत हुन्छन्, जब तिनीहरूमा आकारगत अन्तर्विरोध निहित हुन्छन्। अन्तर्विरोधको नियम चिन्तनमा विषयहरूको गुणात्मक निश्चितताको, यो सरल तथ्यको परावर्तन हुन्छ कि यदि स्वयं विषयमा परिवर्तनबाट अमूर्तकरण गरिन्छ भने, त्यसमा एक-अर्कोलाई वर्जित गर्ने गुण एकसाथ हुन सक्दैनन्।

अपेइरोनः शाश्वत रूपले गतिशील, असीमित, अनिश्चित, गुणरहित पदार्थलाई संकेत गर्नको लागि अनाक्सीमेण्डरद्वारा प्रचलित अवधारणा। बस्तुहरूको सम्पूर्ण अनन्त बहुलता, सम्पूर्ण जगत अपेइरोनभन्दा विपरीतहरू (ताप र आर्द्र र शुष्क) को असंलग्नता तथा तिनीहरूको संघर्षको माध्यमबाट उत्पन्न भए। अपेइरोनको अवधारणा प्राचीन यूनानी भौतिकवादको विकासमा ती अवधारणाहरूको तुलनामा, जसले पदार्थलाई मूल तत्त्वहरूबाट भिन्न मान्दथे, अगाडितिर एउटा कदम थियो। पाइथागोरसवादीहरुका अनुसार अपेइरोन आकारहीन, असीमित मूल तत्त्व हो, जुन आफ्नो विपरीतसहित ती सबैको आधार हो, जुन अस्तित्वमान छन्।

अभिरुचिः विषयप्रति सकारात्मक भावनात्मक प्रवृत्ति तथा त्यसमाथि ध्यान केन्द्रीकरण। स्थायी स्थितिगत अभिरुचि कुनै सम्बन्धित कार्य सम्पन्न गर्ने प्रक्रियामा उत्पन्न हुन्छ र पूर्ति भएपछि लोप हुन्छ। स्थायी अभिरुचि व्यक्तिको अपेक्षाकृत स्थायी विशेषता हुन्छ र मानिसको आफ्नो क्रियाकलापप्रति सृजनशील प्रवृत्तिको महत्त्वपूर्ण सर्त हो, जसले उसको दृष्टिपरिधिको विस्तार गर्न र उसको ज्ञान बढाउनमा सहायता गर्दछ।

अभ्युपगमः कुनै वैज्ञानिक सिद्धान्तको एउटा नियम वा कथन, जसलाई त्यो सिद्धान्तको ढाँचाभित्र मूल प्रस्थापनाको रूपमा, प्रमाणबिना नै स्वीकार गरिन्छ। आधुनिक तर्क तथा विज्ञानका अध्ययनविधिहरुमा अभ्युपगमको धारणाको सामान्य रूपमा बढी व्यापक रूपले प्रयुक्त पद स्वयंसिद्धिको पर्यायको रूपमा उपयोग गरिन्छ। यी धारणाहरूको प्राचीन दर्शनबाट प्राप्त अन्तरलाई कहिलेकाहीँ सुरक्षित राखिन्छः स्वयंसिद्धिहरु कुनै सिद्धान्तका आरम्भिक तार्किक मान्यताका द्योतक हुन्छन् तथा अभ्युपगम यो सिद्धान्तका आरम्भिक विशेष वैज्ञानिक प्रस्थापनाहरूका द्योतक हुन्छन्। केही सन्दर्भहरूमा अभ्युपगम कुनै निश्चित सिद्धान्तका स्वयंसिद्धिहरु तथा निष्कर्ष निकाल्ने नियमहरूका द्योतक हुन्छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै