सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

न्यायाधीशले गोला ताने,मुद्दा हेरेनन्

 १७ मंसिर २०७८, शुक्रबार  

सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी तोक्न थालिए पनि न्यायाधीशले सुनुवाइ नगर्दा मुद्दा प्रभावित भएका छन्। बुधबारबाट गोला तानेर मुद्दाको पेसी तोक्न थालिए पनि सुनुवाइ हुन सकेको छैन।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोरोना संक्रमित भएर अस्पताल भर्ना हुँदा पनि कायममुकायमको जिम्मेवारी नदिएको भन्दै बुधबार र बिहीबार मुद्दामा सुनुवाइ हुन नसकेको हो। जबरा सोमबार बेलुकी कोभिड संक्रमण र निमोनिया देखिएको भन्दै सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका छन्।

उनी अस्पताल भर्ना भए पनि अदालतबाट बिरामी बिदा भने लिएका छैनन्। बिदा नलिँदा प्रधानन्यायाधीशको काम गर्न कायममुकायम जिम्मेवारी नदिइएको भन्दै न्यायाधीश र कानुन व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन्।

नेपाल बार एसोसिएसनले संविधानमा कायममुकायम दिने व्यवस्था भएको तर जबराले त्यसो नगरेको भन्दै आपत्ति जनाएको छ। न्यायाधीशहरू बुधबार छलफलमा बसेका थिए। त्यसपछि न्यायाधीशहरूले कामु माग्दा प्रधानन्यायाधीशले शुक्रबार डिस्चार्ज भएर कार्यालय फर्किने बताएका थिए।

सशस्त्र प्रहरी बल अस्पतालका अनुसार प्रधानन्यायाधीश जबरालाई कोभिडका कारण छातीमा इन्फेक्सन भएकाले न्यूनतम १० दिन बस्नुपर्ने नियम रहेको छ। पिसिआर टेस्ट गरी नर्मल अवस्था भएपछि मात्र डिस्चार्ज हुने अस्पतालका प्रवक्ता डिआइजी मन्दिप श्रेष्ठले बताए।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेका न्यायाधीशहरूले गोला प्रक्रियामा गएपछि मुद्दा हेर्ने बताएका थिए। गोला प्रक्रिया लागु भएपछि पनि कामु नदिएको भन्दै उनीहरूले बन्दीबाहेकका मुद्दा हेरेका छैनन्। बिहीबार पनि कामु नदिएको विषयमा छलफल गर्दा ढिलो गरी गोला प्रक्रियाबाट पेसी तोकिएको थियो। १० वटा इजलास तोकेर १९२ वटा मुद्दा पेसीमा चढे पनि बन्दी प्रत्यक्षीकरणका ३ वटा मुद्दामा मात्र सुनुवाइ भयो।

उता प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलनरत नेपाल बार एसोसिएसनले धर्ना जारी राखेको छ। कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा दिनहुँ एक घण्टा कालोपट्टी बाँधेर धर्ना दिइरहेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै