विद्युतीय बस आयो तर चार्जिङ स्टेसन छैन
काठमाडौं : निकट भविष्यमा नै विद्युतीय बस भिœयाउन लागेको नेपाल सरकारको सेयर लगानी रहेको साझा यातायातलाई चार्जिङ स्टेसनका लागि ठाउँको अभाव देखिएको छ ।
साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्न ४० वटा विद्युतीय बस टेन्डरमार्फत ल्याउन लागेको हो । त्यसका लागि चार्जिङ स्टेसन बनाउन साझाले ठाउँ खोजिरहेको हो ।
चार्जिङका लागि ठूलो पावर लाग्ने भएपछि सोहीअनुसारको ठाउँको अभावसमेत देखिएको छ । साझाका अनुसार सानो एउटा बिजुलीको सबस्टेसनबराबरको पावर चाहिने भएकाले नेपाल विद्युत् प्राधिकरण समन्वय गरेर चार्जिङ स्टेसन बनाउने तयारी रहेको भइरहेको छ ।
साझाले चार्जिङ स्टेसनका लागि विभिन्न मन्त्रालय तथा निकायअन्तर्गतको सरकारी जग्गा खोज्न थालेको छ । साझा यातायातको कार्यालय रहेको पुल्चोकस्थित परिसरमा पनि एउटा चार्जिङ स्टेसन राख्ने र बाँकी चक्रपथ बाहिर दुई÷तीन ठाउँमा चार्जिङ स्टेसन बनाउने साझाको तयारी छ । त्यसका लागि ठाउँ तथा जग्गा भने मिलिसकेको छैन । काठमाडौंको थानकोट, ललितपुरको भैंसीपाटी, भक्तपुरको सल्लाघारी क्षेत्रमा चार्जिङ स्टेसन राख्नेगरी साझाले तयारी गरिरहेको हो ।
अहिले काठमाडौं उपत्यकामा निजी क्षेत्रबाट सञ्चालित विद्युतीय बस सञ्चालन भइरहेको छ । सुन्दर यातायातले आफ्ना लागि काठमाडौंको केही ठाउँमा चार्जिङ स्टेसन बनाएर बस चार्ज गरी सञ्चालन गर्दै आएको छ । ऊर्जामन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताएकी छन् ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।