काँग्रेसको कार्यसमिति बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिका आउँला त ?
काठमाडौं। बिहीबारदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक जारी छ। आज दिउँसो २ बजे बन्ने बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने केन्द्रीय सदस्य किरण गिरीले बताए।
गिरीका अनुसार आजको बैठकले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्न सक्ने सम्भावना छ। यद्यपि बैठकमा कार्यतालिका पेस भएको छैन। भदौ १६–१९ का लागि निर्धारित १४ औं महाधिवेशन सार्ने सम्बन्धमा काँग्रेसभित्र मतभेद छ। विहीबार र शुक्रबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूमा दुई खाले मत विभाजन देखिएको छ।
संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ। संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेर महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने नयाँ कार्यतालिका ल्याउनुपर्ने राय राखेका छन्। तर, इत्तर पक्षले भने भदौ २३ बाट महाधिवेशन प्रक्रिया आरम्भ गरी दसैँअघि नै सम्पन्न गर्नेगरी नयाँ कार्यतालिका ल्याउन भनेको छ।
बैठकमा आउने रायलाई समेटेर नयाँ कार्यतालिका ल्याउने महामन्त्री पूर्णबहादुर खड्काले बताए। काँग्रेस नेताहरुका अनुसार भदौमा वडा अधिवेशन गरेर मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका आउने सम्भावना छ।