कतारमा ८० प्रतिशतभन्दा धेरैले लगाए कोरोनाविरूद्धको पहिलो डोज खोप
दोहा । नेपाली श्रमिकको प्रमुख गन्तव्य मध्येको एक कतारमा कुल जनसंख्याको ८० प्रतिशतभन्दा धेरैले कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएका छन् ।
सबैभन्दा धेरै पहिलो डोज खोप वितरण गर्ने मुलुकमा कतार विश्वकै दोस्रो हो भने दुबै डोज खोप वितरण गर्ने पाँचौ देश बनेको छ ।
कतारको स्वास्थ्य मन्त्रालयका अनुसार कुल जनसंख्याको ८०.१ प्रतिशतले कम्तीमा पहिलो डोज खोप प्राप्त गरेका छन् भने ६९.९ प्रतिशत मानिसले खोपको दुबै मात्र डोज प्राप्त गरिसकेको जनाएको छ । अहिलेसम्म ४२ लाख ६८ हजार २५५ डोज खोप वितरण गरिसकेको मन्त्रालयले जनाएको छ ।
खोप अभियान तीब्र पारिएसँगै यहाँ संक्रमण हुनेको संख्यामा पनि कमी आएको छ । कतारमा पछिल्लो २४ घण्टामा २८९ जनामा मात्र नयाँ संक्रमण भेटिएको छ । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३१ हजार १२६ पुगेको मन्त्रालयले जनाएको छ ।
यसअवधिमा २११ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसंगै कोरोनाबाट निको हुनेको संख्या २ लाख २७ हजार ६५६ पुगेको छ । संक्रमणबाट अहिलेसम्म ६०१ जनाको मृत्यु भएको छ । यहाँ पछिल्लो एक महिनायता मृत्युदर शुन्य रहेको छ ।