इटहरीमा तयार भयो सुविधा सम्पन्न भाटभटेनी, भदौ १९ देखि सञ्चालनमा आउँदै

सुनसरी। प्रदेश नम्बर १ को सुन्दर नगर इटहरीलाई केन्द्र बनाएर इटहरीको लविपुरमा भाटभटेनीले आफ्नो १९ औँ शाखा स्टाेरको निर्माण गरेर तयारी अवस्थामा राखिएको छ ।
किनमेल र मनोरञ्जन दुवै एकैठाउँमा हुनेगरी परिवारिक वातावरण सहितको सुपर स्टोर यही भदौ १९ गतेदेखि सन्चालनमा आउने भएको हो । आफ्नो सेवा सुरु गर्न लागेको भाटभटेनीले ओपनिङ्गको अवसरमा ग्राहकलाई ग्रोसरी र कन्जुमरका सामानमा १० प्रतिशत छुट दिने भएको छ ।
बार्गेनिङ्गरहित सुन्दर र सफा किनमेल, चट्ट सजाइएका सामान पाइने सुपरस्टोरमा गरिने सपिङ्गको मज्जा नै फरक हुन्छ । त्यति मात्र नभएर ब्राण्ड अनुसार गुणस्तरीय सामानको लागि पनि ठूला सपिङ्ग सेन्टर धाउने गरिन्छ । इटहरी, इनरुवा, रामधुनी नगरपालिका साथै दक्षिणमा दुहबी र पूर्वमा सुन्दरहरैँचा नगरपालिका र बेलबारीसम्मका बासिन्दालाई भाटभटेनीको इटहरी स्टोर किनमेलको लागि सहज हुने भाटभटेनीका
व्यवस्थापक विनोद भट्टराईले बताउनुभयो।
साढे दुई वर्षअघि बनेको योजना र तिव्र गतिमा भएको निर्माणले पनि कोरोनाको प्रभावलाई चिर्दै अन्ततः भाटभटेनीले सेवा दिने सुरुवातमा पुगेको छ ।
भाटभटेनी सुपर स्टोर इटहरी नगरपालिका- १६ मा ३५ कठ्ठा क्षेत्रफलमा बनेको छ । यहाँको जमिन र भौतिक संरचना र सामान गरी ३ अर्ब लगानी भएको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले बताए। भट्टराईका अनुसार अहिले सामान मिलाउने तथा सजाउने काम अन्तिम चरणमा पुगिसकेको छ । कोभिड सङ्क्रमणका कारण ६ महिना ढिला भएर सन्चालनमा आउन लागेको भाटभटेनी नखुल्दै अहिले दैनिक ४०० को हाराहारीमा संरचना बाहिरबाट हेर्नेहरुको भीड लाग्ने गरेको छ ।
तीन वटा ब्लकसहित ठडिएको पाँच तले संरचना हो भाटभटेनीको यो सुपरस्टोर । तीन वटै ब्लकको कुल क्षेत्रफल ३ लाख वर्गफिट छ । सबै ब्लकमा बेसमेन्ट बाहेक ५ तला छन् । अन्डरग्राउण्डमा पार्किङ्गको व्यवस्था गरिएको छ । सामान्यतया ५ सय गाडीलाई सजिलै पार्किङ्ग गर्न सकिने व्यवस्थापक भट्टराईको भनाइ छ ।बिल्डिङ्गको भुइँ तलामा ग्रोसरी, फ्रोजन आइटम, श्रृङ्गार प्रशाधन, हरियो तरकारी, अल्कोहलका सामान सजाइएका छन् भने पहिलो तलामा किचनका सामान र बालबालिकाका खेलौना लगायतका सामानको सजावट छ ।
यसैगरी दोस्रो तलामा लत्ताकपडा, जुत्ता आदि राखिएका छन् भने तेस्रो तलामा इलेक्ट्रोनिक आइटम, ब्यागेज, कार्पेट, गलैँचा लगायतका सामानहरु राखिएको छ ।खाजा र नास्ताको लागि सी ब्लक पुरै छुट्याइएको छ । यो ब्लकको भुइँ तलामा केएफसी, पेपे पिजा र आँगन रेस्टुरेन्ट हुनेछ । यही तलामा बालबालिकाको लागि प्ले ग्राउन्ड पनि बनाइएको छ । हिमालयन जाभाको आउटलेट पनि यहाँ रहनेछ ।
त्यसैगरी, लक्ष्मी बैंकको शाखा कार्यालय पनि भाटभटेनीको यो बिल्डिङ्गभित्रै रहने भएको छ। भाटभटेनीले २ महिनादेखि १ सय १० जना स्टाफलाई परिचालन गरेर इटहरी र वरपरका क्षेत्रका १ लाख घरधुरीलाई निम्ता बाडिसकेको व्यवस्थापक भट्टराई बताउँछन् । स्टोरले वराहक्षेत्र, इनरुवा, रामधुनी, दुहबी, सुन्दरहरैँचा, पथरी, केराबारी, लेटाङ लगायतका स्थानमा घरघरै पुगेर यही १९ गतेदेखि इटहरीमा भाटभटेनीमा किनमेल र मनोरञ्जन गर्न आउन निमन्त्रणा गरेको छ ।
इटहरी र यो क्षेत्रका बासिन्दाले अब बार्गेनिङ्ग गरेर किनमेल गर्न नपर्ने विनोदको जिकीर छ । त्यसो त भाटभटेनीले वासिङ्ग मेसिन, टिभि लगायत विद्युतीय उपकरणको खरिद गर्ने ग्राहकलाई निःशुल्क डेलिभरीसहित घरमै गएर सामान जोडिदिने सुविधासमेत दिने भएको छ । आकर्षक अफर, सामानको खरिदमा छुट सुविधा, निःशुल्क डेलिभरी साथै मेम्बरसिप कार्डजस्ता फरक विशेषता भाटभटेनीले राखेको छ।
मेम्बरसिप कार्ड हरेक खरिदमा लिएर आउने ग्राहकले हरेक पटकको किनमेलमा पोइन्ट पाउने र निश्चित पोइन्ट पुगेपछि त्यसलाई सामान तथा गिफ्टमा साट्न मिल्ने रहेछ । यसबाहेक भाटभटेनीको बीबीएसएम नामक एपबाट पनि पोइन्ट जोडिदिने गरेको रहेछ । यससँगै भाटभटेनीले स्थानीय उत्पादनलाई पनि प्रोत्साहन गर्ने विनोदले बताए । “स्थानीय उत्पादनको गुणस्तर हेरेर हामी त्यसको बजारीकरणमा सहयोग गर्छौँ ”।
व्यवस्थापक विनोदले भने, कोरोना महामारीका बीच भीडभाड कम होस् भन्ने हेतुले भदौ १९ गतेदेखि २४ गतेसम्मै उद्घाटनको निम्तो बाँडिएको छ । हुन त सामाजिक दूरी कायम गरेरै पनि थुप्रै ग्राहकलाई एकै पटक सेवा दिन सक्ने क्षमता रहेको यो स्टोर पूर्वी नेपालकै ठूलो सुपरमार्केटमा पर्ने विनोदको जीकीर छ। संरचनाको अगाडिको भागलाई आकर्षक बनाउनको लागि भाटभटेनीले बाटो विस्तार नहुन्जेलसम्मको लागि ब्लक इटा ओच्छयाएर अझै सुन्दर बनाएको छ ।