‘धामी बोलाएर कुखुराको अण्डालाई दुनामा लगेर मन्सिने’ जब ओलीले यस्तो भनेपछि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई पन्छ्याएर अघि बढ्ने दाबी गरेका छन्। काठमाडौंमा आयोजित साइबर सर्कलको घोषणा कार्यक्रममा ओलीले नाम उल्लेख नगरी माओवादी केन्द्र र नेकपा (एस) कांग्रेसको पुच्छर भएको टिप्पणी गरे। कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी केन्द्र र नेकपा (एस) कहाँ पुग्छन् टुंगो नहुने ओलीको भनाइ छ।
‘कांग्रेसको पुच्छरले एमालेलाई टक्कर दिन खोजेका छन्। कांग्रेसले पुच्छर हल्लाउँदा कहाँ पुग्छन् टुंगो छैन,’ ओलीले भने। उनले पाँच दलीय गठबन्धन एकतिर र एमाले एक्लै एकातिर भएको बताए। उनले एमाले पार्टीमात्र नभएर जनताको शक्तिसमेत भएको स्पष्ट पारे। ‘अहिले पाँच दलीय गठबन्धनसहित अरु एकतातिर छन्। एमाले एक्लै एकातिर छन्। त्यही भएर एमाले पार्टीको नाममात्र होइन, एमाले नेपाली जनताको प्रतिनिधि शक्ति हो,’ उनले भने।
उनले पाँच दलीय गठबन्धनकै कारण अहिले न्याय क्षेत्रमा तमाशा भइरहेको बताए। ओलीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलनलाई पाँच दलीय छटपटीको संज्ञा दिए। ‘अहिले सर्वोच्च अदालततिर प्रकट भइरहेको छ। हामीलाई फ्याकेको ब्रम्हास्त्र ठोक्किएर फर्किँदाखेरि आफैंलाई लागेर भएको छटपटी हो,’ उनले भने, ‘…यो केही होइन, देखिएको त्यहाँ (सर्वोच्च अदालतमा) छ। तर पाँच दलीय छटपटी हो। यो कुराको प्रमाण सर्वोच्च अदालतका श्रीमान न्यायाधीशले अमेरिकाबाट इमेल पठाएर साविती वयान दिएका छन्।’
ओलीले अदालतमा देखिएको आन्दोलनलाई नेकपा एमालेमाथि प्रहार गरिएको ब्रम्हास्त्र फर्किएर पाँच दलका नेताको टाउकोमा लागेको ब्रम्हास्त्रको संज्ञा दिए। ‘यस यस लडाईंमा ब्रम्हास्त्रको प्रयोग हुने ठाउँसम्म पुगेछ,’ उनले भने। उनले न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको तर धामीमार्फत उपचार खोजिएको पनि टिप्पणी गरे।
‘न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, तर त्यसको उपचार कसरी खोजिदैछ भने धामी बोलाएर, कुखुराको अण्डा ल्याएर,… दुनामा लगेर मन्सिने। त्यो विचरा अण्डा मन्साएर क्यान्सर निको हुन्छ ?,’ ओलीले अघि भने, ‘अपरेसनको आवश्यकता छ। किमोको आवश्यकता छ। विमार त्यो तहमा पुगसिकेको छ।’ उनले न्यायालयको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा ठोस केही बताएनन्। लोकपाटी