संजय सहनीको निर्देशनमा पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा लागूऔषध राख्यो – सबुत सार्वजनिक
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सहसचिव संजय सहनीको निर्देशनमा रौतहटका पत्रकार मोजिबुल्लाह र शेख अतिउल्लाहलाई फसाउनका लागि उनको मोटरसाइकलमा लागूऔषध राख्न लगाइएको सबुत सार्वजनिक भएको छ ।
निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने नेपाल प्रहरीका दुई घुमुवालाई निलम्बन पनि गरिएको छ ।प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
गत साउन ३२ गते मोटरसाइकलमा राखिएको लागूऔषध नाइट्राभेट १०५ ट्याब्लेटसहित पत्रकारद्वय मोजिबुल्लाह र शेखलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनीहरु दुईजना निर्दोष पाइएको प्रहरीले जनाएको छ।
एसपी सिद्धिविक्रम शाहका अनुसार मोजिबुल्लाह र शेखलाई फसाउन नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सहसचिव संजय सहनीको निर्देशन उक्त थियो।
लागूऔषध राख्न सहनीले रौतहट माधवनारायण नगरपालिका-१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका-१ बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादवलाई प्रयोग गरेको पाइएको एसपी शाहले जानकारी दिए ।