१७ वटा मन्त्रालयमा नयाँ मन्त्री छैनन्, सचिव कामविहीन अवस्थामा

काठमाडौं। पूर्ववर्ती सरकारका निर्णय उल्टाउन र खारेज गर्न व्यस्त रहेको सरकारले १७ वटा मन्त्रालयमा नयाँ मन्त्री ल्याउन सकेको छैन भने पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ।
नीतिगत तहमा समेत महत्वपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने पाँच जना सचिवले लामो समयदेखि कुनै जिम्मेवारी पाउन नसक्दा उनीहरूमा निराशा छाएको छ।प्रधानमन्त्री देउवाले २९ असारदेखि नै १७ वटा मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आइरहेका छन्। तीमध्ये केही मन्त्रालयमा सचिवसमेत छैनन्। मन्त्री र सचिव दुवै नहुँदा मन्त्रालयका महत्वपूर्ण कार्य रोकिँदै आएका छन्।
सरकारले बढुवा भएका सचिवलाई समयमा नै पदस्थापन गर्न नसक्दा पाँच जना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेर हाजिर गर्न र दिन बिताउन विवश छन्। लामो समय कामविहीन हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिवमा कृष्णहरि पुष्कर, खगेन्द्र नेपाल, रामप्रसाद घिमिरे र किरणराज शर्मा र हरि मैनाली रहेका छन्।
– मन्त्रालयका काम प्रभावित
– पाँच सचिव प्रधानमन्त्री कार्यालयमै ‘डम्प’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले नौ जना सचिव छन्। कार्यालयमा चार जना सचिवको दरबन्दी रहेको स्थानमा अहिले नौ जना पुगेका छन्। प्रधानमन्त्री कार्यालयमा नै सचिवलाई ‘डम्प’ गरेर राख्दा त्यसले प्रशासन क्षेत्रमा बेथिति पैदा हुन सक्ने विज्ञहरूले बताएका छन्।
सरकारले आफूनिकट बाहेकका अन्यलाई तान्नुपर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अतिरिक्त समूहमा राख्ने परम्परा रहँदै आएको छ। प्रधानमन्त्री कार्यालयमा रहेका अधिकांश सचिवले आफूलाई अपहेलित महसुस गर्ने हँुदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको काम प्रभावकारी बन्न सकेको छैन। अहिले पनि त्यस्तै अवस्था रहेकाले प्रधानमन्त्री कार्यालयको काम अपेक्षा गरेअनुसार प्रभावकारी हुन नसकेको कार्यालयकै एक उच्च अधिकारीले बताए।
अहिले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, रक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयलगायतका निकायमा सचिव छैनन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पाँच जना सचिव कामविहीन अवस्थामा रहँदा विभिन्न मन्त्रालय र निकायले सचिवको अभावमा महत्वपूर्ण कार्य गर्न पाइरहेका छैनन्।
सरकारले आफूखुसी सचिव सरुवा गर्दा सरुवा भएर जाने सचिवका कारण विस्थापित भएका सचिवलाई प्रधानमन्त्री कार्यालयमै ल्याइएको छ। अन्य कार्यालयमा सचिवको दरबन्दी रिक्त हुँदाहुँदै त्यसको उचित व्यवस्थापन नगर्दा प्रधानमन्त्री कार्यालयमा सचिवको संख्या बढी भएको हो। आजको लोकपाटी र राजधानी दैनिक मा समाचार छ ।
रासस ।