आदिल अन्सारीको धमाकेदार ब्याटिङले प्रदेश २ को शानदार जित

आदिल अन्सारीले धमाकेदार ब्याटिङ गर्दै ४३ बलमा अविजित ८७ रन बनाएपछि प्रदेश-२ ले वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार सुदूरपश्चिमलाई २ विकेटले पराजित गरेको छ । आदिलको ब्याटिङले सुदुरपश्चिमका अर्जुन साउदको शतक छायाँमा पर्यो ।
आदिलसँगै अमित यादव र राष्ट्रिय टिमबाट खेलिसकेका गुल्शन झाले राम्रो ब्याटिङ गरेपछि प्रदेश २ ले २९१ रनको लक्ष्य ४९.१ ओभर खेल्दै ८ विकेट गुमाएर पूरा गरेको हो । आदिलले ४३ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गर्दै अविजित ८७ रन बनाए ।
९२ रन हुँदा ५ विकेट गुमाएको बेला अमित यादव र गुल्शन झाले छेटौं विकेटका लागि ९३ रनको साझेदारी गरे । ३६औं ओभरमा टिमको स्कोर १८५ रन हुँदा गुल्शन ५३ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा ४६ रन बनाएर आउट भए ।
त्यसपछि अर्को ओभरमा अमित पनि ४९ रनमा आउट भएपछि प्रदेश २ ले १८९ रनमा सातौं विकेट गुमाए। त्यसपछि संसद मन्सुरी पनि ७ रन बनाएर आउट भए । तर आदिलले प्रदिप पासवानसँग नवौं विकेटका लागि अविजित ७८ रनको साझेदारी गर्दै जित दिलाए ।
सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले ३-३ तथा हेन्त धामी र लोकेश बमले समान १ विकेट लिए । त्यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले अर्जुन साउदको ११६ रन मद्दतमा ४१.४ ओभरमा सबै विकेट गुमाएर २९० रन बनाएको थियो । यस प्रतियोगिता पहिलो शतक बनाउने क्रममा अर्जुनले ८५ बल खेल्दै १४ चौका र ५ छक्का प्रहार गर्दै ११६ रन बनाए ।
यस्तै लोकेश बमले ७३ बल खेल्दै १३ चौका र १ छक्का मद्दतमा ८१ रन जोडे । अर्जुन र लोकेशले चौथो विकेटका लागि १४२ रनको साझेदारी गरेका थिए । दुई खेलाडीले उत्कृष्ट ब्याटिङ गरेपनि लोअर अर्डरका खेलाडीको विकेट चाँडै जाँदा सुदुरपश्चिम ५० बल बाँकी छँदै अलआउट भएको थियो ।
सुदूरपश्चिमलाई अलआउट गर्न प्रदेश-२ का प्रदीप पासवानले ३ तथा अजय यादव र विवेक यादवले २-२ विकेट लिए । यस्तै आदिल अन्सारी र तृतराज दासले समान १ विकेट लिए ।