बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र सम्पन्न

 १० मंसिर २०७८, शुक्रबार  

नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । चितवनकाे नारायणी नदीकाे किनारमा महाधिवेशन भव्यताका साथ सम्पन्न भएकाे हाे ।

उद्घाटन सत्र सकिए लगत्तै नारायणी नदी किनारबाट एमाले नेताहरू भोलिबाट सुरु हुने बन्द सत्रका लागि सौराहातर्फ प्रस्थान गरेका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गरेर उद्घाटन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर आवश्यकता र औैचित्यताका आधारमा संविधानकाे संशाेधन गर्ने बताए। उनले एमालेले आफ्ना लागि नभई देशका लागि बहुमत ल्याउनु पर्ने पनि बताए । वर्तमान सरकारलाई लक्षित गर्दै आफूले संसद विघटन गरी चुनाव घोषणा गरे पनि अन्य दलहरूले सर्वोच्च अदालतमा हालेको रिट निवेदन माथि अदालतले परमादेश दिँदै त्यसलाई खारेज गरेको बताए। आफूले परमादेशको बाटो नजाऊँ बरु जनादेशमा जाऊँ भनेका भएपनि त्यसलाई संविधान विपरीत ढंगबाट रोकिएकाे उनले बताए।

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त सुनाउँदै आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरे । आफूलाई अप्ठेरो पार्नेहरूले नै आज प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातेर काम गर्न नदिएको समेत उनले बताए।

सम्बोधनका क्रममा उनले आफ्नो नेतृत्वको सरकारको पालामा विकासको जग हालेको भन्दै आफ्नै सरकारको पालामा नेपालले अन्तरिक्षमा आफ्नै स्याटलाइट पठाएको पनि दाबी गरे । उनले भने ‘अब नेपालको उपस्थिति अन्तरिक्षमा हुन्छ, अन्तरिक्ष हाम्रो पनि हो ।’

त्यस्तै महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेल जीवनको स्मरण गर्दै एमाले अध्यक्ष ओली र आफू जेल पर्दादेखिकै साथी रहेको बताए । उनले सबै राजनीतिक दलहरू मिलेर संविधान जारी गरेको भन्दै अब पनि सहकार्य गरेर अघि बढ्न सकिने र संविधानबाटै मुलुकको विकास गर्न सकिने बताए।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा अहिले भइरहेको अराजकताको जिम्मा स्वयं राजनीतिक दलहरूले लिनु पर्ने बताए । ‘राजनीति गर्ने व्यक्तिहरू अहिले त्यसलाई पेसा बनाएका छन् । यो सुध्रिन जरुरी छ । राज्य र जनताको हितलाई दलहरूले प्राथमिकता दिनु जरुरी छ,’ उनले भने ।

त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले त्याग र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको संस्थागत हुन नसकेको भन्दै गुनासो गरे । उनले राज्यका अङ्गहरू प्रभावकारी बनाउँदै जनताका काममा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे । मधेस आन्दोलनका उपलब्धिहरू ओझेलमा पार्न खोजिएको उनले आराेप लगाए।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै मधेसी जनताका माग प्रति वर्तमान सरकार पनि जिम्मेवार हुनुपर्ने बताए । उनले संविधान संशोधनमार्फत् मधेशकाे माग पूरा नगरिए सडकमा २० लाख मानिस उतार्ने चेतावनीसमेत दिए ।

अध्यक्ष ओलीको प्रशंसामा आफ्नो सम्बोधनलाई केन्द्रित गरेका राप्रपाका अध्यक्ष कमल थापाले मुलुकलाई संकटबाट जोगाउन अझै पनि केपी ओलीको खाँचो रहेको धारणा राखे । उनले चुच्चे नक्सा, सिके राउत, विप्लव तथा नाकाबन्दीको प्रसङ्ग कोट्याउँदै केपी ओलीमा राष्ट्रवादप्रति दृढ सङ्कल्प रहेको भन्दै उच्च प्रशंसा गरे। केपी ओलीकाे कार्यशैलीप्रति उनले सम्मान देखाउँदै राष्ट्रियताकाे छवि ओलीमा भएकाे उनले बताए।

यसैगरी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि राजनीतिक दलहरू बीच सहकार्यको विकल्प नरहेको बताए । उनले कम्युनिष्ट आन्दोलन प्रति जनताको विश्वास कायम रहेको भन्दै कम्युनिष्ट पार्टीमा विभाजन र एकता स्वाभाविक प्रक्रिया भएको धारणा राखे । उनले एक्लो यात्राले मात्र समृद्ध नेपाल निर्माण हुन नसक्ने उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै