सरकारलाई सफल बनाउनेतर्फ केन्द्रित हुन प्रचण्डको यस्तो छ निर्देशन
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने सम्भावना नरहेको बताएका छन्। शुक्रबार पार्टी कार्यायल पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले अझै केही दिन मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने सम्भावना नरहेको बताएका हुन्।
शनिबारदेखि सुरु हुने पार्टी केन्द्रीय समिति बैठकको तयारीस्वरूप बसेको स्थायी कमिटी बैठकमा नेताहरूले उक्त विषय उठाएपछि प्रचण्डले विभिन्न पार्टीभित्र आन्तरिक समस्या रहेको र मुख्य गरी नेकपा एमालेको माधव नेपाल समूहलाई पर्खिरहेका कारण मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्न नसकेको बताएका थिए।
‘मन्त्रिपषिद् विस्तार गर्नुपर्छ भनेर त लागेकै छौं, तर तत्काल अघि बढ्ने सम्भावना देखिँदैन,’ बैठकमा प्रचण्डले भने, ‘पार्टीहरूका आन्तरिक समस्या पनि छन्, साथै माधव कमरेडहरूलाई पनि केही दिन पर्खिने कि भन्ने जस्तो छ। ठोस केही बनिसकेको छैन।’ प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान पनि गरेका छन्।
सरकारलाई सफल बनाउनका लागि अबको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष प्रचण्डले निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘यो चार महिनाको अवधिमा राजनीतिक रूपमा बाम-लोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरु सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्तिविरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढन अध्यक्ष कमरेडले निर्देशन दिनु भएको छ,’ उनले भने।
नयाँ सरकार गठन भएको एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्न सकेको छैन। अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवासँगै अन्य चार मन्त्री र एकजना राज्यमन्त्री मात्रै नियुक्त भएका छन्। गठबन्धन सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना सुरु भएको छ।
साथै माओवादी केन्द्रको शनिबार बस्ने स्थायी कमिटी बैठकमा विधान संशोधनको प्रस्तावलाई पेस गरिने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। शुक्रबार बसेको स्थायी कमिटीलाई शनिबारको केन्द्रीय समितिको तयारीका लागि डाकिएको भनिए पनि अध्यक्ष प्रचण्डले दस्ताबेज लेखनको काम नसकिएको जानकारी गराएका थिए। यद्यपि शनिबार बिहानसम्म उक्त काम सकिने र बैठकमा प्रस्तुत हुने जानकारी प्रचण्डले बैठकमा दिएका छन्।