सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

चार महिनापछि खुल्यो काँकडभिट्टा नाका

 १५ भाद्र २०७८, मंगलवार  

झापा। चार महिनापछि पूर्वी नाका काँकडभिट्टामा भारतीय नागरिकको आवतजावत खुकुलो बनाइएको छ।

सोमबारदेखि भारतीय नागरिकलाई खोप कार्ड वा पीसीआर नेगेटिभ रिपोर्टका आधारमा नेपाल प्रवेश गर्न अनुमति दिइएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आवश्यकता र औचित्यका आधारमा आजदेखि कोरोना विरुद्धको खोप लगाएको कार्ड र पीसीआर नेगेटिभ रिपोर्ट भएका भारतीय नागरिकलाई नेपाल आउन दिइएको बताए।

‘केन्द्रबाट लिखित अनुमति आउन बाँकी छ,’ प्रजिअ तिम्सिनाले भने। यसअघि काँकडभिट्टा नाकामा भारतीयलगायत विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको थियो। सीमावर्ती क्षेत्रका आँखा अस्पतालमा उपचारका लागि मात्र भारतीयलाई आउन दिइएको थियो।

लामो समय नाका बन्द हुँदा व्यापार व्यवसायमा गम्भीर असर परेको भन्दै केही दिनदेखि मेची उद्योग वाणिज्य सङ्घ र होटल व्यवसायी सङ्घले नाका खुलाउन माग गर्दै आएको थियो। व्यवसायीले आइतबार सत्तारुढ नेपाली कांग्रेस पार्टीका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भेटेर नाका खुलाउन पहल गरिदिन भन्दै ज्ञापन पत्र बुझाएका थिए।

काँकडभिट्टा नाका प्रयोग गरेर भारत जाने नेपालीलाई भने पिसिआर नेगेटिभ रिपार्ट र कोरोनाविरूद्धको खोप कार्डका आधारमा पहिल्यैदेखि अनुमति दिँदै आएको थियो। भारतको पश्चिम बङ्गालको सिलिगुढीमा उपचारका लागि र बागडुग्रा विमानस्थल जानका लागि नेपालीले सहज अनुमति पाउँदै आएका थिए।

झापाको काँकडभिट्टाबाहेक अरु नाकाबाट भने आवतजावतमा अझै रोक लगाइएको छ। भद्रपुर, गौरीगञ्ज, कुञ्जिबारी, टाघनडुब्बा र केचना नाका बन्द अवस्थामा रहेको छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै