बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

मानिसका लागि किन छन् दर्शन आवश्यक ?

 २८ श्रावण २०७८, बिहीबार  

विचार र रुचिको स्वतन्त्रता आजको इलोक्ट्रोनिक युगमा कुनै एउटा देश, जाति, क्षेत्र, वर्ग, लिङ्ग, वर्ण, पेशा/व्यवसाय, विषयवस्तु वा राज्यका खास निकाय र राजनीतिक पार्टीमा बाँधिएर रहन सक्दैनन्। स्वतन्त्रता मानव जातिको साझा अधिकार हो, यसलाई उपयोग गर्ने हक सबैको बराबर हुन्छ। यति कुरा आत्मसात गरेपछि सिद्धान्त, विचार र दृष्टिकोणको अर्थ, परिभाषा, पृष्ठभूमि, विकासक्रम र त्यसको उपयोगबारे खुला चिन्तन, मनन, सोधखोज, अध्ययन, अन्वेषण, व्याख्या, विश्लेषण, संश्लेषण, परीक्षण र विकास गर्न पाउने हक सुनिश्चित हुन्छ। त्यसैले हरेक आफ्ना मानिस विचार र रुचिको स्वतन्त्रता उपयोग गर्न निपूर्ण बन्नुपर्दछ।

विश्वको इतिहासलाई हेर्दा ज्ञानको खोजी, दर्शन, सिद्धान्त, विचार, दृष्टिकोण, आदर्श र मूल्य–मान्यताको प्रतिपादन र विकास प्रक्रिया इसापूर्वका प्लेटो, सोक्ररेट, अरिस्टोटल, गौतम बुद्घको पालादेखि नै शुरु भएको देखिन्छ। नयाँ–नयाँ राज्य सञ्चालनका प्रक्रिया, विधि र प्रणालीको विकास हुनुपूर्व प्राकृतिक/भौतिक संसारबाट सोधखोज, अध्ययन, अनुसन्धान गरी नयाँ ज्ञानहरु, अनुभवहरु बटुलेर तिनको प्रयोग र विकासबाट बेलाबेलामा विभिन्न दर्शन, सिद्धान्त, विचार, दृष्टिकोण, आदर्श र मूल्य–मान्यता प्रतिपादन भएका छन्। अनुभवहरु बटुलेर विचार निर्माण गर्ने, विचारलाई परिपक्व बनाएर विभिन्न आधारहरुले पुष्टि गरी नयाँ दृष्टिकोण अघि सारिएका हुन्छन्, मौलिक सिद्धान्तहरु निर्माण गरिएका हुन्छन् र ती सिद्धान्तहरुलाई प्रयोग र परिमार्जन गर्दै दर्शनहरुको पनि प्रतिपादन भएको छ।

अहिलेसम्मको ऐतिहासिक विकासक्रमलाई आधार मानेर एक्काइसौं शताब्दीको गतिशील विश्व–परिस्थिति र असाधारण प्रवृत्तिलाई हेर्दा खासगरी अठारौं, उनाइसौं र बीसौं शताब्दीमा प्रतिपादित र विकसित भएका राजनीतिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणका केही सार्वभौम कुराहरु, केही उच्च आदर्शहरु र केही विशिष्ट सामाजिक मूल्य–मान्यताहरु बाहेक धेरै कुरालाई आधुनिक विज्ञान–प्रविधि, सूचना तथा सञ्चार प्रणाली र अन्य विभिन्नि क्षेत्रको चमत्कारिक विकासले आजको देश र दुनियाँका लागि अपर्याप्त, अनुपयोगी र असान्दर्भिक बनाएकाले यतिबेला हामी एउटा यस्तो संक्रमणकालबाट गुज्रिरहेका छौं, जसमा पुराना दर्शन, सिद्धान्त, विचार, दृष्टिकोण, अन्य विभिन्न आदर्श, मूल्य–मान्यताहरु एकातिर क्रमिक रुपमा प्रभावहीन र कमजोर बन्दै गएका छन् भने अर्कोतिर नयाँ दर्शन, सिद्धान्त, विचार, दृष्टिकोण र आदर्श, मूल्य–मान्यताहरु भने अझ उच्च रुपमा प्रतिपादन हुन सकिरहेका छैनन्।

त्यसैले अठारौं, उन्नाइसौं र बीसौं शताब्दीमा प्रतिपादन भएका राजनीतिक दर्शन, सिद्धान्त, विचार दृष्टिकोण र अन्य आदर्श, मूल्य–मान्यताहरुको आजको समयसापेक्ष पुनर्परिभाषा, पुर्नव्याख्या र पुनर्पुष्टि हुनु जरुरी छ। यसको अर्थ अहिलेसम्म मानव जीवनमा प्रयोग भइरहेका दर्शन, सिद्धान्त, विचार, दृष्टिकोण, आदर्श र मूल्य–मान्यता सबै थन्काइदिने, मिल्काइदिने फाल्तु बनिसके, अब अर्को विकल्प खोज्नु वा रोज्नुपर्छ भन्ने होइन, बरु सत्य के हो भने मानव जातिको ज्ञानको क्षेत्र सानो हुँदैन, त्यो पूर्ण बन्दैन। दर्शन, सिद्धान्त, विचार, दृष्टिकोण, आदर्श र मूल्य–मान्यताको सोधखोज, अध्ययन, अनुसन्धान, व्याख्या, विश्लेषण, सस्लेषण तथा निर्माण सदासर्वदा चलिरहने प्रक्रिया हो।

दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण कुनै ईश्वरले प्रदान गरेको रहस्यमय कुरा होइन, मानिसको दैनिक जीवनमा अभिव्यक्त हुने चेतना हो। यसका अनेक रुप हुन्छन् र सारमा चेतना व्यवहारमा अभिव्यक्त हुने ज्ञान हो, जसले हरेक मानिसलाई मार्गदर्शन गरिरहेको हुन्छ। ज्ञानको क्षेत्राधिकार व्यापक र वृहत हुन्छ। मानवीय दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणको विकास प्रक्रिया कहिल्यै पनि सिधा रेखा जस्तो हुँदैन। त्यसको आफ्नै प्रक्रिया हुन्छ र त्यो आफ्नै गतिमा ज्ञानको चक्ररेखामा कुदिरहेको छ।

वास्तवमा दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण भनेको नै दुई परस्परविरोधी तत्वहरु वा शक्तिहरुले यो दिमागमा पैदा गरेको द्वन्द्व या संघर्षको परिणाम हो। यसैमा अझ खुशीको कुरा के छ भने सबै मानिस स्वभावैले ज्ञान प्राप्त गर्ने अर्थात नयाँनयाँ चेतनाको खोजी गर्ने आकांक्षाबाट प्रेरित हुन्छन् र हरेक मानिसलाई आफू स्वयंका लागि चिन्तन गर्ने, आफ्नो विचार अभिव्यक्ति गर्ने तथा त्यसैअनुसार आचरण गर्ने अधिकार हुन्छ, त्यो अधिकारलाई आफ्नो जीवनको रक्षा एवं मानवजाति र विश्व जगतको हितमा उपयोग गर्ने स्वतन्त्रता हुन्छ।

मानिसलाई चेतनशील प्राणी किन भनिन्छ ? चेतना भनेको के हो ? यसका जवाफ अनगिन्ती छन्। सारमा सोच्न, बुझ्न, निर्णय गर्न, कार्यान्वयन गर्न सक्ने प्राणी मानिसबाहेक अर्को कतै फेला परेको छैन। मानिसको दिमागमा पैदा हुने ‘चेतना’ यथार्थता बुझ्ने माध्यम हो, जसले समाजमा रहेका दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणहरु, इतिहास, वर्तमान र भविश्यका मार्गचित्रहरु, सामाजिक मूल्य–मान्यता, आदर्श र नैतिकताहरु, सभ्यता, कला, संस्कृति र साहित्यहरु, भौतिक जगतका विभिन्न पक्ष, विज्ञान, प्रविधि, अन्य विधि र प्रणालीहरु आदिलाई जनाउँछ। राजनीतिक चेतना, सामाजिक चेतना, साँस्कृतिक चेतना, दार्शनिक चेतना, सैद्घान्तिक चेतना, वैज्ञानिक चेतना, प्रविधिक चेतना, आर्थिक चेतना, व्यवसायिक चेतना आदि चेतनाका यी विभिन्न रुपहरुमध्ये विशेषतः दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण प्राणी जगतमा क्रमिक रुपमा विकसित भएको त्यस्ता चमत्कारिक चेतना हो, जसले पृथ्वीमा उत्पन्न विभिन्न प्राणीहरुमध्ये कुनै एकलाई सबैभन्दा उन्नत चेतनाले परिपूर्ण मानवका रुपमा स्थापित गरेको छ।

अब प्रश्न उठछः मानिसको प्रकृतिसँग कुन प्रकारको सम्बन्ध छ ? मानिसको मस्तिष्कमा चेतना, दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण कहाँबाट आउँछन् ? जीवन र जगतको उत्पत्ति कसरी भयो ? के मानिसको मस्तिष्कमा वास्तविक विश्वको सम्पूर्ण ज्ञान प्राप्त गर्ने क्षमता छ ? मानिसको चिन्तन र आचरण कस्तो हुनुपर्दछ ? सुख के हो र त्यो कसरी उत्पन्न हुन्छ ? यी प्रश्नहरुको केन्द्रीत भएर खुला चिन्तन, मनन गर्ने हो भने सजिलै एउटा निष्कर्षमा पुगिन्छः मानिस चिन्तनशील प्राणी हो। तर ऊ जन्मिँदै चिन्तक बनिसकेको हुँदैन।

निश्चितै रुपमा प्रत्येक मानिसले प्रत्यक्ष भोगेको साझा सत्य के छ भने दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण बालक गर्भबाट जन्मेदेखि नै दिमागमा पैदा हुने वा मानिसको दिमागभित्र छिर्ने गरी आकाशबाट खस्ने, धर्तिमूनीबाट उर्मिने होइन। जन्मेपछि परिवार र समाजबाट, हुर्केपछि देश र दुनियाँबाट मानिसहरुले जुन अनुभवहरु प्राप्त गर्दछन्, अन्य विभिन्न माध्यमबाट जुन कुरा सिक्छन् र व्यवहारमा प्रयोग गर्दछन्, त्यसैबाट दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणहरु पैदा हुन्छन्। तर, यसैमा अचम्मको रोचक कुरा के छ भने अलौकिक सृष्टिकर्ताको कल्पना गरेर एकथरी दार्शनिकले अरु सारा मानिसलाई अज्ञानी, अल्पज्ञानी वा मूर्ख सावित गर्दै आत्मरतिमा रमाउने आध्यात्मवादी/आर्दशवादी दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण अघि सारेका छन्, जुन प्रकृति विज्ञानसँग कत्ति पनि मेल खाँदैन।

अहिलेसम्मको सोधखोज, अध्ययन, अन्वेषण, विश्लेषण र संश्लेषणबाट दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण आदि विषयमा उब्जेका विभिन्न प्रश्नमध्ये आत्मा र प्रकृतिमा प्राथमिक कुन हो ? के ईश्वरले विश्वको सृष्टि गरेको हो या विश्व अनन्तकालेखि नै अस्तित्वमा छ ? या यो सारा विश्व जगत क्रमिक विकासकै चरणबाट गुज्रिरहेको छ ? दार्शनिकहरुले यस प्रश्नको जुन उत्तर दिए, त्यसले उनीहरुलाई आदर्शवाद र भौतिकवादजस्ता दुई ठूला शिविरहरुमा खडा गरिदिएको छ।

यसैमा एउटा प्रश्न – आदर्शवाद भनेको के हो ? आदर्शवाद एक यस्तो दार्शनिक सिद्धान्त, विचार र दृष्टिकोण हो, जसले चेतना, आत्मा, संकल्प, विचार वा ईश्वरलाई प्राथमिक मान्दै त्यसैबाट विश्व, पदार्थ वा प्रकृतिको जन्म भएको हो भन्ने कुरा स्वीकार गर्छ। विचार, आत्मा वा आदर्श जस्तो अभौतिक तत्वलाई प्राथमिक मानेकाले त्यस दर्शनको नाम आदर्शवाद रहन गयो।

आदर्शवादका पनि दुई हाँगा छन्ः वस्तुनिष्ठ आदर्शवाद र व्यक्तिनिष्ठ आदर्शवाद। मानिसको आत्मा वा चेतनाभन्दा बाहिरको कुनै सामान्य आत्मा, चेतना वा ईश्वरको अस्तित्वलाई प्राथमिक मान्नु वस्तुनिष्ठ आदर्शवाद हो। त्यसैगरी जुन दर्शनमा व्यक्तिगत आत्मा, मन, संवेदना, संकल्प, अनुभव, विचार आदिलाई प्राथमिकता दिइन्छ, त्यसको नाम व्यक्तिनिष्ठ आदर्शवाद हो।

यसप्रकारको आदर्शवादको ठिक उल्टो जुन दर्शन र सिद्धान्तमा ईश्वर वा कुनै पनि सृष्टिकर्ताको निषेध गर्दै विश्व जगत अर्थात प्रकृति, पदार्थ वा वस्तुगत संसारलाई प्राथमिक दर्जामा राख्ने र त्यसैबाट चिन्तन र सत्ताको जन्म हुने कुरा कुरा स्वीकार गरिन्छ, त्यसको नाम भौतिकवाद हो। भौतिकवादको आधारभूत सिद्धान्तअनुसार पदार्थहरु हाम्रो आत्मा, चेतना वा ज्ञानभन्दा स्वतन्त्र र बाहिर हुन्छन्।

समग्रमा दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणको क्षेत्रमा सबैभन्दा ठूलो विवादको प्रश्न – भौतिक पदार्थ र चेतनामध्ये कुन प्रधान हो ? जुन दार्शनिकहरुले चेतनालाई प्रधान मान्छन्, उनीहरुलाई आदर्शवादी र जसले पदार्थलाई प्रधान मान्छन्, उनीहरुलाई भौतिकवादी भनिन्छ।

दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणको अर्थ के हो ? समग्रमा विश्वको विकास प्रक्रिया र त्यसका नियमहरुको अध्ययन गर्ने चिन्तन प्रणालीका रुपमा बुझे पनि यसको जवाफ वृहत छ – सारमा चाहिँ विश्व जगतभित्र/बाहिर जे छ, त्यसलाई बुझ्नु दर्शनको अभिभारा हो, त्यो अभिभारा पूरा गर्नु सिद्धान्तको लक्ष्य हो, लक्ष्य जे छ, त्यो नै विचारको आदर्श हो, त्यो आदर्शमा अडिग रहनु दृष्टिकोण हो। समग्रमा मानवीय चिन्तनको सबैभन्दा प्रमुख उद्देश्य भनेको वस्तुगत जगतको सही जानकारी लिनु मात्र होइन, जीवनको आवश्यकताअनुसार वस्तुगत अवस्था वा संसारलाई पनि बदल्नु हो। बदल्नु भनेको प्रत्येक वस्तु गतिशील छ, प्रकृति निरन्तर गतिले भरिएको छ, यो कुरा आत्मसात गरेर सत्यको अनुसन्धान गर्नु र त्यसलाई खुलस्त पार्नु हो। सत्यको स्रोत र आधार कुनै मानिसको विचार वा विवेक होइन, बरु वस्तुगत यथार्थता हो, वास्तविक जीवन हो।

हामी मानिसले आफ्ना ज्ञानेन्द्रीयहरुको मद्दतबाट, अन्य व्यवहारिक क्रियाकलापबाट आवश्यक ज्ञान प्राप्त गर्दछौं। मूलतः व्यवहार नै त्यस्तो प्रस्थान बिन्दु हो, जहाँबाट मानवीय ज्ञानको सुरु हुन्छ र समग्रमा व्यवहार भनेको राजनीतिक, वैचारिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक आदि विभिन्न क्षेत्रमा मानिसको सामान्य व्यवहारिक क्रियाकलाप हो, यसैबाट मानव जीवन चलेको छ।

दर्शन, सिद्धान्त, विचार, दृष्टिकोण र व्यवहारबीचमा घनिष्ट सम्बन्ध हुन्छ, व्यवहारद्घारा दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण निर्देशित हुन्छन् भने ती दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण व्यवहारको क्रममा परिस्कृत, समृद्घ र विकसित हुन्छन्। यो कुरा सुन्दा, बोल्दा वा लेखपढ गर्दा सामान्य वा जटिलजस्तो अनुभूति गरे पनि दर्शन, सिद्धान्त, विचार दृष्टिकोणबाट नै हरेक मानिस निर्देशित हुन्छन्। दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण बिनाको जीवन मासुको डल्लोजस्तै हुन्छ। यो हरेक मानिसका निम्ति अति नै मननयोग्य कुरा मानिन्छ।

समग्र विश्व जगतलाई हेर्ने, जीवन, समाज र चालक नियमहरुको अध्ययन गर्ने, बुझ्ने, व्याख्या गर्ने र बदल्ने विज्ञान एवं पद्घतिका रुपमा विकसित दर्शन कुनै विद्घानको दिमागमा फ्याट्ट उब्जिएर रातारात संसारभरि फैलिएको जादु होइन, पृथ्वीमा मानवजातिको उदयसँगै यसको उत्पत्ति दास युगमा भएको हो र यो क्रमिक रुपमा परिमार्जित, विकसित बन्दै आएको छ। मानव जातिको ऐतिहासिक विकासक्रमको खास कालखण्डमा देखा परेको दार्शनिक विश्वदृष्टिको इतिहासले पच्चीस सय वर्ष नाघिसकेको छ। विशेषतः अठारौं शताब्दीमा वैज्ञानिक क्षेत्रमा ठूला–ठूला आविष्कारहरु भए, दर्शनशास्त्रको क्षेत्रमा हेगेलको द्वन्द्ववाद र फायरवावाखको भौतिकवादको विकास भयो, यी सम्पूर्ण आधारमा मार्क्सवादको उत्पत्ति र विकास भयो ।

दर्शन कल्पना मात्र होइन, समाज विकासको नियममा चल्ने चिन्तन तथा अध्ययन प्रणाली हो। यसका निश्चित नियम हुन्छन्। त्यसबारेमा राम्रो जानकारी नलिइकन दर्शनको सारतत्व बुझ्न सकिँदैन। त्यसैले निम्न कुरामा विशेष ध्यान दिनुपर्दछ। पहिलो कुरा, दर्शनका नियमहरु सार्वभौम चरित्रका हुन्छन्। ती नियमहरु सर्वत्र लागू हुन्छन्। दोस्रो कुरा, दर्शनका आम नियमहरु हुन्छन्। ती नियमहरु आम रुपमा मात्रै लागू हुन्छन्। तेस्रो कुरा, दर्शनका विशिष्ट नियम र मान्यताहरु हुन्छन्। ती विशिष्ट नियम र मान्यताहरु विशिष्ट स्थान र समयमा मात्रै लागू हुन्छन्।

दर्शनको सर्वमान्य र सर्वव्यापी परिभाषा नभए पनि समुच्चय रुपमा सार्वभौम नियम एवं मान्यतायुक्त चिन्तन प्रणालीलाई दर्शन वा वाद भनिन्छ। आम चरित्रका नियम एवं मान्यतायुक्त चिन्तन प्रणालीलाई सिद्धान्त भनिन्छ। विशिष्ट चरित्रका नियम एवं मान्यतायुक्त चिन्तन प्रणालीलाई विचारधारा मात्र मानिन्छ। यसैका आधारमा जीवन र जगतको बारेमा दृष्टिकोण पैदा हुन्छ।

आम रुपमा विश्वको विकास प्रक्रिया र त्यसका नियमहरुको अध्ययन गर्ने चिन्तन प्रणालीलाई दर्शनशास्त्र भनिन्छ। प्रकृतिको नियम, समाज विकासको नियम र मानवजातिले आर्जन गरेको सम्पूर्ण ज्ञानको नियम पालना गरेर हरेक घटना, समय/परिस्थिति, सभ्यता, जनजीवन र विश्व जगतलाई हेर्नु, बुझ्नु, ग्रहण गर्नु र त्यसलाई बदल्नु दर्शनको अन्तरवस्तु मानिन्छ। मार्क्सवाद अहिलसम्मकै सबैभन्दा विकसित र सर्वशक्तिमान वैज्ञानिक दर्शनका रुपमा प्रख्यात छ किनकि यो सत्य छ, यो सम्पूर्ण र सुसंगत छ।

मार्क्सवाद जर्मन दर्शन, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादका रुपमा उन्नाइसौं शताब्दीमा मानवजातिले आर्जन गरेको उत्कृष्ट ज्ञानको वैज्ञानिक उत्तराधिकारी हो, जुन बीसौं शताब्दीमा संसारभरि फैलिएको छ, एक्काइसौं शताब्दीको चमत्कारिक विज्ञान–प्रविधि तथा सञ्चार प्रणालीले मार्क्सवादलाई बदलिँदो समय–परिस्थिति अनुसार अझ उन्नत, विकसित र समृद्घ बनाउन सुनौला सम्भावनाका नयाँ ढोका खोलिदिएको छ।

त्यो बेलाको बेलायत, जर्मन, फ्रन्स लगायत विभिन्न देशको राजनीतिक आन्दोलन, चिन्तक हेगेलको द्वन्द्ववाद, फायरवाखको भौतिकवाद, एडम स्मिथ र डेभिड रिकार्डोको आर्थिक प्रणाली लगायत विभिन्न क्षेत्रको अनुसन्धानबाट सिकेर मार्क्सवाद विकसित भएको हो। विज्ञान र प्रविधिको चामत्कारिक विकासको सन्दर्भमा मार्क्सवाद असान्दर्भिक भइसकेको छ भन्ने तर्क गर्दै पूँजीवादीहरुले जोडतोडले अनेक भ्रम फैलाउँदैछन्। तर वास्तविकता के हो भने वैज्ञानिक दर्शन तथा क्रान्तिकारी दृष्टिकोण र विचारधाराका आधारमा जीवन र समाजका सम्बन्धमा विकसित आधारभूत ज्ञानको सिद्धान्त मार्क्सवाद विज्ञान–प्रविधि र सञ्चार प्रणालीको विकाससँगै अझ उन्नत, व्यापक र वृहत बन्दैछ। यसैमा रोचक कुरा के छ भने आदीम युग, दासयुग, सामन्ती युग, पूँजीवादी युग, समाजवादी युग र साम्यवादी युगको ऐतिहासिक विकासक्रमको विस्तृत सोधखोज, अध्ययन, अनुसन्धान, अन्वेषण, व्याख्या र विश्लेषण गरेर समाज विज्ञान मार्क्सवाद प्रतिपादन गर्ने दार्शनिक कार्लमार्क्स उन्नाइसौं/बीसौं शताब्दीका युगपुरुष र संसारको राजनीतिक क्षितिजमा नअस्ताउने ताराका रुपमा प्रख्यात बनेका छन्। यो मानवजातिकै निम्ति प्रेरणादायी कुरा हो। यसमा संसारभरिका श्रमिकहरुले गर्व गर्नुपर्दछ।

समाज विज्ञानको रुपमा विकसित मार्क्सवाद मानवजातीको क्रान्तिकारी चेतना पुञ्ज हो, जसद्घारा संसार बदल्न सकिन्छ। यो राजनीतिक तर्क होइन, ऐतिहासिक सत्य हो। दर्शनको क्षेत्रमा प्रतिपादित द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, अर्थशास्त्रको क्षेत्रमा अघि सारिएको राजनीतिक अर्थशास्त्र एवं अतिरिक्त मूल्यको सिद्धान्त, त्यसैगरि राजनीतिक र समाज विज्ञानका क्षेत्रमा विकसित वैज्ञानिक समाजवाद र साम्यवाद मार्क्सवादका तीन मुख्य संघटक अंग हुन्। एक मात्र मानव गृह पृथ्वीको विकासक्रम, विभिन्न राष्ट्र र स्वायत्त क्षेत्रहरुमा विभाजित मानव संसार, वर्गमा विभाजित मानवजाति र इतिहासका विभिन्न चरणमा संघर्षबाट विकसित राज्य सत्ता र राजनीतिको बारेमा कार्ल मार्क्सद्घारा अघि सारिएको क्रान्तिकारी विश्व दृष्टिकोण र संसार बदल्ने रणनीतिक लक्ष्य विश्वव्यापी बनेको छ, यो दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणका क्षेत्रमा सबैभन्दा महत्वपूर्ण कुरो हो।

हरेक मानिसले सिक्नु, जान्नु र बुझ्नुपर्ने कुरा धेरै हुन्छन्। ती कुराहरुमध्ये सबैले विशेषः ख्याल राख्नुपर्ने एउटा कुरा छः प्रकृति, मानव जगत, चिन्तन र ज्ञानका प्रक्रियाहरुका आम नियमहरुको व्यवस्थित ज्ञान दिने माध्यम दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण नै हुन्। यदि दिमागमा दर्शन, सिद्धान्त, विचार दृष्टिकोण चम्किएको छैन भने अरु ज्ञान अपूर्ण बन्छन्। यसैकारणले चिन्तनशील मानिसले दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणलाई उच्च महत्व दिन्छन्। सरल रुपमा भन्नुपर्दा दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण जीवन र जगतलाई बुझ्ने बदल्ने माध्यम हुन्, त्यसैभित्र निश्चित युगको उच्चतम बौद्धिक सारतत्व लुकेको हुन्छ। मानिसहरुले त्यसलाई सारा संसार र संसारिक गतिविधिहरु, प्रकृति र प्राकृतिक घटनाहरु तथा समाज र सामाजिक गतिविधिहरु, आदिलाई हेर्ने, अध्ययन, अनुसन्धान गर्ने र बुझ्ने चिन्तन पद्घतिका रुपमा अनि तिनीहरुको बारेमा व्याख्या र विश्लेषण गर्ने तथा रुपान्त्रण गर्ने कार्य प्रणालीका रुपमा प्रयोग गर्नुपर्दछ।

हो, विश्वमा घटेका विभिन्न घटना–परिघटनाहरुको बारेमा कुनै पनि दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण तटस्थ रहेको छैन र रहन सक्दैन। किनभने हरेक दर्शन, सिद्धान्त, विचार दृष्टिकोणले कुनै न कुनै सत्ता, शक्ति र वर्गको विश्वदृष्टिकोण र सामाजिक राजनीतिक चरित्रको पक्षपोषण गर्दछ। त्यसैले दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणमा पक्षधरता अपरिहार्य बन्दछ। दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणको बारेमा कम्युनिस्ट पक्षधरता यथार्थप्रतिको सबैभन्दा गहन र सबैभन्दा क्रान्तिकारी आलोचनात्मक र रचनात्मक दृष्टिकोण हो। त्यसैले यसमा कम्युनिस्टहरुले वर्गीय पक्षधरतामा जोड दिइन्छ।

हो, जसरी द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादले श्रमजीवी वर्गको, विपन्न वर्गको, गरी खाने श्रमजीवी वर्गको पक्षपोषण गर्दछ भने आदर्शवादले सम्पन्न वर्गको, हुनेखाने सम्पन्न वर्गको, बसी खाने शोषक वर्गको पक्षपोषण गर्दछ। त्यसरी नै दर्शन, सिद्धान्त, विचार दृष्टिकोणमा वर्गीय पक्षधरता अपरिहार्य बन्दछ। यति कुरा बुझेपछि दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणको बारेमा उत्पन्न धेरै भ्रमहरुबाट मुक्त भइन्छ।

अब एउटा प्रश्न उठछ – मार्क्सवाद भनेको के हो ? यसका जवाफ धेरै छन्, सारमा प्रकृति जगत र समाजलाई सञ्चालन गर्ने, बदल्ने र विकसित गर्ने नियमहरुको सामान्य ज्ञानलाई नै मार्क्सवाद भनिन्छ। यो कुनै मनचिन्ते कल्पना होइन, वास्तविकता र वस्तुगत तथ्यमा आधारित छ। मार्क्सवाद सही र वैज्ञानिक किन छ भने यो कुनै व्यक्तिको मनोगत चिन्तनको उपज नभएर विज्ञानका सबै शाखाहरुको संश्लेषण गरेर निकालिएको निष्कर्ष हो, त्यसैले यसलाई विज्ञानहरुको पनि विज्ञान मानिन्छ। मार्क्सवाद एक मात्र वैज्ञानिक विश्वदृष्टिकोण र क्रान्तिको अचुक सैद्घान्तिक हतियारका रुपमा चिनिन्छ।

कम्युनिस्टहरुले मार्क्सवादलाई जडसुत्रका रुपमा प्रयोग गर्ने होइन, गतिशील र सिर्जनशील विज्ञानका रुपमा विकसित गर्नुपर्दछ। अध्ययन, अनुसन्धान गरेर यसलाई जीवन र जगत बदल्ने कार्यमा रचनात्मक ढंगले प्रयोग गर्नुपर्दछ, उच्च र उन्नत सोचका साथ मार्क्सवादलाई विकसित गर्न कम्युनिस्टहरु निरन्तर क्रान्तिको मार्गमा अघि बढनुपर्दछ। आफूभन्दा पहिलेका प्रगतिशील चिन्तक, विचारकहरुले अगाडि सारेका असल र उत्तम विचारहरुलाई आत्मसात गरेर विकास गरेको वैज्ञानिक दर्शन मार्क्सवाद आधुनिक युगको सबैभन्दा उन्नत वस्तुवादी सिद्धान्त हो।

कुनै पनि दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणको सत्यता वा असत्यतालाई व्यवहारको दृष्टिबिन्दुबाट हेर्नु र बुझ्नु मार्क्सवादी ज्ञान सिद्धान्तको एउटा विशिष्ट तथा सुसंगत विशेषता हो। अहिले संसारका विभिन्न मुलुकमा मार्क्सवादका नाममा, मार्क्सवादकै बदनाम गराउन गरी गलत अभ्यासहरु पनि भएका छन्। त्यसबारेमा कम्युनिस्टहरु गम्भीर र जिम्मेवार बन्नुपर्दछ।

लेनिनवाद साम्राज्यवाद र सर्वहारावादी क्रान्तिको युगको मार्क्सवाद हो भनिन्छ। तर लेनिनको नेतृत्वमा सोभियत संघमा स्थापना भएको समाजवाद भने ढलेको छ। त्यसबारेमा उठेका विभिन्न राजनीतिक प्रश्नहरुको बारेमा आलोचनात्मक सोचका साथ अचुक जवाफ दिने कुरा निकै महत्वपूर्ण छ। कम्युनिस्टहरुले बिर्सिनै नसकिने एउटा बलवान तर्क के छ भने अवलोकन, परीक्षण र प्रयोगद्घारा एकचोटी सही प्रमाणित कुनै दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण सधैंका लागि सही हुन्छ भन्ने छैन। त्यसैले कसैले कुनै पनि वैज्ञानिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण सर्वकालिक, अकाट्य र अपरिवर्तनीय हुन्छ भनेर दावी गर्न सकिँदैन। त्यसलाई पुनःअवलोकन, पुनर्परीक्षण र नवीन प्रयोगद्घारा पुर्नपुष्टि गर्दै अझ विकसित गर्नुपर्दछ। यो कुरामा कम्युनिष्टहरु लचिलो र सजक नभइकन समाजवाद, साम्यवादलाई विश्वव्यापी फैलाउन गाह्रो हुन्छ।

मार्क्सवादी दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण वैज्ञानिक प्रयोग र वर्गसंघर्षमा मानवीय व्यवहारको निष्कर्ष हो। त्यो निष्कर्षलाई रचनात्मक रुपमा प्रयोग गर्ने क्रममा उत्पन्न हुने नयाँ स्थितिको बारेमा मार्क्सवादीहरुले नयाँ शिराबाट सोच्नुपर्दछ। मार्क्सवादलाई एकातिर संसार बदल्ने विज्ञान भन्ने तर अर्कोतिर त्यसमा परिवर्तन गर्न पाइँदैन, त्रुटिहरु पहिल्याएर परिमार्जन गर्न मिल्दैन, नयाँ कुरा थपेर त्यसलाई विकसित गर्न सकिँदैन भन्ने अनौठो विरोधाभाष कम्युनिस्टहरुमा पाइन्छ र कतिले त मार्क्सवादलाई धर्म, मार्क्सलाई धर्मगुरु जस्तै ठान्छन्। त्यो विचलन र निष्कृष्टताको पराकाष्टा हो, यो कुरामा मार्क्सवादीहरु पूर्ण रुपमा सजक हुनुपर्दछ।

कम्युनिस्टहरु जडसुत्र र अन्य विचलनबाट मुक्त बनेर मार्क्सवादलाई सिर्जनात्मक रुपमा प्रयोग गर्न दृढतापूर्वक अघि बढनुपर्दछ। निश्चित रुपमा नयाँ कुरा, नवीन विचार वा मौलिक प्रणाली जति सबै कठिन परिश्रम र चर्को संघर्षबाट खारिएर मात्र निस्किन्छन्। राज्यसत्ता भनेको एक वर्गद्घारा अर्को वर्गको उत्पीडनको यन्त्र हो, अन्य अधीनस्थ वर्गहरुलाई कुनै एक वर्गको आज्ञापालन गर्न बाध्य तुल्याउने यन्त्र हो। राज्यसत्ता बदल्न अघि बढेका कम्युनिस्टहरु यो कुरामा स्पष्ट हुनुपर्दछ। त्यसमा पनि अझ क्रान्ति भनेको आधाभूत अन्तर्विरोधहरुको निकास हो, पुरानो राज्यसत्ता ध्वशं, नयाँ राज्य सत्ताको विकास हो, यो कुरामा कम्युनिस्टहरु दृढ हुनुपर्दछ।

कुनै पनि दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण मुलतः व्यवहारकै क्रममा जन्मिन्छन् र त्यसलाई व्यवहारद्घारा नै जाँचिन्छ। यो धेरै/थोरै सबैले देखे/भोगेको, जाने/बुझेको, पढे/लेखेको कुरा हो। दर्शन, सिद्धान्त, विचार, दृष्टिकोण र व्यवहारका बीचमा सङ्गति नमिल्दा संसार जगाउने ठूलठूला क्रान्ति प्रतिक्रान्तिमा स्खलित भएका, क्रान्तिको नेतृत्व गर्ने राजनीतिक पार्टी र नेताहरु असफल भएका अनगिन्ती उदाहरणहरु छन्। त्यसबाट कम्युनिस्टहरुले सिक्नुपर्दछ।

हो, क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण अनिवार्य चाहिन्छ। क्रान्तिकारी दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण बिना क्रान्ति सम्पन्न हुन सक्दैन। त्यसैले नेपाल कम्युनिस्ट पार्टीले मार्क्सवाद, लेनिनवादलाई आफ्नो मार्ग दर्शक मानेको छ। पार्टीको नेतृत्व कौशल, संगठनात्मक ढाँचा, पार्टी सञ्चालनको विधि र प्रक्रिया, नेता–कार्यकर्ता र पार्टी सदस्यहरुको अनुशासन, आचरण, कार्यशैली, इमान्दारिता र सिर्जनाशीलताको आधारमा नै जनताको बीचमा सही सिद्धान्तको परिणाम प्राप्त हुन्छ। यो कुरामा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व पंक्ति दृढ हुनुपर्दछ।

कुनै पनि राजनीतिक, आर्थिक, साँस्कृतिक एवं सामाजिक घटना/परिघटना, विषयवस्तु, समस्या, चुनौती र सम्भावनाहरुमाथि सुझबुझपूर्ण, तर्क सङ्गत, लोकतान्त्रिक र वैज्ञानिक चरणहरु पूरा गरेपछि मात्रै सही निष्कर्ष निकाल्न सकिन्छ। यो कुरामा पनि नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व पंक्ति स्पष्ट हुनुपर्दछ। त्यसैगरि समाजमा विद्यमान आम श्रमजीवी जनताका समस्यासँग जोडिएको र ती समस्या समाधानका लागि मार्गदर्शन गर्न सक्ने दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण नै सही र वैज्ञानिक मानिन्छन्।

तर, यसैमा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व पंक्तिले विशेष ध्यान दिनुपर्ने कुरा के छ भने अहिले हाम्रा दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण जतिसुकै राम्रो भए पनि नेता–कार्यकर्ता र पार्टी सदस्यहरुको आचरण बिग्रेको छ। दर्शन, सिद्धान्त, विचार, दृष्टिकोण र व्यवहारबिच कुनै तालमेल छैन। कुनै पनि नेता, कार्यकर्ता र पार्टी सदस्य दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणमा कति परिपक्व छन् भन्ने कुराको जाँच उनको आचरण र संस्कारमा हुन्छ। यो कुरा सबैलाई थाहा छ। तर, व्यवहारमा लागू हुन सकेको छैन।

हो, कुनै पनि वैज्ञानिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण अपनाउनुको अर्थ त्यसलाई व्यवहारमा रुपान्तरण गर्नु हो। नेता, कार्यकर्ता र पार्टी सदस्यले आफूले अपनाएको दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण व्यवहारमा रुपान्तरण गर्न सकिएन भने ती सबै कुरा दस्तावेजका पाना र नेता, कार्यकर्ता र पार्टी सदस्यहरुको भाषण र कोरा आदर्शमा मात्र सिमीत हुन्छन्।

कुनै पनि मानिस सफल हुन्छ या असफल बन्छ, त्यो अन्य कुराले भन्दा मूलतः दृष्टिकोणले नै निर्धारण गर्दछ। ‘दृष्टिकोण’ दुई आँखाले नदेख्ने तेस्रो दृष्टि हो, जसले दिमागभित्रै सजीव मार्गचित्र कोरिदिन्छ। यो कुरामा नेपाल कम्युनिस्ट पार्टीका सबै नेता, कार्यकर्ता र पार्टी सदस्यहरु स्पष्ट हुनुपर्दछ।

विभिन्न बाहाना पारेर भ्रम फैलाउने, अनेक प्रपञ्च रचेर गलत कुरालाई सही सावित गर्न खोज्ने गलत चिन्तन अति नै भ्रमपूर्ण हुन्छ। त्यस्ता गलत चिन्तनबाट मुक्त नभई कम्युनिस्ट बन्न सकिँदैन। वर्गीय दृष्टिकोणमा मित्र वर्गप्रति दुश्मन, जातीय दृष्टिकोणमा अर्को जात दुश्मन, क्षेत्रीय दृष्टिकोणमा अर्को क्षेत्रका बासिन्दा दुश्मन, धार्मिक दृष्टिकोणमा अर्को धर्म मान्ने दुश्मन, साँस्कृतिक दृष्टिकोणमा अर्को संस्कृतिका अनुयायी दुश्मन, लैङ्गिक दृष्टिकोणमा अर्को लैङ्गिक समूहलाई दुश्मन देख्ने अतिवादी चिन्तन अति नै आत्मघाती हुन्छ। त्यस्तो चिन्तन कम्युनिस्टहरुले स्वीकार्न सकिँदैन।

अन्तर्राष्ट्रिय सोच, उच्च आदर्श र महान लक्ष्य आत्मसात गरेर संसार बदल्न अघि बढेका कम्युनिष्टहरु विचार र चिन्तनको क्षेत्रमा हुने प्रतिस्पर्धामा व्यवहारिक रुपमा समेत आफ्नो श्रेष्ठता सावित गर्न तथा राष्ट्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेर नेपाली धर्तिमा समाजवाद स्थापना गर्न चुक्नु हुँदैन। संसारलाई बुझ्ने, व्याख्या गर्ने र बदल्ने विश्व–दृष्टिकोण मार्क्सवाद आजसम्मको सबैभन्दा वैज्ञानिक र अग्रगामी चिन्तन हो। यसैमा अझ रोचक र खोजमूलक कुरा के छ भने मार्क्सवाद नै संसारलाई हेर्ने वस्तुवादी, प्रमाणिक र सत्य विश्व–दृष्टिकोण रहेको यथार्थतालाई अन्य पूँजीवादी चिन्तकहरुले पनि अस्वीकार गर्न सकेका छैनन्।

(नेकपा (माओवादी केन्द्र) का युवा नेता कृष्ण केसीको पुस्तक ‘जनता’बाट लिइएको सामग्री–सम्पादक।) 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै