धार्मिक स्थलमाथि राजनीति गर्नु कतिको उचित

अजमल अन्सारी
सुनसरी। विश्वमा रहेको कब्रिस्तान, ईदगाह, जामा मश्जिद जस्ता धार्मिक स्थल कुनै व्यक्ति,समितिको वा समितिमा रहेका सदस्यहरुको पेवा होईन् नकुनै राजनीतिक दलका कुनै व्यक्तिको नीजि सम्पत्ति हो।
धार्मिक आस्थासंग जोडिएका स्थल विश्वमा रहेको कब्रिस्तान, ईदगाह र जामा मस्जिद आदिको संरक्षण गर्नु सम्पूर्ण मुस्लिम समुदायको कर्तव्य र सरोकारको विषय हो । यस कारण कसैले यो वा त्यो बहाना हस्तक्षेप र समुदायको मन्जूरी बिना त्यहां कुनै कार्य गर्न पाउने छैन् । जबकि समुदायकै दानका भरमा यी धार्मिक स्थलहरु चलिरहेछन् । तथापि बिसौं वर्ष देखि बाके जिल्लाको नेपालगंजमा रहेको कब्रिस्तान, ईदगाह र जामा मश्जिदको कुनै आर्थिक लेखाजोखा समुदाय माझ सार्वजनिक गरिएको छैन् । र अहिले आएर केहि सिमित व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्नको लागि धार्मिक स्थलमाथि राजनीति गर्न थालेका छन्।
कब्रिस्तान, ईदगाह र मश्जिद जस्ता धार्मिक स्थलको सार्वजनिक लेखापरिक्षण र सार्वजनिक सुनुवाई गरी सम्पूर्ण आर्थिक हिसाब किताब लेनदेन, सम्पत्ति , धितो, ऋण भुक्तानी पाउनु पर्ने रकम कति छन्। ती सबैका बारेमा जानकारी गराउन स्थानीयबासीको माग रहेको छ। बेलाबेला कब्रिस्तानमा माटो पटान समुदायले गर्दै आएको छ , कब्रिस्तानमा हिड्ने पक्की बाटो वडा कार्यालयले बनाएको छ र जस्तापाताको काम पुर्व मन्त्री माननीय मोहम्मद इस्तियाक राईले गर्नुभएको छ। आखिर आउने जति रकम खर्च कहां गरिन्छ? कति कर्मचारीहरु छन् र तिनलाई के कति तलब दिईन्छ ? कब्र खुदाईका लागि कसले भुक्तानी गर्छ र कति रकम भुक्तानी गर्छ त्यसको रसिद कहाँ हुन्छ ? कब्रिस्तानमा सटर बनाउनुको कारण के छ ? हाल सम्म उठ्दै आएको चन्दा, दान र कब्र खुदाईबाट आउने रकम कसलाई अपुग छ कब्रिस्तानमा रहेका कब्र खोद्ने व्यक्ति, मृतकको आफन्त वा समिति ? यस विषयमा सम्बन्धित सरोकार राख्नेहरु मार्फत यथास्रीघ पारदर्शिताका साथ साझा गराउन स्थानीयबासीले माग गरेका छन्।
यसका साथै नेपालगंज जस्तो बाक्लो मुस्लिम बसोबास रहेको ठाँउमा रहेको एक मात्र कब्रिस्तान हो । जुनकि जनघनत्वको हिसाबले हेर्दा सानो रहेको सर्वविदित नै छ । त्यही सानो कब्रिस्तानलाई झन् सानो पार्दै पसलको लागि सटर निर्माण गर्न कब्रिस्तानमा दफन रहेको कुन चाहिं मृतकले कसलाई खबर गरेको थियो । जुनकि समुदायको बिना मन्जुरी कब्रमाथि सटर निमार्ण गर्न कब्र नै खनिएका छन् । खनिएका कब्रमा मृतकका हाड र कफन (कात्रो) समेत निस्केको स्थानीय दर्शीहरुको भनाई रहेको छ।
“जबकि शरीयते इस्लामले भन्छ कब्रमाथि कब्र बनाउन सकिन्छ तर कब्रमाथि कुनै पनि भौतिक निर्माण गर्नु , जुत्ता चप्पल लगाएर हिड्नु जस्ता कार्य शरीयते इस्लामको विरुद्ध कार्य हो।” जब सटर निर्माण हुन्छ त्यो नै शरीयतको विरुद्ध कार्य हो अझ् निर्माण गरिएका सटरमा बस्नेहरु साहु र आउने ग्राहक जुत्ता चप्पल लगाएर उभिन्छन् हिड्छन् भने त्यो महापाप हुनजान्छ ।नजानेर कुनै कब्रमाथि हिड्नु वा उभिनु बेग्लै कुरा हो तर कब्र रहेका ठांउमा जानी जानी भवन निर्माण गरी जुत्ता चप्पल लगाएर उभिनु धार्मिक हिसाबले अल्लाहको नजिक क्षम्य हुदैंन् ।
धर्ममाथि राजनीति गरेको त सुनिएको थियो तर कब्रिस्तान जस्ता धार्मिक स्थल माथि नै राजनीति गर्नु कतिको उचित होला? मैले कसैको समर्थन र विरोध गरेको होईन् आफुपनि मुस्लिम समुदायको जिम्मेवार व्यक्ति र देशको जिम्मेवार नागरिकको हैसियतले जायज कुरा मात्र गरेको हुँ । किनभने यो मेरोपनि सरोकारको विषय हो र म मरेपछि जाने अन्तिम र स्थायी ठेगाना कब्रिस्तान नै हो ।
यदि तपाईको पनि सरोकारको विषय हो भने अवश्य आवाज उठाउनुहोस् ।
कब्रिस्तानमा पसल र सटर र त्यसबाट हुने आम्दनीको आवश्यकता नै छैन् किनभने त्यहां कुनै खाले मेन्टेनेंस गर्नु आवश्यक पर्दैन् कि बढी रकम खर्चको समस्या होस् । कहिले काहिँ माटो पटान, वजुखाना र बिग्रेका बल्बहरु फेर्नु पर्ने हुन्छ । जुनकी समुदायले पहिला देखि आफै गर्दै आइरहेको छ ।
अनि पहिला जुन उद्देश्यले करिब ६२ सटर बनाइए त्यो उद्देश्य पुरा नभएको सर्वसाधारणको भनाइ छ । जुनकी हाल भाडामा छन् तर वर्षौं देखि भाडा उठाइएको छैन् । ती बिनाभाडामा रहेका सटरले खाली कब्रिस्तानको जग्गा मात्र ओगटेको छ । जसको फलस्वरुप कब्रिस्तान साघुरों भएको छ । यस कारण सबै पसल सटर भत्काएर कब्रिस्तानको जग्गा फराकिलो बनाउन तर्फ लाग्नुपर्छ । न पसल सटर हुन्छ न हिसाब किताब दिनुपर्छ न त्यसको कारण कुनै लफडा झगडा हुन्छ । सबै सटरै हटाइदिए हुन्छ खाली जमिन रहन दिनुपर्छ जसरी हरेक कब्रिस्तानमा रहेको हुन्छ । उदाहरणका लागि जन्नतुल बकीलाई हेर्न सक्छौं त्यहां कुनै पसल छैन् कब्रिस्तानमा ।