बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

क्रान्तिको व्याख्या भित्र समाजवादी र कम्युनिस्ट

 १६ भाद्र २०७८, बुधबार  

सर्वविदित छ, लेनिन मार्क्सवादलाई सिद्धान्तबाट जीवन व्यवहारमा ओराल्ने पहिलो नेता र त्यसका व्यवहारिक पक्ष र कठिनाइ बारे व्याख्या गर्ने पहिलो व्यक्ति हुन्। अक्टोबर क्रान्ति सम्पन्न भरसकेपछि गठित तेस्रो कम्युनिष्ट इन्टर नेशनलनको पहिलो बैठकमा लेनिनले भन्नु भएको थियो, ‘…हाम्रो क्रान्तिमा हामीले सिद्धान्त भन्दा व्यवहारको बाटो अपनायौं। त्यसकारण रुसको समाजवाद अन्य देशहरूका लागि यान्त्रिक अनुसरणको विषय हुनु हुन्न। बल्की प्रत्येक देशले आफ्ना देशको विशिष्ट अवस्थामा आफ्नो बाटो खोज्नु पर्छ।’ (सम्मेलनको दस्ता वेज)। अर्को ठाउँमा लेनिन भन्नुहुन्छ, ‘समाजवादी क्रान्तिलाई कुनै एउटा निश्चित फाँटमा लडिने वा कुनै एउटा मोर्चामा लडिने एउटा लडाइको रूपमा मात्र लिनुहुँदैन। यो क्रान्ति चौतर्फी वर्गसंघर्ष, सम्पूर्ण सामाजिक विसंगति, सम्पूर्ण राजनैतिक आर्थिक अवस्थाविरुद्ध, नयाँ आर्थिक-सामाजिक सम्बन्ध स्थापित गर्न लडिने संघर्ष हो।’ ‘लामो समयदेखि समाधान खोजिरहेका आर्थिक, सामाजिक, राजनैतिक प्रश्नहरूले सामाजिक संरचनाको पुनर्गठनको माग गर्छन्। यी प्रश्नहरूको समाधान तथा द्वन्द्व उत्पन्न गर्ने सम्पूर्ण आर्थिक, राजनैतिक, सामाजिक सम्बन्धहरूको आधारहरूलाई समष्टिगतरूपमा समाप्त गर्नु नै समाजवादी क्रान्ति हो।’ (उही)

समाजवादी क्रान्ति, सारभूतरूपमा नै विगतमा मानव समाजमा भएका यावत क्रान्तिकारी परिवर्तनहरू भन्दा भित्र चरित्रको सामाजिक क्रान्ति हो। यसको लक्ष्य शोषणयुक्त पूँजीवादी सामाजिक-आर्थिक संरचनाको पूर्णनिषेध गर्दै वर्गीय शोषणविहीन समाजवादी आर्थिक सामाजिक संरचनामा समाजलाई संक्रमण गराउनु हो। विगतका क्रान्तिहरूले वर्गीय शोषणका रूप मात्र फेरेका थिए, वर्गीय शोषणको मूल आधार सामाजिक उत्पादन प्रणाली होइन। यसबाट शोषणका रूप र त्यसको सघनतामा हेरफेर त गरेको थियो। तर त्यसको आधार समाप्त गर्न सकेको थिएन। समाजवादी क्रान्ति वर्गीय विभाजन र वर्गीय शोषणको आधार नै समाप्त गरी समाजलाई वर्ग र वर्गीय शोषण विहीन नयाँ अवस्थामा संक्रमण गराउने क्रान्ति हो। समाजवाद मानव समाज र त्यसका विकासको क्रमिकतामा नयाँ सारसहितको नितान्त नयाँ चरण हो। त्यसकारण यस क्रान्तिका कार्यभार, विगतका यावत क्रान्तिहरूको सापेक्ष अतुलनीय रूपले भित्र चरित्रका र अत्यन्त जटिल, बहुआयामिक, बहुपक्षीय अन्तरद्वन्द्व युक्त चरित्रका हुन्छन् र आम रूपमा यस क्रान्तिका मुख्य संवाहक शक्ति, वर्गीय रूपमा हेर्दा, आम मजदुर वर्ग, गाउँका गरिब श्रमजीवी किसान, शहरिया श्रमिक जमात, आम शोषित पीडित र दलित तथा सीमान्तकृत वर्ग र तपका र राजनैतिक रूपमा कम्युनिष्ट र आमूल परिवर्तनकारी क्रान्तिकारी जनतान्त्रिक बौद्धिक तपका र तिनको संयुक्त मोर्चा हुने गर्छ।

श्रमजीवी वर्गले सत्ता प्राप्त गर्नु नै समाजवादी क्रान्तिको पूर्णता होइन। बल्की यो समाज परिवर्तनको प्रारम्भिक खुड्किलो मात्र हो। अगाडिको चरण श्रमजीवी वर्गको राज्यसत्ताले समाजवाद निर्माणको सामाजिक, आर्थिक वैचारिक र सांस्कृतिक रूपान्तरण थालेपछि सुरु हुन्छ। यस प्रक्रियामा श्रमिक वर्गीय राज्यसत्ताले विगत क्रान्तिहरूको जस्तो पुराना र मक्किएका संरचनाहरूलाई परिवर्तन मात्र गर्दैन बल्की तिनको ठाउँमा विगत संरचनाहरू भन्दा चरित्रगतरूपमा नै भित्र सामूहिक स्वामित्व र सामूहिक उपभोगका नयाँ संरचनाको निर्माण गर्दछ छ। नयाँ सामाजिक-आर्थिक संरचना निर्माणको सफल कार्यान्वयन, जस अन्तरगत उत्पादनका साधन स्रोतमाथि सामूहिक स्वामित्व कायम गर्नु पहिलो सर्त हो। तद्अनुरूप समाजको सांस्कृतिक, राजनैतिक, वैचारिक पक्षमा परिवर्तन गर्नु क्रान्तिको सम्पन्नता हो। परिवर्तनको यो लामो प्रक्रिया नै क्रान्तिको निरन्तरता हो।

पूँजीवादी क्रान्ति र समाजवादी क्रान्तिका बीचको आधारभूत भिन्नता के हो भने सामन्ती व्यवस्थाको गर्भबाट जन्मिने पूँजीवादका आर्थिक आधारहरू सामन्तवादी संरचनाको गर्भमा नै जन्मी सकेका र एउटा निश्चित स्तरसम्म विकसित भइसकेका हुन्छन्। उत्पादनका साधनमाथि निजी स्वामित्वको परिपाटी यथावत् रहने हुँदा सामन्ती आर्थिक-सामाजिक संरचनाका त्यस्ता पक्ष जो पूँजीवादी संरचनाको तीव्र विकासमा बाधक हुन्छन् ती क्रमिकरूपमा निषेधित हुँदै जान्छन् र पूँजीवादी संरचनाका विविध पक्ष क्रमिकरूपमा विकसित हुँदै जान्छन्। यस अर्थमा पूँजीवादी क्रान्तिको एक मात्र प्रमुख काम हुन्छ सामन्ती व्यवस्थाका त्यस्ता सम्पूर्ण अवशेष र प्रतिरोधी व्यवधानहरूलाई समाप्त गरी पूँजीवादी विकासको लागि अगाडिको बाटो फराकिलो गर्दै पूँजीवादी विकासको गतिलाई तीव्रता दिनु। तर, समाजवादी क्रान्तिको हकमा त्यो अवस्था रहँदैन। भौतिक पूर्वाधार निर्माणको पक्षबाट भन्नु पर्दा समाजवादका पूर्वाधारहरू, अर्थात् औद्योगिक र तकनिकी विकासको स्तर, शिक्षा तथा वैज्ञानिक विकास आदिको विकास पूँजीवाद कै गर्भबाट हुने भए पनि सामान्यतया समाजवादी आर्थिक संरचनाका पूर्वाधार पूँजीवादी आर्थिक संरचना भित्र जन्मिदैनन् र फष्टाउन सक्दैनन्। ती समाजवादी क्रान्तिले सम्पन्न गर्ने काम हुन्। ऐतिहासिक अवस्था विशेष र विशिष्ट संक्रमणकालीन अवस्था विशेषमा कुनै-कुनै ठाउँमा अपनाइने मिश्रित अर्थतन्त्रको परिपाटीमा यो हुन पनि सक्छ तर त्यो आम प्रवृत्ति होइन। जस्तो हाम्रै देशमा हेरौं, हामी कहाँ समाजवादी शिविर, विशेषगरि सोभियत संघ र चीनको सहयोगमा राज्यको स्वामित्व तथा सामूहिक स्वामित्व रहने गरी चीनी कारखाना, कृषि औजार कारखाना, कपडा तथा कागज उद्योग आखि र जल विद्युत् तथा यातायातका पूर्वाधारको निर्माण गरियो तथा आपूर्ति र वितरण प्रणालीको क्षेत्रमा केही निगम, संस्थान खोलिए। ती समाजवादी संरचनाका इकाई थिए। तर, पछिका पूँजीवाद परस्त सरकारहरू र पूँजीवादीहरूको संयुक्त प्रयासमा ती सबै संस्थान तथा कलकारखानहरू समाप्त गरिए र आज पनि आयल निगम, वायुसेवा निगम, साल्ट ट्रेडिंग आदि जस्ता सरकारी तथा सामूहिक स्वामित्वका संस्थाहरूलाई जसरी पनि समाप्त गर्ने प्रयास भइरहेका दृष्टान्त आँखासामु छन्।

समाजवादी क्रान्ति जुनसुकै रूपमा सम्पन्न भए पनि साररूपमा त्यसको अगाडि सधैं दुइटा कठिन काम हुन्छन्ः पहिलो- पूँजीवादी संरचनाका आर्थिक, सामाजिक र राजनैतिक संरचनाहरूलाई समाप्त गरी त्यसको ठाउँमा सामूहिक स्वामित्वको परिपाटी स्थापित गर्नु, जुन हाम्रो जस्तो देश र आजको अवस्थामा त्यति सहज हुँदैन। दोस्रो- जगैदेखि नै नयाँ सामाजिक-आर्थिक संरचनाको निर्माण गर्नु। अर्थात्, सामूहिक स्वामित्वको परिपाटी कायम गर्नु। यसक्रममा पुराना शासक वर्गहरूबाट हुने प्रतिरोध समाप्त गरी नयाँ आर्थिक-सामाजिक संरचनाको आधार निर्माण गर्ने काम जटिल काम हो। नवनिर्माणको यस्तो संक्रमणकालीन चरण नै त्यो चरण पनि हो जहाँ कहिलेकहीँ क्रान्तिका सहयात्रीहरू समेत प्रतिक्रान्तिकारीहरूको रूपमा अगाडि आउने गर्छ र प्रतिक्रान्तिको खतरा रहन्छ।

केहीले अहिले पनि समाजवादी क्रान्तिका लागि निरपेक्षरूपमा सशस्त्र मारकाट वा विप्लव वा जनयुद्ध जस्तो एक मात्र बाटो मान्ने गरेका छन्। यो गलत चिन्तन मात्र होइन मार्क्स र लेनिनका भनाइको विकृतिकरण पनि ह। एक मात्र सत्य के हो भने लाखौंलाख शोषित पीडित जनताको सक्रिय सहभागिता विना नत समाजवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ न त्यसको संरक्षण नै। निश्चित हो, समाजवादी क्रान्ति सम्पन्न गर्न संगठित जनशक्ति अपरिहार्य आवश्यकता हो, तर, त्यस संगठिक शक्तिका स्वरुप विभिन्न हुन सक्छन् र क्रान्तिका रूप र अवस्था अनेक हुन सक्छन्। यथार्थ सत्य के हो भने समाजवादी क्रान्ति सम्पन्न गर्ने प्रमुख शक्ति शोषित पीडित आम श्रमिक वर्गको सचेत संगठित शक्ति हो। समष्टिमा के भन्न सकिन्छ भने सामाजिक संरचनाहरूको विगत चरित्र समाप्त गर्न संगठित शक्ति चाहिन्छ र त्यस शक्तिको रूप वस्तुगत अवस्थाले स्वयम निर्धारित गर्छ। विगतमा पनि सामाजिक क्रान्ति भएका हुन्। तर, श्रमजीवी वर्गले सम्पन्न गर्ने नयाँ सामाजिक क्रान्तिले विगत हजारौं वर्षदेखि चल्दै आएको वर्गीय शासन व्यवस्था, वर्गीय शोषण र समाजको वर्गीय स्वरूपलाई नै समाप्त गरी वर्ग र वर्गीय शोषणविहीन नयाँ समाजको निर्माण गर्ने भएकोले यो सामाजिक क्रान्तिको विशिष्ट र सर्वोच्च रूप हो यसका आफ्नै विशिष्टता छन्। सामाजिक क्रान्ति सम्पन्न गर्नु, त्यसको संरक्षण र समाजवादको निर्माण गर्नु त्यति सजिलो काम होइन। यो विगतका अनुभवले देखाएको छ।

मार्क्सले पेरिकम्युनभन्दा पहिले पूँजीवादी आर्थिक-सामाजिक प्रणालीबाट सोझै राज्यसत्ताविहीन साम्यवादी व्यवस्थामा संक्रमणको अवधारणा अधि सारेका थिए। तर, पेरिस कम्यूनको पराजयको घटनाबाट मार्क्स हजारौं वर्ष पुरानो वर्गीय समाजलाई पूँजीवादबाट सोझै एउटै झट्कामा साम्यवादमा संक्रमण गराउन सकिँदैन भन्ने निष्कर्षमा पुग्नु भयो र यसका लागि संक्रमण कालीन चरणमा सर्वहारा वर्गको राज्यसत्ताको आवश्यकता पर्ने निष्कर्षमा पुग्नुभयो। लेनिनले यस चरणलाई ‘साम्यवादको प्रथम चरण’ अर्थात् समाजवादी चरण र सर्वहाराको त्यस्तो राज्यसत्तालाई ‘सर्वहारा अधिनायकत्व’ भनी परिभाषित गर्नुभयो। साम्यवादमा संक्रमण पूर्वको यस संक्रमणकालीन चरणका लागि समाजवादी राज्यसत्ताको आवश्यकता महसुस गरिएको हो, जहाँ मजदुर वर्गको राज्यसत्ता कायम रहन्छ र त्यसले साम्यवादमा संक्रमणका पूर्वाधार निर्माण गर्छ।

समाजवादी क्रान्ति कुनै अमूर्त (Abstract) कुरा नभै ठोस ऐतिहासिक यथार्थ हो। यसका रूप समय र अवस्था सापेक्ष तथा देश विशेषको वस्तुस्थिति तथा अन्तर्राष्ट्रिय ठोस अवस्थाहरूबाट निर्धारित हुने कुरा हुन्, मानिसको चाहनाबाट होइन। लक्ष्य एउटै भए पनि आ-आफ्नो देशका र ऐतिहासिक चरणका विशिष्टताहरूले गर्दा प्रत्येक देशमा समाजवादी क्रान्तिको आफ्नै विशिष्ट चरित्र र बाटो हुन्छ। यस क्रान्तिको सार्वधिक र सार्वकालिक एउटै रूप हुन सक्दैन। यो विगतका क्रान्तिहरूले प्रमाणित गरेको कुरा हो। हाम्रो आफ्नो ऐतिहासिक चरणमा र आफ्नो देशको विशिष्टताअनुसार क्रान्तिको हाम्रो आफ्नो बाटो हुनेछ। विगतका अनुभव हाम्रो लागि मार्ग दर्शक अवश्य हुन, तर क्रान्तिको र राज्य सत्ताको त्यही रूप हामी कहाँ पनि दोहोरिने छ भन्नु अथवा दोहोर्‍याउनु पर्दछ भन्नु, गलत हो। हामीले आफ्नो समाजवादी लक्ष्य प्राप्त गर्न विगत अनुभवबाट सिक्दै आफ्नो वस्तुगत अवस्थामा टेकेर छोटो र कम प्रतिरोध झेल्नु पर्ने यथार्थपरक बाटो छनोट गर्न सक्नु पर्दछ।

प्रत्येक राजनैतिक आन्दोलन पूर्णक्रान्तिमा परिणीत नै हुन्छ भन्ने छैन। क्रान्तिकारीहरूको शक्ति र अवस्था हेरी आन्दोलनलाई केही सुधारसहित सम्झौतामा टुंग्याउन पर्ने सम्भावना पनि समानान्तररूपमा विद्यमान रहन्छन्। सुधार भनेको विद्यमान व्यवस्था भित्रै गरिने केही परिवर्तनको अवस्था हो। यस्ता परिवर्तन र सम्झौता अवस्था विशेषमा आन्दोलनका सकारात्मक उपलब्धि पनि हुन सक्छन्। कहिलेकहीँ केही विशेष अवस्थाहरूमा क्रान्तिलाई दमनबाट जोगाउँदै निर्णायक दिशामा अगाडि बढाउन क्रान्तिको तयारी, क्रान्तिकारी श्रमजीवी जनतालाई संगठित गर्न र निर्णायक दिशामा अगाडि बढाउन यस्ता सम्झौता आवश्यक सर्त पनि हुने गर्दछ। अर्कोतर्फ यस्ता सुधार र सम्झौताहरू क्रान्तिकारी प्रक्रियाको विकासका लागि नकारात्मक पनि हुने गर्छन्। सम्पूर्ण कुरा, सम, अवस्था, उद्देश्य र कार्यनीतिबाट निर्धारित हुने कुरा हुन्। यसको निर्क्योल ठोस अवस्थामा क्रान्तिकारीहरूले नै गर्नु पर्ने कुरा हो। मार्क्स र लेनिनका अनुसार ‘सर्वहारा अधिनायकत्व’ सर्वहारा वर्गको संक्रमणकालीन राज्य सत्ता हो। तर विगतमा सर्वहारा वर्गको नाममा पार्टी अधिनायकत्व तथा व्यक्ति अधिनायकत्व स्थापित गरी कम्युनिष्टहरुले जुन गल्ती गरे त्यसबाट पाठ सिकी आफ्नो चरित्र र चिन्तनमा सुधार गर्नु आवश्यक छ। मार्क्सको यो भनाई ‘श्रमिक वर्गको मुक्तिको काम श्रमिक वर्गको आफ्नो काम हुनुपर्दछ’लाई सही अर्थमा बुझ्नु आवश्यक छ। लेनिनले अक्टोवर क्रान्तिको तीन वर्ष पछि लेख्नु भयो, ‘समाजवाद अल्पसंख्यकहरुबाट वा पार्टीबाट स्थापित गर्न सकिँदैन। दशौं लाख मानिसहरूले जब सत्ता सञ्चालनको कौशल सिक्दछन् तब मात्र समाजवादको स्थापना गर्न सकिन्छ।’ कम्युनिष्टको लक्ष्य कम्युनिष्ट पार्टीको होइन श्रमिक वर्गको सत्ता स्थापना गर्नु हो।

समाजवादः सारको एकत्व र रूपको विविधता

समाजवादी क्रान्ति र सामाजिक-आर्थिक संरचनाहरूको निर्माण एउटा जटिल र बहुआयामिक प्रक्रिया हो। यद्यपि ऐतिहासिक विकासको समान स्तर भएका सबै देशहरूमा समाजवाद निर्माणको प्रक्रिया, यसका आम नियम र आधारभूत संरचनागत ढाँचा मोटामोटी रूपमा समरूप नै हुन्छन्, तर, यसमा संक्रमण र निर्माण प्रक्रियाका जटिलता र अन्तरद्वन्द्व देशको अवस्था विशेषअनुसार फरक हुने गर्छन्। यसकै आधारमा समाजवादमा संक्रमण र त्यसको निर्माणका विविध रूपहरू देखा पर्दछन्।

समाजवादका सारको एकत्व र रूपका विविधताको विषय एकअर्कोसँग अभिन्नरूपमा जोडिएका विषय हुन्। उपरिरूपमा हेर्दा तत्कालीन अवस्थामा ‘समान आर्थिक सामाजिक विकासको स्तर भएका विश्वका विकसित पूँजीवादी देशहरूमा करिब करिब उस्तै रूप र करिब करिब एउटै समयमा समाजवादी क्रान्ति सम्पन्न हुने छ’ भन्ने मार्क्सको प्रारम्भिक अवधारणा र ‘पूँजीवादको असमान विकासको नियम अनुसार यसको वर्तमान साम्राज्यवादी चरणमा भइरहेको असमान आर्थिक र राजनैतिक विकासको अवस्थाले सर्वप्रथम केही देशहरूमा वा भनौं एउटै देशमा पनि समाजवादमा संक्रमण सम्भव बनाएको मात्र होइन त्यसका आधार पनि प्रस्तुत गरेको छ। त्यति मात्र होइन यसले समाजवादमा संक्रमणका विविध रूप हुन सक्छन् भन्ने सिद्धान्तलाई प्रतिपादित र विस्तारित गर्ने आधार पनि प्रस्तुत गरेको छ’ भन्ने लेनिनको निष्कर्ष मार्क्सको भनाइसँग बाझिएको जस्तो देखिन सक्छ। तर यथार्थमा त्यस्तो होइन। यस सम्बन्धमा लेनिनले भनेका छन्, ‘विशिष्ट सामाजिक-आर्थिक संरचना, मानिसको दैनिक जीवनको अवस्था, संक्रमणका लागि आम जनताको तयारी, एउटा विशेष योजना कार्यान्वयनप्रतिको कटिबद्धता आदिले समाजवादमा संक्रमणको बाटो निर्धारण गर्छन्।’ तथ्य के हो भने भिन्न-भिन्न सामाजिक आर्थिक र राजनैतिक संरचना भएका देशका कम्युनिष्ट पार्टीहरू, जसले समाजवादमा संक्रमणको कार्यभार लिएका हुन्छन्, समाजवादमा संक्रमण र त्यसको निर्माणका लागि आ-आफ्नो अवस्था अनुकूल सैद्धान्तिक रूपमा उस्तै र व्यवहारिक रूपमा आ-आफ्ना सम्भावना हेरि विभिन्न बाटो अपनाउने गर्छन्। यसबाट नै समाजवादमा संक्रमणका सारको एकत्व र रूपको विविधता निर्धारित हुने गर्दछ। यस विषमा लेनिनले स्पष्टरूपमा भनेका छन्, ‘…सम्पूर्ण देशहरू समाजवादमा पुग्ने छन्, यो अपरिहार्यता हो, तर सबै देशहरू समान रूपले होइन, प्रत्येकले यस प्रक्रियामा जनतन्त्रका, सर्वहारा अधिनायकत्वका, सामाजिक जीवनका विविध पक्षमा, समाजवादमा संक्रमणका विविध रूपहरूलाई, आ-आफ्नै खालले प्रस्तुत गर्ने छन्। (लेनिन, संकलित रचना ठेली १०)।

अक्टोवर क्रान्तिपछि, विशेष गरेर दोस्रो विश्वयुद्धपछि, पूर्वी युरोपका विभिन्न देशहरू, चीन, क्युबा, भियतनाम आदि जस्ता देशहरू तथा नव स्वाधीन देशहरूमा समाजवादमा संक्रमणको क्रममा देखिएका विविध रूपहरूले यसको परिपुष्टि गरेको छ, जसमा सोभियत सत्ता, नेशनल डेमोक्रेसी, पपुलर डेमोक्रेसी, न्यु डेमोक्रेसी आदि जस्ता विभिन्न स्तर र रूपका सर्वहारा अधिनायकत्वका विशिष्ट रूप थिए। लेनिनले भनेका छन्, ‘…त्यस्ता देशहरूमा (कम विकसित तथा नव स्वाधीन देशहरूको सन्दर्भमा) कम्युनिष्टहरूको नेतृत्वमा श्रमजीवी जनताले सत्ता लिएमा पनि सबै ठाउँमा निजी सम्पत्तिको उन्मूलन वा सानातिना उद्योग-व्यापारको उन्मुलन र सत्ताच्युत गरिएका शोषक वर्गलाई उनको मतदान अधिकारबाट वञ्चित गर्नु अपरिहार्य र अनिवार्यता छैन। त्यसकारण कम्युनिष्ट तथा वर्कर्स पार्टीहरूले आ-आफ्नो देशका विशिष्टताहरूको गहिराईपूर्वक अध्ययन गरी समाजवादमा संक्रमण र समाजवादको निर्माणका लागि आफ्नै सिर्जनात्मक र बढी प्रभावकारी बाटो खोज्नु पर्दछ। मार्क्सले हामीलाई केवल सामान्य निर्देशक सिद्धान्त दिएका छन्। जसको व्यवहारिक कार्यान्वयन विभिन्न देशमा विभिन्न किसिमले हुनेछ।’ (तेस्रो अन्तर्राष्ट्रियको दस्तवेज)

मार्क्स र लेनिनको देश र अवस्था सापेक्ष समाजवादी क्रान्ति र समाजवाद निर्माणका विविध रूप हुन सक्दछन् भन्ने भनाइको सारलाई बंग्याउँदै आधुनिक संशोधनवादी चिन्तकहरू ‘समाजवादका विविध रूप’ हुन सक्छन् भन्ने नाउँमा समाजवादको सारलाई नै तोडमरोड गरी समाजवादलाई नै नयाँरूपमा परिभाषित गर्ने प्रयास गर्दै छन् र यसलाई मार्क्सवादको नयाँ अध्यायको रूपमा प्रस्तुत गर्ने प्रयास गर्दै छन्। यो सत्य हो, समाजवादमा संक्रमणका मार्गहरूका विविधताको सम्भावनालाई मार्क्स र लेनिनले अहम् स्थान दिएका छन्, तर, यो विविधता समाजवादी लक्ष प्राप्त गर्ने बाटाहरू बीचको विविधता हो न कि समाजवादका सारको विविधता। समाजवादी संरचनाको सार, अर्थात् सामूहिक स्वामित्वमा आधारित उत्पादन प्रणाली, सामूहिक उपभोग र राष्ट्रिय सम्पत्तिमाथि सामूहिक स्वामित्व सहितको सामाजिक-आर्थिक संरचना र वर्गीय शोषण विहीन समाजको निर्माण, सर्वत्र एउटै हो। अन्यथा त्यो संरचना समाजवाद हुन सक्दैन। समाजवादी क्रान्तिको सम्पन्नता र समाजवादी आर्थिक-सामाजिक संरचनाका निर्माणको प्रक्रिया जटिल र बहु आयामिक प्रक्रिया हो। यो प्रत्येक देशको अवस्था अनुसार भित्रभित्र रूप र स्तरको हुन सक्दछ तर समान ऐतिहासिक विकासको स्तर भएका सबै देशहरूका लागि आर्थिक-सामाजिक संरचना आम रूपमा समान हुन्छन्। कुनै पनि आर्थिक-सामाजिक संरचनाको परिचायक उसको उत्पादन प्रणाली र उत्पादन सम्बन्ध, वितरण प्रणाली, राज्यसत्ताको स्वरूप, सामाजिक वैचारिक आधार आदि नै हुन् र समाजवादको लागि पनि यही पहिचान सत्य हो, जसको मापन उत्पादन, उपभोग र स्वामित्वको चरित्र र अवस्थाको आधारमा मात्र गर्न सकिन्छ ।

नयाँ आर्थिक-सामाजिक संरचनामा रूपान्तरणका प्रक्रियाको विविधता र त्यसको विशिष्ट रूप समय र समाजका विभिन्न पक्षहरूको अवस्थामा निर्भर रहन्छन्। जस्तो कि युरोपेली देशहरूमा पूँजीवादी संरचनाको जन्म र विकास आ-आफ्नो देशका सामन्ती संरचनाहरूको अवस्था र संघर्षका विविध रूप र स्तर पार गर्दै अगाडि बढेको छ भने संयुक्त राज्य अमेरिकामा, जहाँ पूँजीवादी संरचनाको विकास अपेक्षाकृत धेरै पछि भयो, त्यहाँ यसले सामन्तवादी संरचनासँग संघर्ष गर्नै परेन र सोझै विकसित पूँजीवादी संरचनाको रूप लिँदै तीव्र गतिमा पूँजीवादको विकास गर्‍यो। यसको विपरीत रुसमा यसले भूदासताका अवशेषहरूको व्यवधान झेल्नु पर्‍यो र पूँजीवादी संरचनाको विकास अपेक्षाकृत धीमा गतिमा भयो। चीनमा लामो किसान विद्रोह र औद्योगिक क्षेत्रमा समेत सामन्ती अभिजात वर्गको बलियो नियन्त्रणको अवस्थामा पूँजीवादको विकास प्रक्रिया अगाडि बढ्यो र भियतनाममा प्रमुखरूपमा फ्रान्सेली साम्राज्यवादी पूँजीवादको जगमा पूँजीवादी संरचनाको विकास भयो।

पूँजीवादी संरचनाको विकास प्रक्रियाको विश्लेषण गर्दै मार्क्स भन्नुहुन्छ, ‘पूँजीवादको ऐतिहासिक विकासभन्दा पहिलेको चरणमा, भनौं पूर्व-पूँजीवादी संरचनाहरूको चरणबाट, विभिन्न देशहरूमा, जस्तै फ्रान्स, इङल्याण्ड, नीदरल्याण्ड, जर्मन आदिमा सामन्तवादबाट पूँजीवादी संरचनामा संक्रमण भिन्ना-भिन्नै समय, अवस्था र प्रक्रिया हुँदै विभिन्न चरण र क्रमिकतामा भएको इतिहास छ। (मार्क्स- क्यापिटल ठेली-१)। संक्रमणका रूपहरूमा यस्तै समानता र विविधता वर्गविहीन आदिम कविलाई साम्यवादी सामाजिक संरचनाबाट वर्ग विभाजित दाश व्यवस्थामा प्रवेश गर्दाको ऐतिहासिक चरणमा पनि देख्न सकिन्छ। कुनै देश आदिम कविलाई साम्यवादबाट सापेक्षिक रूपमा कम प्रतिरोधी बाटो हुँदै सोझै सामन्ती संरचनामा प्रवेश गरेको इतिहास छ भने कुनै देश लामो दाश प्रथाको भोगाई र त्यस विरुद्ध दाशहरूका अगणित विद्रोहपछि सामन्तवादमा प्रवेश गरेको इतिहास छ। यस्तै काल, परिस्थित, समय तथा संक्रमणका रूपहरूको विविधता दाशयुगीन सामाजिक संरचनाबाट सामन्ती संरचनामा प्रवेश गर्दा र सामन्ती संरचनाबाट पूँजीवादमा संक्रमण गर्दा पनि देखिन्छ। यस्तै संकमणकालीन ऐतिहासिक विकासको एकत्व र विविधता विभिन्न मुलुकले समाजवादमा संक्रमण गर्दाको अवस्थामा पनि रहेको छ र रहने छ। आज ती मध्ये कतिपय मुलुकहरूमा समाजवादी संरचना रहेनन् त्यो भित्र कुरा हो, तर, समाजवादमा संक्रमणका तिनका आ-आफ्नै विशिष्टता र आ-आफ्नै रूप थिए।

वास्तवमा भन्ने हो भने समाजवादको निर्माण त्यसका सामान्य वस्तुगत नियमहरू तथा आवश्यक आर्थिक सामाजिक विशिष्टताहरूको जगमा उभिएर संक्रमण प्रक्रियाको कार्यान्वयन मार्क्सवादी क्रान्तिकारी वैज्ञानिक सिद्धान्तको अनुसरण गरेर मात्र गर्न सकिन्छ। अर्को कुरा स्वःस्फूर्त रूपमा यो आउँदैन बल्की वस्तुगत यथार्थको वैज्ञानिक विश्लेषण र त्यस अनुसार रूपान्तरणको कार्यक्रम, व्यवहारिक कार्यनीति र रणनीतिबाट मात्र प्राप्त गर्न सकिन्छ। तर, सारमा समाजवादी संरचना हुनका लागि त्यसले अनिवार्यरूपमा सामाजिक जीवनका प्रत्येक क्षेत्रमा समाजवादी सामाजिक, आर्थिक, वैचारिक र सांस्कृतिक सम्बन्ध स्थापना गरेको हुनु पर्दछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै