मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह

काठमाडौँ: मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको छ ।
मुस्लिम आयोग र केन्द्रिय तथ्यांक विभागबीच आज ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको हो । छलफलपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सिमित गर्न तथ्यांक विभागसँग आग्रह गरिएको बताए। उनले आगामी जनगणनामा मुस्लिम आयोग र तथ्यांक आयोगको सहकार्यमा समुदायलाई सचेत गराउन पमप्लेट बाँड्ने जस्ता कार्यमा सहयोग गरेर अघि बढ्ने निर्णय भएको बताए । अध्यक्ष अन्सारीले मुस्लिम आयोगले प्रत्येक जिल्लामा एउटा समिति बनाउने र त्यो समितिसँग तथ्यांक विभागको टीमबीच सहकार्य गरेर घरदैलोमा जाने बताए ।
‘ आगामी जनगणनामा मुस्लिम आयोग र तथ्यांक विभागको सहकार्यमा पमप्लेट, समुदायलाई सचेत गराउने यी सबै कार्यहरुमा सहकार्य गरेर अघि बढ्ने, अध्यक्ष अन्सारीले भने । ‘अर्को भनेको मुस्लिम आयोगको तर्फबाट एउटा समिति बनाउँछौँ प्रत्येक जिल्लामा, मुस्लिम बाहुल्यता भएको जिल्लामा, त्यो समिति र तथ्यांक विभागका टीमबीच सहकार्य गरेर समन्वय गरेर घरदैलोमा जाने त्यसले तथ्यांक विभागलाई पनि सहयोग पुग्छ र मुस्लिम समुदायलाई पनि ठूलो सफलता हात लाग्छ ।’
अध्यक्ष अन्सारीले अघिल्लो जनगणनामा अधिकांश विदेशीएका मुस्लिम युवाहरु छुटेको भन्दै यसपटकको जनगणनामा नछुटाउन आग्रह गरिएको पनि जानकारी दिए ।