बाल दिवसको अवसरमा त्रिभुवन आदर्श माविमा विविध कार्यक्रम गरी मनाइयो
जनकपुर। ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा धनुषाको जनकपुरधाम उपमहानगर-२३ बिन्धी स्थित रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा आज विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइएको छ।
विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागितामा यो वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने मुल नाराका साथ वक्तृत्वकला सहित विभिन्न कार्यक्रम गरी मनाइएको हो।
वि.स. २०४६ सालको प्रजातन्त्रको पुनस्थापनापछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि–१९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रुपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जसअनुसार अहिले हरेक वर्षको भदौ २९ गते यो दिवस यस विद्यालयमा पनि मनाउने गरिएको छ।
संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरिएको विषयमा दर्जनौं विद्यार्थीले आ-आफ्नो वक्तव्य राखेका थिए। सो कार्यक्रमको प्रमुख अतिथिमा यसै विद्यालयका प्रधानाध्यापक श्री देवेन्द्र कुमार यादव, अतिथिमा यस विद्यालयका सम्पुर्ण शिक्षक र निर्णायक मंडलमा श्री कुन्त पोख्रेल, रतिशचन्द्र चौधरी, विभा कुमारी र उद्घोषकमा श्री दिलिप साह लगायत यस विद्यालयका सम्पुर्ण विद्यार्थीको उपस्तिथि रहेकोे थियो। साथै वक्तृत्वकला प्रतियोगी सबै सहभागीलाई कार्यक्रमको अन्तमा सम्मान सहित पुरस्कार हस्तान्तरण गरिएको थियोे।