अन्तरिक्षमा टिकेन नेपालको पहिलो स्याटेलाइट, झर्यो पृथ्वीमा

अन्तरिक्षमा २ वर्ष ३ महिना पूरा गरेर नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट-१’ सोमबार खसेको छ ।नेपाली स्याटेलाइट सोमबार पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हो ।
नेपाली स्याट-१ अन्तरिक्षबाट पृथ्वीको अर्बिटमा सोमबार अपरान्ह ४ बजेर २६ मिनेटमा प्रवेश गरेको नेपाली स्याट मिसनका प्रमुख आभास मास्केले जानकारी दिए । नेपाली स्याटसँगै अन्तरिक्षमा छाडिएको श्रीलंकाको राभाना-१ खसेको थियो ।
मिसनभन्दा २१ महिनाबढी अन्तरिक्षमा रहेकाे नेपाली स्याटेलाइटले अन्तरिक्षमा रहँदा १३ हजार ४५६ फन्को लगाएको स्याटेलाइट निर्माणकर्ता हरिराम श्रेष्ठले जानकारी दिए । उनले यसका सबै मिसन पूरा भएकाे बताए ।
२०७६ साल असार २ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाली स्याट-१ सहित श्रीलंकाको राभाना-१ र जापानको इगुसु स्याटेलाइट एकसाथ पृथ्वीको तल्लो कक्ष(अर्बिट)मा छाडिएको थियो । अमेरिकाबाट २०७६ साल वैशाख ५ गते अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र(आईएसएस)मा पुर्याइएको थियो । त्यसकाे दुई महिनापछि ३ वटा स्याटेलाइट एकैसाथ अन्तरिक्षमा छाडिएका थिए ।
बर्डस-३ मिसन अन्तर्गत यी स्याटेलाइट जापानको क्युटे विश्वविद्यालयमा निर्माण गरिएकाे हाे ।