झापाका एक जना जनप्रतिनिधिले पनि गरेनन् नयाँ दल रोज्न सनाखत, सबै एमालेमै
सुनसरी। निर्वाचन कार्यालय झापाले नेकपा समाजवादीमा जान कोहि पनि सनाखत गर्न नआएको जनाएको छ । झापाका कार्यलय प्रमुख तुलसी नेपालका अनुसार सनाखतका लागि आजसम्म कोहि आएका छैनन् ।
निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले एक जना पनि स्थानीय तहका निर्वाचित प्रतिनिधि नयाँ दल रोज्नका लागि नआएको जानकारी दिएका छन् । नयाँ दल रोज्न कोहि पनि आउनु भएन, जिल्लामा जसपाबाट स्थानीय तहमा जनप्रतितिनिधि छैनन्, नेपालले भने ।
नेकपा एमाले विभाजनको असर केन्द्रदेखि वडासम्म परेका बेला अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा भने नेकपा एसको पक्षमा एकजना वडा सदस्य पनि अहिलेसम्म खुलेका छैनन् । विभाजनसँगै नरेश खरेल, रविन कोइराला, पवित्रा निरौलालगायतका सबै नेताहरू एमालेमै बसेपछि नेपाल पक्षका कोहि जनप्रतिनिधिले पनि नयाँ दल रोजेनन् ।
अध्यक्ष ओलीको गृहजिल्ला झापामा ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एमालेले ३ वटा जितेको छ भने प्रदेशसभामा एमालेका ९ जना छन् । प्रतिनिधिसभामा ओलीसहित एलपी साँवा लिम्बु र पवित्रा निरौला खरेल प्रत्यक्ष र कुमारी मेचे तथा विमला विक समानुपातिक सांसद हुन् ।
उनीहरू पाँचैजनासहित राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल पनि एमालेमै छन् । प्रदेशसभाका ९ जनामध्ये सबै सांसद एमालेमै रहँदा माधव नेपाल नेतृत्वको पार्टीमा संघ र प्रदेशका सांसदको संख्या शून्य भएको छ ।
त्यस्तै झापामा १५ स्थानीय तहका जम्मा ७२३ जनप्रतिनिधिमध्ये एमालेबाट ४९३ जनाले जितेका थिए । त्यसमा ६ जना मेयर, ८ जना उपमेयर, एकजना गाउँपालिका अध्यक्ष, ४जना उपाध्यक्ष छन् । उनीहरूमध्ये नेकपा एसको पक्षमा सनाखत गर्न एकजना पनि गएका छैनन् ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलसहित ९ जना पदाधिकारी पनि एमालेमै रहने भएका छन् भने वडा अध्यक्ष तथा सदस्यहरू कसैले पनि एमाले नछाडेको एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुखसमेत रहेका नेता अग्नि खरेलले बताए ।