ट्याक्टर दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु

मोरङ – बेलबारी नगरपालिका–५ कसेनीमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। सोमबार राति ८ बजेतिर भएको ट्याक्टर दुर्घटनामा १ बालकसहित २ जनाको मृत्यु भएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ।
कसेनीका इन्द्र दर्जीको खेत जोतेर फर्कने क्रममा ट्याक्टर दुर्घटना भएको हो। को २ त ८६८८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए। उनका अनुसार दुर्घटनामा ट्याक्टरका सहचालक रंगेली नगरपालिका–१ का २२ वर्षीय विजय हेमरन र ट्याक्टरमा सवार १५ वर्षीय बालक अविनाश मरन्डीको मृत्यु भएको हो।
घाइते भएका दुवै जनाको उपचारका क्रममा राति साढे १० बजेतिर विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उकालो बाटो पार गर्ने क्रममा ट्याक्टर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सवारी चालक अनुमतिपत्र नभएका ट्याक्टर चालक रंगेली–१ का २७ वर्षीय आइत सतार टुडुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ। यो समाचार नागरिक दैनिकमा छ।