बाबा रामदेवका टिभी च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ अवैध (गैरकानुनी)

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय बाबा रामदेवले सञ्चालन गर्ने भनिएका दुई टिभी ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ को शुक्रबार उद्घाटन गरे । तर, ती दुवै च्यानल गैरकानुनी रहेकाे पाइएको छ ।
काठमाडौंस्थित पतञ्जली योगपीठको आश्रम, मण्डिखाटारमा शुक्रबार टेलिभिजन च्यानल उद्घाटन समारोहमा प्रधानमन्त्री, गृहमन्त्रीलगायतका मन्त्री र प्रचण्ड, माधव नेपाललगायतका शीर्ष नेता उपस्थित थिए ।
पहिलाे कुरा त विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चारमाध्यममा वैदेशिक लगानी वर्जित गरेको छ । त्यस्तै नेपालमा कुनै पनि टिभी च्यानल सञ्चालन हुनुअघि सूचना तथा प्रशारण विभागमा दर्ता हुनुपर्ने कानूनी व्यवस्था छ । प्रधानमन्त्रीले उद्घाटन गरेका ‘पतञ्जली नेपाल’ र ‘आस्था नेपाल’ टिभी विभागमा दर्ता भएको रेकर्ड छैन । दर्ता नभएको मात्र होइन, दर्ताका लागि निवेदनसमेत नआएको विभागले जनाएको छ । ‘दर्ताका लागि आवेदन नै आएको छैन,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने ।
उनले भने, ‘तपाईंहरुजस्तै मैले पनि मिडियाबाट टिभीको उद्घाटन भएको भन्ने खबर पाएँ । तर, अहिलेसम्म उल्लेखित नामका कुनै पनि टिभीले अनुमति लिएका छैनन् ।’
उनले बिनाअनुमति सञ्चालन गरेका विषयमा अध्ययन गर्नेसमेत बताए । उनले भने, ‘यत्रो मिडियामा आइसकेपछि उजुरी नै आउँनुपर्छ भन्ने छैन । यस्तो अवस्थामा उजुरी आएन भनेर विभाग चुप लागेर बस्दैन । प्रशारण भएको रहेछ कि के रहेछ बुझेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउछौ ।’
आइतबार कार्यालय खुल्नेबित्तिकै यस विषयमा छलफल गर्ने उनले जानकारी दिए । ‘हामी यसबारेमा बुझेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउछौ,’ उनले भने ।
यी टेलिभिजनमा भारतीय बहुराष्ट्रिय कम्पनी पतञ्जलिको लगानी रहेको जनाइएको छ । पतञ्जलि कम्पनीमा आचार्य बालकृष्ण र योगगुरु रामदेवको लगानी छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसायको सूचीमा ‘आमसञ्चारमाध्यमहरू (पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचार) को व्यवसाय तथा राष्ट्रभाषाको चलचित्र व्यवसाय’ लाई राखेको छ ।
आध्यात्मिक र आयुर्वेदसँग सम्बन्धित कार्यक्रम उत्पादन गर्ने भनिएका ती टेलिभिजन व्यावसायिक उद्देश्यले आएको जनाइएको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले पतञ्जलिलाई जग्गा उपलब्ध गराउने बाचासमेत गरेका छन् ।साभार स्रोत : नेपाल टाईम्स