भारतमा बसेर नेपालमा अपराध गर्ने गिरोहका मुख्य नाइके पक्राउ
पर्सा २८ भदौ । भारतमा बसेर वीरगन्ज लगायत सीमावर्ती शहरमा आपराधिक गतिविधि गरी आतंक मच्चाउँदै आएका समूहको मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज २४ रामगढवाका फुलहसन अन्सारी फुलहसन अन्सारी उर्फ विवेक सिंह छन् । भारतबाट सोमबार बिहान वीरगन्ज रामगढवास्थित घर आउने क्रममा अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतमा बसेर आपराधिक समूह बनाएर वीरगन्ज लगायत शहरका उद्योगी व्यपारीलाई फोन मार्फत धम्की दिई रकम असुल्दै आएका अन्सारी, वीरगन्जमा विगतमा भएका विभिन्न आपराधिक घटनामा संलग्न व्याक्ति हुन् ।
२०७६ साउन २४ गते वीरगन्जको वीर्ता बजारमा र त्यसको चार दिनपछि साउन २८ गते घण्टाघर नजिकैको मिना बजारमा उनी सहितको आपराधिक समूहले बम विस्फोट गराएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले त्यस बेला वीरगन्ज २४ कै इनुस अन्सारी, जौवाद अन्सारी र सद्दाम अन्सारीलाई पक्राउ गरेको थियो ।
पर्सा जिल्ला अदालतबाट २ वर्ष ६ महिना कैद र २५ हजार जरिवानाको फैसला भई तीनै जना अहिले पनि वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन।
तर घटनाका मुख्य योजनाकार फुलहसन अन्सारी भने घटना पश्चात् फरार थिए । पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेका अनुसार त्यस बेला फरार भएका अन्सारीले भारतको मुजफ्फरपुरमा आफ्नो नाम र पहिचान ढाटेर अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाई उतै बस्दैआएका थिए ।
मुजफरपुरमै बसेर उनले वीरगन्जका उद्योगी र व्यापारीलाई फोन मार्फत् धम्की दिई रकम असुली गर्दैआएको समेत अनुसन्धानको क्रममा खुलेको प्रहरी उपरीक्षक पाण्डेले बताए । अन्सारी २०६५ पुस ७ गते वीरगन्ज आदर्शनगरका उद्योगी राजेश क्याललाई गोली हानी हत्या गरेको अभियोगमा पनि हतियार सहित पक्राउ परेका थिए ।
उक्त अपराधमा अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेपछि अन्सारीले वीरगन्ज कारागारमा कैद भुक्तान गरिरहेका थिए । तर २०७४ असोज ८ गते विजयादशमीको अवसरमा सरकारले ५६ प्रतिशत बाँकी कैद मिनाहा गरेपछि उनी वीरगन्ज कारागारबाट छुटेका थिए ।
सोमबार पक्राउ परेका अन्सारीलाई विस्फोटक पदार्थ खरखजाना सम्बन्धी कसुर तथा संगठित अपराध अभियोगमा कारवाही अगाडि बढाइएको प्रहरी उपरीक्षक पाण्डेले बताए ।