बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

देशभर ठन्डी बढेसँगै विज्ञहरूले दिए यस्तो सुझाव

 ३ पुष २०७८, शनिबार  

पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर ठन्डी बढेसँगै विज्ञहरूले चिसो तथा वायु प्रदूषणबाट जोगिन आग्रह गरेका छन्। मौसमविद्ले पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबारदेखि चिसो अझै बढ्ने अनुमान गरेका छन्।

मौसमविद्का अनुसार चिसोयाममा हावाको बहाव कम हुने भएकाले धुलोका मसिना कण (२.५ पिएम) जमिनको सतहमै हावामा टाँसिएर बस्छन्, जसले मानव जीवनमा घातक असर पार्न सक्छन्। तर गर्मीयाममा हावाको बहाव बढी हुने भएकाले धुलोका त्यस्ता कण जमिनको सतहबाट निकै माथि उड्छन्।’ चिसोयाममा प्रदूषणको जोखिम अत्यधिक बढ्ने भएकाले यसबाट जोगिनुपर्ने वातावरणविद् बताउँछन्।

मौसमविद् प्रतिभा मानन्धरले शनिबारपछि हल्का बदली हुने र चिसो बढ्ने सम्भावना रहेको बताइन्। मौसम पूर्वानुमान महाशाखाले शनिबार पहाडी भूभागको केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

मौसमविद्का अनुसार पुस सुरु भएसँगै चिसो बढेको छ। माघको अन्त्यतिर चिसो क्रमशः घट्दै जान्छ। वातावरणविद् भने हिउँदयाममा त्यसमा पनि बदली भएका बेला प्रदूषण मात्रा बढी हुने र त्यो निकै खतरनाक पनि हुने बताउँछन्। यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्छ।

विज्ञका अनुसार चिसो बढेका बेला विशेषगरी बिहान र बेलुका वायु प्रदूषण बढी हुन्छ। वातावरणविद् तथा वातावरण विभागका शंकर पौडेलले हिउँदमा बदली भएका बेला र हावा कम चलेका बेला प्रदूषण बढ्ने बताए। ‘हिउँदयाममा हावा चल्यो भने त्यति समस्या हुँदैन तर हावा चलेन र बदली भयो भने वायु प्रदूषणको समस्या खतरनाक हुन्छ’, उनले भने।

शीतलहर चलेका बेला वायु प्रदूषण झनै जोखिमपूर्ण हुने विज्ञ भनाइ छ। काठमाडौंजस्तो वरिपरि पहाडले घेरिएको ठाउँमा चिसोयाममा धुलोका मसिना कण गुम्सिएरै हावाभित्र रहने पौडेलको भनाइ छ।

वातावरणविद्हरू हिउँदभन्दा वर्षायाम जनस्वास्थ्यका लागि उपयुक्त हुने बताउँछन्। धुलोका कण वर्षासँगै हट्ने भएकाले वर्षायाम उपयुक्त हुने उनीहरूको भनाइ छ।

हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कण प्रतिघनमिटर ५० भन्दा कम देखिए त्यस क्षेत्रलाई ग्रिनजोन मानिन्छ। विश्व स्वास्थ्य संगठनले हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कण प्रतिघनमिटर ४० भन्दा कम देखिए ग्रिनजोन मान्ने गरेको छ तर नेपालले ५० सम्म देखिए ग्रिनजोन मान्ने गरिएको छ।

काठमाडौंको रत्नपार्कमा अघिल्लो वर्षको पुसमा हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कण प्रतिघनमिटर १ सय ५० को हाराहारी पुगेको वातावरण विभागले जनाएको छ। वातावरणविद्का अनुसार प्रदूषणको मात्रा एक सयसम्म देखाए त्यसलाई यल्लो जोनमा राखिन्छ। प्रदूषण मापन गर्न राखिएका स्टेसनले सयभन्दा कम देखिए त्यस क्षेत्रलाई बस्न ‘ठीकै अवस्था’ मान्ने गरिन्छ।

तर प्रदूषणको मात्रा १ सय ५० र त्योभन्दा माथि भए रेड जोन भनिन्छ। रेड जोनले बस्न जोखिमपूर्ण रहेको संकेत गर्छ। वन तथा वातावरण मन्त्रालयका अनुसार नेपालमा प्रदूषण बढ्नुमा गाडीबाट निस्कने धुवाँ (३५ प्रतिशत) बढी जिम्मेवार छ। यसैगरी उद्योग तथा कलकारखानाबाट २५ प्रतिशत र इँटाभट्टाहरूबाट २५ प्रतिशत प्रदूषण हुने गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै