सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

पूर्वकप्तान पारस खड्का लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

 १९ श्रावण २०७८, मंगलवार  

काठमाडौं। पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। खड्काले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका हुन्।

क्रिकेटर खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने भन्दै नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरेका छन्।

नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन्।

झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए। पारसले सन् २००४ मा मलेसियाविरुद्ध राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका थिए। सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हालेका थिए। १० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्ने समूहको नेतृत्व पारसले गरे । उनी नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान हुन्।

पारसले लेखेका छन्:

सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय लिएको छु। नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो।

२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरू प्रति म सदैव ऋणी रहनेछु

क्रिकेटरका रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरें। मेरो जीवनमा मैले देखेको सपना भनेकोनै नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ। इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउनेछौं।

अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन्।

मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनेछौं भन्ने विश्वास लिएको छु।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै