साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासंग सामना गर्दै
काठमाडौं । दक्षिण एसियाली फूटबल प्रतियोगिता साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फूटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने १० बजे खेल हुनेछ । खेल अगाडी भएको प्रिम्याच कन्फ्रेन्समा नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले तीन अंकको लागि खेल्ने बताए । पहिलो खेलमा पाएको जितले टोलीमा आत्मविश्वास बढाएको र अन्तिम मिनेटसम्म पनि डटेर खेल्ने कप्तान किरणको धारणा छ ।
यस्तै, मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्रीलंकाली टोलीको खेल अनुसारनै आफ्नो रणनीति रहने बताए ।
नेपालले पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० गोलले हराएको थियो भने श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १–०ले नै हारेको थियो ।
दक्षिण एसियाका दुई परिचित प्रतिद्वन्द्वी नेपाल र श्रीलंकाबीच अहिलेसम्म १७ खेल भएका छन् । जसमा नेपालले ३ खेल जित्दा ६ खेल भने हारेको थियो । अन्य ८ खेल बराबरी भएका छन् ।
यि दुईबीच अन्तिम पटक सन् २०१६ मा मैत्रीपूर्ण खेलमा भेट भएको थियो । जहाँ नेपाल १–० गोलले विजयी भएको थियो । प्रतियोगितामा भोलिनै बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ ।