बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

हामी असल अभिभावक कि असफल अभिभावक ?

 १२ श्रावण २०७८, मंगलवार  

शाहिदा साह वाहिदि, नेपालगंज ।  

पृष्ठभूमि
हामी असल अभिभावक हौं कि असफल अभिभावक हौं यस बारे एक पटक अवश्य नै चिन्तन मनन गरौं । किनकि आज अधिकांश अभिभावकको मुखमा यिनै गुनासा रहेका हुन्छन् । कि मेरो छोराछोरी भनेका कुरा मान्दैनन्, साह्रै बिग्रिहालेछन्, उनीहरु अनुशासित छैन, ठुलाबडाको आदर गर्दैनन्, सानालाई माया गर्दैनन्, समयमा घर फर्किदैनन् अबेर राति सम्म घर बाहिर डुल्छन्, कति त लागु पदार्थ सेवन गर्छन् आदि । तर यसको कारण के हो भनी कसैले मनन गर्दैनौं । जीवन चलाउनका लागि इस्लाम उत्तम र पूर्ण जीवनपद्धति हो जसले मानव जीवनको हरेक पक्षलाई ध्यानमा राखी सान्दर्भिक ज्ञान प्रदान गर्दछ । यसले सभ्य समाजको निर्माण गर्न मार्ग निर्देशन गर्दछ । त्यही समाजको एक महत्वपूर्ण भाग परिवार हो जहां परिवारका दुई महत्वपूर्ण हिस्सा हुन्छन् एक त अभिभावकहरु अर्को चाहिं सन्तानहरु । बच्चाहरू अल्लाहले दिएका आशिष र वरदान हुन् । यसमा कुनै शंका र सन्देह छैन कि बच्चाको पालनपोषण एक निकै जिम्मेवारीपूर्ण र गाह्रो कार्य हो । यो त आमा बुबाको प्रेम र आत्मीयता हो कि रातदिन बिना विश्राम आफ्नो बच्चाहरुका लागि आय आर्जन र पालनपोषणमा लागेका हुन्छन् । तर आफ्नो दैनिकीमा अर्थात बुवा कमाउनतिर र आमा घर गृहस्थीका कामकाजमा यति व्यस्त हुन्छन् कि उनीहरुंलाई फुर्सदै हुँदैनन् । जसले गर्दा सिक्ने उमेरमा बच्चाहरुको उचित र व्यवहारिक शिक्षा छुट्न जान्छ । इस्लामले मात्र होइन् सबै धर्मले भन्छ कि उचित शिक्षा दिक्षा र स्वास्थ्य सुविधा, बच्चाहरूको पूर्ण सुरक्षा र देखरेख गर्नु अभिभावकको परम् कर्तव्य हो । त्यसकारण यो प्रत्येक अभिभावकको कर्तव्य हो कि आधुनिक शिक्षाको साथसाथै सन्तानहरुलाई नैतिक शिक्षा दिनका लागि दीनधर्मको शिक्षा पनि दिलाउनु अति आवश्यक र महत्वपूर्ण रहेछ । अभिभावककै जिम्मेवारी हो आफ्नो सन्तानहरुलाई सदाचारी र इमान्दार बनाउनु, लागु पदार्थबाट टाढा राख्नु, हराम कमाइबाट बचाउनु, पर्दामा मर्यादित भएर हिडाउनु, नमाज र कुरान मजीदसंग नजिक गर्नु, समयमा घर फर्किन समयको पाबन्द बनाउनु, बुढापाकाहरुलाई सम्मान र माया गर्न सिकाउनु, अरुप्रति सकारात्मक दृष्टि र सोच राख्न सिकाउनु आदि । सन्तानलाई असल बनाउन सम्पूर्ण जिम्मेवार र अभिभारा अभिभावकमाथि रहेको हुन्छ । हामीले यो भन्दा अघिल्लो लेखमा आफ्नो अभिभावकका प्रति सन्तानका कर्तव्य बारे बृहत चर्चा गर्यौं । अब जबकी हामीलाई थाहा छ कि परिवारलाई व्यवस्थित राख्न दुई महत्वपूर्ण भूमिका हुन्छन् एक अभिभावक अर्को सन्तान । तब जरूरी छ कि हामी दुबैका बारेमा नै जानकारी हासिल गरी त्यसलाई नीजि जीवनमा अवलम्बन गरौं । अभिभावकले पनि आफ्ना दायित्व बारे बुझेर त्यसलाई आफ्नो जीवनमा अवलम्बन गरुन् भनी आशयले आजको बुर्काभित्र÷बुर्काबाहिर महिला विशेष स्तम्भको यो भागमा अभिभावकका कर्तव्य बारे चर्चा गर्नेछौं । किनभने जुनसुकै समाज किन न होस् महिला बिना अपुरो छ बच्चाहरुको अभिभावकका रुपमा पनि महिलाहरुकै पहिलो र महत्वपूर्ण भुमिका रहेको हुन्छ । जुन कुरा लेखमा उल्लेख गरिएको छ ।

सामाजिक परिवेश
परिवारमा अभिभावक भनेका आमा ,बुवा, काका, काकी, हजुरबा, हजुरआमा, फुफू, दिदी ,दाई आदि मुख्य पात्र हुन् । यिनीहरुबाट नै सन्तानले सानै देखि सिकिरहेका हुन्छन् । आजभोलि अधिकांश अभिभावकहरु निकै लापरवाह र गैर जिम्मेवार भइसकेछन् । सन्तान राम्रा र सभ्य भए भने बुवाको प्रशंसा हुन्छ र बुवाले नि मेरो छोरो वा मेरी छोरी छाती चौडा गरिहिड्छन् । तर बच्चा बिग्रिए भने सारा दोष आमामाथि थुपारिन्छ तब बुवालाई दोष दिइदैंन् । परिवारमा हैकम लगाउन पुरुषले पत्नी र बच्चाहरुलाई डराउनु हप्काउनु र हिर्काउनु आफ्नो अधिकार ठान्दछन् । सानासाना कुरामा पत्नीलाई कुटपिट गर्ने अपमान र गालीगलौज गर्ने , खानामा अलिकति नून चर्को भयो कि खाना नै फाल्दिने, रिस लाग्यो भने सरसामान तोडफोड गर्नेलाई पुरुषत्व ठान्दछन् । जबकि हेर्ने हो भने बच्चाहरुले अभिभावकका यी कृयाकलापलाई स्मरण र मनन गरीरहेका हुन्छन् । बच्चाले इन्जीनियर, वकिल र पाइलट डाक्टरलाई देखेका हुदैंन्न् तसर्थ डाक्टर, इन्जीनियर, वकिल बन्ने सोच त उनीहरुमा धजरै वर्षपछि मात्र आउंछ । पहिला त उनीहरु सोच्छन् कि आफु ठुलो भएपछि बुवा जस्तै वा आफ्नी आमा जस्तै बन्नेछु । किनभने उनीहरुले जन्मिंदादेखि आफु समिप सबभन्दा बढी आमा बुवा र तिनले गर्ने कृयाकलाप र व्यवहार देखेर हुर्किरहेका हुन्छन् । हुन त सन्तान जन्माउनु प्रकृतिको नियम हो विधिविधान हो यसरी नै यही अनुसार संसार प्रकृयारत चलिरहेकोछ ।

बच्चा जन्माउने काम त कुकुर, बिराला, चराचरुङगीले पनि गर्छन् र जनावरमा पनि आफ्नो सन्तान प्रति माया स्नेह प्रेम हुन्छ उनीहरु पनि आफ्ना बच्चाहरुलाई हुर्काउंछन् । तर मानव सर्वश्रेष्ठ प्राणी हो र उसको जिम्मेवारी अरु प्राणी भन्दा फरक छ । संसार सबै जीवित प्राणीहरु मध्ये मानवजाती नै बुद्धि विवेक भएको प्राणी हो । यहां हामी संतान जन्माउनु र उनको पालनपोषण गर्नु कति ठुलो जिम्मेवारी हो र यसमा अलि कति पनि चूक भयो भने अभिभावक र समाजलाई कति नोकसान हुन सक्छ भनी अनुमान गर्न सकिदैंन । हाम्रो समाजमा सामान्य बुझाइ र गराइ छ कि बच्चा अहिले सानै छ अलि ठुलो भएपछि उसलाई सिकाउंला । तर वास्तविकता गराई र बुझाइ भन्दा धेरै फरक छ । बच्चा जन्मिसकेपछि बच्चाहरुलाई बाहिरी कुराले त धेरै पछि असर पार्छ । उनीहरुलाई घरभित्रको वातावरणले पहिला असर पार्छ । बच्चाहरु गर्भबाट नै सिक्दै गरेका हुन्छन् यो कुरामाथि धेरै जसोलाई विश्वास नलाग्न सक्छ । तर इस्लामिक र वैज्ञानिक तवरले यहां केही उदाहरणले कुरा प्रमाणित हुनेछ कि बच्चाहरुले गर्भमा छदा नै सिकिरहेका हुन्छन् । हामी चाहन्छौं बच्चा सदाचारी बनोस् भ्रष्टाचारी नबनोस् तर आफु व्याभिचारी र भ्रष्टाचारी हुन्छौं । हामी चाहन्छौं कि बच्चा राम्रो बाटोमा हिडोस् तर आफु गलतबाटोमा हिडेका हुन्छौं । हामी चाहन्छौं बच्चा कुलतमा नलागोस् तर आफै लागु औषद सेवन गर्छौं । हामी चाहन्छौं बच्चा हलालको कमाइ खाओस् तर आफै हराम कमाइ घर ल्याएका हुन्छौं । हामी चाहन्छौं छोरी हिजाब लगाओस् तर आफै बेपर्दा भएर हिड्छौं । हामी चाहन्छौं बच्चा नमाज र कुरानमजीद पढोस् तर आफै नमाज र कुरानमजीद खोलेर पढ्न भ्याउदैनौं। हामी चाहन्छौं बच्चाहरु समयमा घर आउन तर आफै अबेर सम्म घर बाहिर हुन्छौं । हामी चाहन्छौं बच्चाले बुढापाखालाई सम्मान अनि सानालाई माया गरुन् तर आफै अपमान र घृणा गर्छौं । हामी चाहन्छौं अरुको छोराछोरीप्रति बच्चाले नराम्रो दृष्टिकोण नराखुन् तर आफै अरु प्रति नकारात्मक दृष्टि र सोच राख्छौं । हामी चाहन्छौं बच्चा झुठ नबोलोस् तर आफै सत्य बोल्दैनौं । हाल चलनचल्तीको झुठ घरमा बच्चाहरुको सामु बसि रहदां कुनै त्यस्तो व्यक्तिको फोन आयो जोसंग आफुलाई भेट्ने इच्छा छैन, भने हामी फोनमा त्यो व्यक्तिसंग झुठो बोल्दछौं कि घरमा छैन म त अहिले धेरै टाढा फलाना ठांउमा छु तसर्थ अहिले भेट्न त सम्भव नै छैन् । हामीलाई लाग्छ यो कुरा सामान्य हो ।हामीले विचार पनि गर्न सक्दैनौं कि आफुसगैं बसेको बच्चाले त्यो कुरा मनन गरी गरिहेको हुन्छ । उसले पछिका लागि त्यही धारणा आफ्नो मस्तिष्कमा बनाई सकेको हुन्छ कि जोसंग भेट्न मन नभए उसंग झुठ बोल्नु सामान्य कुरा हो । आमाले बुवाको खल्तीबाट रकम नसोधेरै निकालेको देख्दा बच्चाहरुलाई लाग्छ कि कसैलाई नसोधेर रकम झिक्नु सामान्य हो । पछि उसले पनि त्यसरी नै चोरी गर्न थाल्छ । अनि अब बच्चाले पनि आफु पनि झुठ बोल्न मात्र होईन् अभिभावकका हरेक गतिविधिहरु जस्तैः व्याभिचार र भ्रष्टाचार गर्न, लागु औषद सेवन गर्न, हराम कमाइ घर ल्याउन, बेपर्दा भएर हिड्न, नमाज र कुरान मजीदबाट टाढा हुन, अबेर सम्म घर बाहिर बस्न, बुढापाकाहरुलाई अपमान र घृणा गर्न, अरुप्रति नकारात्मक दृष्टि र सोच राख्न दोहोर्याउन सुरु गर्छन् । जसको पूर्ण रुपले जिम्मेवार स्वयं हामी अभिभावक नै हौं ।

सन्तानप्रति अभिभावकका दायित्व
सभ्य सन्तान हाम्रो लागि संसार र आखिरतमा भलाइका स्रोत र जरिया हुन् । त्यसकारण प्रत्येक अभिभावकको कर्तव्य हो कि आफ्ना सन्तानहरुलाई संसारिक शिक्षाको साथै दीन इस्लामको शिक्षा (नैतिकशिक्षा) पनि अवश्य दिलाउनु पर्छ । उसलाई राम्रो सभ्य र सच्चा मुसलमान बनाउन आफुले सत्य र अहिंसाको बाटोमा हिडेर देखाउनुपर्छ । बिडम्बना निकै दुखद कुरा हो कि आमा बुबाले बच्चा असभ्य र अनाज्ञाकारी भएको गुनासो गर्छन् । जबकि अभिभावकहरू पहिलो जिम्मेवारी हो कि उनीहरूका लागि सफलताको आशीर्वादका साथै आफु असल व्यक्तित्वको रुपमा उदाहरण बनेर हेराउनुपर्छ । हामी कहिल्यै विचार गर्यौं कि हामी आफैं यसका लागि जिम्मेवार छौं भनी । कहिल्यै हामीले विचार गर्यौं कि अल्लाहले बताउनु भएको बच्चा हुर्काउने सही तरिका हामी अनुसरण गरेका छौं कि नाई भनी । हामी बच्चाहरूलाई सामान्य काम नगरे सजाय दिन्छौं। तर के नमाज, कुरान न पढेमा, चोरी गरेमा, झुट बोलेमा, व्याभिचार र भ्रष्टाचार गरेमा, लागु औषद सेवन गरेमा, हराम कमाइ घर ल्याएमा, बेपर्दा भएर हिडेमा, नमाज अबेर सम्म घर बाहिर बसेमा, बुढापाकाहरुलाई अपमान र घृणा गरेमा, अरुप्रति नकारात्मक दृष्टि र सोच राखेमा उनीहरुलाई सही बाटो तर्फ ल्याउन पहल गर्यौं त ?
पक्कै उचित समयमा पहल र प्रयास गर्दैनौं किनभने हाम्रो सोच हुन्छ कि अहिले साना छन् अहिले के बुझ्लान् जब ठुला हुन्छन् र समय आएपछि आफै सिक्नेछन् वा बुझ्नेछन् ।

बच्चाहरुलाई सिकाउन निश्चित उमेर, समय, स्थान र व्यक्तिको आवश्यकता हुदैन् उनीहरु त गर्भबाटै सिकिरहेका हुन्छन् । उदाहरणका लागि वलीअल्लाह सय्यद शेख अब्दुल कादिर जिलानी सय्यदना गौशे आजम अलैरहमाको जीवनीलाई हेर्न सक्छौं । जब उहां बोल्न सक्ने र पढ्ने उमेरका हुनुभयो उहांलाई पढाउन भनी मदरसा लगियो । मौलानाले उहांलाई भन्नुभयो कि बिस्मिल्लाही रहमानिर्रहीम पढ्नुस् उहांले बिस्मिल्लाह देखि सुरु कुरान मजीदको २१ पारा सम्म नहेरेरै कण्ठस्थ रहेको कुरान पढेर सुनाउनुभयो । त्यहां उपस्थित सबै जनि आश्चर्य चकित भए । उहां गर्भमा रहंदा उनका आदरणीय आमा २१ पारा सम्म कुरान पढ्नु भएकोथियो जसलाई गर्भमा छदां उहांले सुन्नु भयो गर्भमा नै कण्ठ गर्नुभयो ।अब अर्को वैज्ञानिक रुपले प्रमाणित भएको उदाहरण हेरौं जुन कि महत्वपूर्ण छ तर हामीले सामान्य रुपमा लिदैं आएकाछौं । गर्भमा छदां चार महिनापछि नै बच्चाहरुको सुन्ने र सम्झिने ज्ञानेद्रियहरुको विकास भइसकेको हुन्छ । यति बेला गर्भमा रहदां बच्चाले जुन आवाज बढी सुन्छन् उनीहरुमाथि त्यसको असर बढी पर्ने गर्छ ।

गर्भवती भएपछि जब महिलालाई चेकअप गराउन लगिन्छ । डाक्टरले गर्भवती महिलालाई खुशी राख्न भनी सल्लाह दिन्छन् किनभने महिला खुशी हुदां गर्भमा रहेको बच्चामाथि त्यसको साकारात्मक असर पर्छ । अनि गर्भवती महिलालाई टेन्शनबाट टाढा राख्न भनी सल्लाह दिन्छन् । मनोवैज्ञानिकहरुको भनाइ छ कि यदि गर्भको बेलामा महिलाको पतिले उनीसंग चर्को आवाजमा कुरा गर्छ, दिनकै झैझगडा हुन्छ, भने त्यस्तो वातावरणमा जन्मेको बच्चाको स्वाभाव सामान्य बच्चा सरह हुदैंन् । किनकि कलहपूर्ण वातावरणले बच्चामाथि नकारात्मक असर पर्छ । डाक्टरले गर्भवती महिलाको कोठामा सुन्दर बच्चाहरुको तस्वीरहरु राख्न पठाउछंन् ताकि गर्भमा रहेको बच्चा सुन्दर जन्मियोस् ।
यदि तपाईंले उनीहरूका कमी कमजोरीहरूको लागि तिनीहरूको सार्वजनिक रुपमा सबैका सामु निन्दा गर्नुभयो भने तिनीहरुको कोमल मनमा तपाईप्रति क्रोध र घृणा जन्म लिनथाल्छ । तर यदि तपाईले उसलाई मायाले एक्लै भएको बेलामा बुझाउनुभयो भने तिनीहरूले सुधार गरी राम्रा कुराहरूलाई अंगालेर तपाईलाई माया गर्न थाल्छन् । आफ्ना बच्चाहरूलाई आफ्नो सम्पत्ति ठान्दै उनीहरुमाथि अनाहक रोकटोक नगरौं उनीहरुलाई सही बाटो देखाऔं । हामी चाहन्छौं कि हाम्रो सन्तानले हामीलाई महत्व देऊन् भने हाम्रो दायित्व हो कि हामी आफ्ना आमा बुवालाई धेरै महत्त्व देऔं । हामी चाहन्छौं कि उनीहरु आफ्ना पति पत्नीको आदर ,सम्मान र साथ सहयोग गरुन् भने हामी पति पत्नीले एक अर्कालाई आदर, सम्मान, साथ र सहयोग गरौं । दिनकै केही समय निकालौं उनीहरुसंग व्यतित गरौं । जब उनीहरु यी सबै कुरा सिक्दछन् र अनाज्ञा गर्दैनन् । यस्तो वातावरणमा हुर्केर हाम्रो बच्चा अनुयायी हुनेछ । हामी एक असल र आदर्श आमा बन्नुपर्छ इस्लामले आमालाई त्यो उच्च स्थान दिएको छ कि आमाको खुट्टामुनि बच्चाहरुको स्वर्ग छ । वास्तवमा सन्तान अल्लाहको तर्फबाट अनमोल उपहार हुन् उनीहरुको उचित पालनपोषणको लागि परिस्थिति अनुसार समझदारी आवश्यक छ । सबै बच्चाहरूमाथि समान नियम लागु लागू हुँंदैन् । यो बच्चाको मनस्थिति र व्यवहार ले नै देखाउंछ । त्यसकारण प्रत्येक बच्चालाई फरक तरिकाले व्यवहार गर्नु आवश्यक छ । आउने समयमा हाम्रो समाजको यो इकाई कस्तो हुने होला भन्न सकिदैंन तर कुनै पनि अवस्थामा कुनै पनि समाजको पहिलो इकाई परिवार हो । सभ्य समाज निर्माणका लागि विश्वको हरेक समाजमा परिवारलाई महत्व दिइन्छ । परिवारहरुको रूप स्थान र परिस्थिति अनुसार साना वा ठुला फरक फरक हुन्छन् । सानो अर्थात एकल परिवारमा आमा, बुबा र एक वा दुई बच्चा मात्र हुन्छन् । ठुलो अर्थात संयुक्त परिवारमा आमा, बुवा, छोराछोरी, हजुरबा हजुर आमा, नातिनातिना, फुफू, काकाकाकी, दिदी बहिनी र दाजुभाइ आदि हुन्छन् ,जहां विभिन्न नाता सम्बन्धहरु रहेका हुन्छन् । बच्चाको विकासमा आमाको सबैभन्दा ठूलो भूमिका रहेको हुन्छ बच्चाको पहिलो पाठशाला आमाको काख हो । जहां जन्मन साथ बच्चा आमाको काखमा बस्दा देखि सिक्न थाल्छ । आमाको काखमा बच्चामा सुन्ने, ध्यान दिने र बुझ्ने क्षमताको विकास हुन्छ । आमाबाबु वा हजुरबा हजुरआमाका माध्यमले नैतिकता, चरित्र विकास गर्ने बेला उनीहरुको जीवन कथाहरुले बच्चाहरुको मनमस्तिष्कमा सभ्य समाज निर्माण गर्न मानव मूल्यमान्यताको विकास हुन्छ । त्यही कारण आमालाई पहिलो शिक्षक र काखलाई पहिलो पाठशाला पनि भनिन्छ । बच्चाको विकास उसको परिवार र वातावरणबाट धेरै प्रभावित हुन्छ । सानो हो वा ठूलो परिवारले प्रत्यक्ष रूपमा बच्चाको सम्पूर्ण व्यक्तित्व विकासलाई असर गर्दछ । यी चीजहरूको परिवारको आर्थिक स्थितिसँग कुनै सरोकार राख्दैन्न् । ठूलो वा संयुक्त परिवारको फाइदा धेरै छन् ठूलो परिवारमा बच्चाले धेरै माया पाउंदछन् । जुन स्नेह, मायाप्रेमले उनीहरुमा सुरक्षाको भावना बढाउंछ ।

परिवारभित्र बच्चाहरुको छुट्टाछुट्टै स्थान हुन्छ हरेक व्यक्तिले आफ्नो नाता अनुसार उसको ख्याल राख्छन् । जसले गर्दा बच्चामा नाता अनुसार आदर सम्मान र माया प्रेम गर्ने बानीको विकास हुन्छ । उमेर अनुसारका कुरा सिक्ने अवसर प्राप्त गर्दछन् जसले गर्दा उनीहरुमा उत्तरदायित्व बोध हुन्छ र उमेर अनुसार जिम्मेवारी निर्वाह गर्न सिक्छन् । परिवारका विभिन्न प्रकारका प्रतिभा, क्षमता, दक्षता र गुण भएका व्यक्ति रहेकाले उनीहरु बीच खेलखेलमा धेरै कुरा सिक्ने अवसरहरू पाउंछन् । उमेरले आफु भन्दा ठुला व्यक्तित्वहरु बीच बस्दा उनीहरु देखरेखमा रहेकोले अनुशासित हुन्छन् । आफु सरह र आफु भन्दा साना उमेरका संग खेलखेलमा नंया नंया कुरा सिक्छन् । यसरी परिवारमा अनुशासित रहने र सिकारु बानीका व्यक्ति रहेकोले यस्ता व्यक्ति सभ्य समाज निर्माण गर्नमा फरक र अहम् भूमिका खेल्दछन् । अब हामी आफै विचार गरौं कि हामी असल अभिभावक कि असफल अभिभावक हौं ।

चुनौती
आजको समयमा सबभन्दा चुनौतीपुर्ण कुरा यो छ कि आज सानो एंव एकल परिवारलाई मानिसले बढी महत्व दिन्छन् जहां अभिभावकसंग समय छैन् । समयको अभाव नै एउटा यस्तो चुनौती हो जसले गर्दा अभिभावकहरुले आफ्ना सन्तानप्रतिको आफ्ना दायित्व पुरा गर्न असमर्थ छन् । जसको धेरै नकारात्मक असर हामीले समाजमा हेर्न सक्छौं ।
सिकाइ
हालको परिस्थितिलाई मध्येनजर गर्ने हो भने यो कुरा पुष्टि हुन्छ कि हामीले आफ्ना सन्तानहरुका लागि प्रयाप्त समय नहुनाले उनीहरु अभिभावक, मुल्यमान्यता र आफ्नो सभ्यताबाट टाढा हुदैं गइरहछन् ।
गर्नु पर्ने पहल
यसकारण हरेक दिन केही महत्त्वपूर्ण समय आफ्नो सन्तानसंग व्यतित गर्नुपर्छ । यसले गर्दा बच्चाहरु अभिभावकसंग नजिक हुनेछन् आफ्ना साना ठुला समस्या साट्नेछन् । सकभर संयुक्त परिवारलाई महत्व दिनुपर्छ जहां हरेक उमेरका व्यक्तिसंग उनीहरु नजिक हुन्छन् र उनीहरुलाई बाहिर साथी खोज्नु पर्दैन ।
परिकल्पना
परिवारमा सबैले आ आफ्नो दायित्व पुरा गर्ने हुदां परिवारमा शान्ति कायम हुनेछ । अभिभावकले आफ्ना सन्तानहरुलाई समय दिनेछन् उनीहरुको मर्म र अवस्थालाई बुझेर उनीहरुको लागि सही निर्णय गर्नेछन् । बच्चाहरु अभिभावकसंग नजिक हुनेछन् । आफ्ना अभिभावकहरुको जीवनीबाट धेरै सकारात्मक कुरा सिकेर आफ्नो जीवनमा अवलंबन गर्नेछन् । जसको फलस्वरुप आउँदा दिनमा हाम्रो परिवार र समाज अनुशासित, संयमित र शान्तिपूर्ण हुनेछ । हामी समाजमा असल अभिभावकका रुपमा चिनिनेछौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै