प्रचण्ड र माधवबीच किन हुदैछ तुरन्तै-तुरन्तै भेट ? यस्तो खुल्यो पोल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ। नेता नेपाललाई भेट्न मंगलबार बिहान प्रचण्ड कोटेश्वरमा पुगेका हुन्।
एमालेका नेताहरूले पार्टी अध्यक्ष ओली र नेता नेपालबीच भेट गराउने प्रयास गरिरहेका बेला प्रचण्ड-नेपाल भेट भएको हो। पछिल्लो समयमा मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ।
भेटमा दूई नेताबीचको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिमण्डल विस्तार र सरकारका न्यूनतम साझा कार्यक्रम लगायत विषयमा विचार विमर्श भएको बुझिएको छ। यसअघि प्रचण्डले पार्टीको स्थायी कमिटीमा नेता नेपाल पक्ष सरकारमा सहभागी नहुने ब्रिफिङ गरेका थिए।
सकेसम्म नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने सत्ता पक्षीय गठबन्धनका नेताहरूको प्रयास रहेको बताइन्छ। तर, नेपालले भने त्यसबारेमा ठोस निर्णय गरिसकेका छैनन्। जसका कारण मन्त्रिपरिषद्ले हालसम्म पनि पूर्णता पाएको छैन।
यता, प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब करिब अन्तिम रुप दिएको छ। एमाले आन्तरिक विवाद सुल्झिन बाँकी रहेको, एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ता हुने तयारी भइरहेको समयमा नेपाल र प्रचण्डको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।