बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

विवाहपञ्चमी महोत्सव : भक्तजनको भिड, मिथिला खुसीमा मग्न

 २३ मंसिर २०७८, बिहीबार  

जनकपुरधाम : विवाहपञ्चमी महोत्सवमा मिथिला नगरी जनकपुरधाम यस्तै मौलिक गीतमा मग्न छ। रामसीताको विवाहोत्स अवलोकन गर्न नेपाल तथा भारतबाट आएका लाखौं श्रद्धालुले मिथिला नगरी रमाएको छ। विवाह पञ्चमी महोत्सवअन्तर्गत वुधबार भगवान् रामसीताको विवाहको उल्लासमा मिथिला मग्न छ।

त्रेता युगमा गाँसिएको पौराणिक र धार्मिक सम्बन्धको साक्षी बन्नका लागि जनकपुर आएका श्रद्धालुहरूले जानकी मन्दिर भरिभराउ छ। गत वर्ष कोरोना महामारीले सीताराम विवाह महोत्सव आयोजना भएन। विवाह पञ्चमीमा जानकी मन्दिरमा धार्मिक विधिविधान भए पनि मेला आयोजना गरिएको थिएन।

त्रेता युगमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच गाँसिएको वैवाहिक सम्बन्धलाई आदर्श मानिन्छ। आदर्श जोडी रामसीताको विवाह उत्सव प्रत्येकवर्ष जनकपुरमा मंसिर शुक्ल पञ्चमीका दिन मनाइन्छ। साताव्यापी महोत्सवमा हुने सबै विधिहरू मौलिक परम्परा अनुसार हुन्छ।

बुधबार अबेर राति जानकी मन्दिरको भव्य मण्डपमा मैथिल मौलिक संस्कृतिअनुसार रामसीताको वैवाहिक कार्यक्रम सम्पन्न भएको छ। बुधबार दिउँसो जनकपुरको बाह्रबिघा (रंगभूमि मैदान)मा रामसीताको स्वयंवर सम्पन्न भएको थियो। जानकी मन्दिरबाट निस्केको माता जानकी र राममन्दिरबाट निस्केको भगवान् रामको डोला लाखौं श्रद्धालुहरूको साथ रंगभूमि मैदानमा पुगी स्वयंवर गरिएको थियो।

रामसीताको डोलाबीच स्वयंवर सम्पन्न भएपछि बुधबार राति जानकी मन्दिरको भव्य मण्डपमा मैथिल संस्कृतिअनुसार वैवाहिक कार्यक्रम भएको थियो। स्वयंवरमा सहभागी भएका श्रद्धालुलाई नेपाली सेनाको हेलिकोप्टरबाट पुष्प वर्षा गरिएको थियो। सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा स्वयंवरअघि शोभायात्रा निकालिएको थियो।

शोभायात्राको भिड नियन्त्रण गर्न सयौको संख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। सँगै नेपाली सेनाको सांस्कृतिक टोलीले मंगलध्वनी बजाउँदै यात्रामा सहभागी भएका थिए। जानकी मन्दिरका महन्त रामतपेश्वर दासको नेतृत्वमा निस्केको जानकीको डोलासँग प्रदेश २ का पर्यटनमन्त्री शत्रुघन महतो, संघीय सांसद राजेन्द्र महतो, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहसहित उच्च सुरक्षा अधिकारीहरूको सहभागिता थियो।

त्रेता युगमा राम जानकीको विवाह भएको अवसर पारी मंसिर शुक्लपञ्चमीको दिन सीताको जन्मस्थल जनकपुरधाममा प्रत्येक वर्ष विशेष महोत्सव आयोजन हुँदै आएको छ।

पाँच दिनअघि नगर दर्शनसँगै सुरु भएको विवाह महोत्सवको दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, चौथो दिन मंगलबार मटकोर र पाँचौदिन बुधबार विवाह उत्सव मनाइएको छ। बिहीबार जन्तीहरूलाई रामकलेवा अर्थात् विवाह भोज खुवाएर बिदा गरिने छ।

वैवाहिक समारोह अवधिभर सात दिन जनकपुरधामको जानकी मन्दिर दुलही पक्ष र राम मन्दिर दुलहा पक्षमा विभाजित हुन्छ। अयोध्याबाट आउने साधुसन्तहरू राम मन्दिरमा बस्छन् र वैवाहिक समारोहमा जन्ती बनेर जानकी मन्दिर पुग्छन्। जानकी मन्दिरमा छोरी पक्षले जन्तीहरूलाई भव्य स्वागत गर्छन्।

यसैबीच, प्रदेश २ स्वास्थ्य निर्देशनालयले जानकी मन्दिर प्रांगणमा कोरोना डेस्क सञ्चालन गरिएको स्वास्थ्य निर्देशक विजयकुमार झाले बताए। डेस्कमा कोरोनाबाट जोगिने जनचेतनामूलक कार्यक्रमसँगै खोप,स्वाब परीक्षण,हात धुने तथा मास्क वितरण गरिएको उनले बताए। यो समाचार नागरिक दैनिकमा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै