बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

निर्मला पन्तको हत्यामा संलग्न एक भारतीय नागरिकको डीएनए जाँच

 १९ पुष २०७८, सोमबार  

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक शंकास्पद युवकलाई पक्राउ गरी डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ती युवकमाथि अनुसन्धानकेन्द्रित गरी डिएनए परीक्षण गरेको हो । जिप्रका कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीले डिएनए अनुसन्धानको क्रममा शंकास्पद व्यक्तिहरूको परीक्षणको काम भइरहेको बताए । तर, प्रहरीले सो आरोपमा कसैलाई पनि पक्राउ नगरेको उनको भनाइ छ ।

डिएनए परीक्षणका लागि नमुना संकलनमै त्रुटि भएको भन्दै त्यस विधिबाट अभियुक्त पत्ता नलाग्ने निष्कर्ष यसअघि निकालिएको थियो । डिएनए परीक्षणको विषयमा दुईवटा छानबिन समितिले यसमा त्रुटि भएको औँल्याएको थियो ।

राष्ट्रिय मानवअधिकार आयोग र डिएनए विशेषज्ञ जीवन रिजालको नेतृत्वको विज्ञ टोलीले यसबारे छुट्टाछुट्टै छानबिन गरेको थियो । दुवै टोलीले डिएनए परीक्षण प्रक्रियामै कमजोरी भएको तथ्य औँल्यायो । जसअनुसार अब डिएनए प्रविधिबाट अभियुक्त पत्ता लाग्न सक्दैन भन्ने दुवै प्रतिवेदनको निष्कर्ष थियो । तर, पनि प्रहरीले डिएनए विधिलाई नै अनुसन्धानको मुख्य आधार बनाएको छ ।

‘छानबिन टोलीले जे भने पनि डिएनएबाटै अभियुक्त पत्ता लाग्छ भन्ने हाम्रो विश्वास छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘सोही आधारमा शंकित व्यक्तिहरूमाथि अनुसन्धान चलिरहेको छ ।’ यसअघि नै प्रहरीले यो घटनामा एक सयभन्दा धेरै व्यक्तिको डिएनए परीक्षण गरिसकेको छ ।

यसअघिका छानबिनमा भने डिएनएको नमुनामै मिसावट भएको उल्लेख छ । राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा भनिएको छ, ‘डिएनए परीक्षणका लागि भजाइनल स्वाबलगायतका नमुना संकलन गर्दा सिन्कोमा बेरिएको कपासबाट गरिएको यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिने अवस्था छैन ।

यसरी संकलन गरी टेस्टट्युबमा राख्दा पर्याप्त मात्रामा डिएनए संकलन नहुने र डिएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही आउन नसक्नेजस्ता समस्या रहेको पाइयो । मूलतः नमुना संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो ।’

आयोगले पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा पूर्वएआइजी विज्ञानराज शर्मा, फरेन्सिकविज्ञ डा. हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा र आयोगका अनुसन्धान अधिकृत रहेको समिति गठन गरेको थियो ।

पछि गृह मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक रिजालको नेतृत्वमा विज्ञ समिति गठन गरेको थियो । सो समितिले पनि अब अनुसन्धानमा डिएनए प्रविधि प्रभावकारी नहुने निष्कर्ष निकालेको थियो ।

मृतकको शरीरबाट संकलन गरिएको नमुनामै मिसावट भइसकेकाले अब डिएनए प्रविधिबाट अभियुक्त पत्ता लगाउन धेरै गाह्रो हुने रिजाल बताउँछन् । ‘यो घटनामा अब डिएनए परीक्षणको रिजल्ट सही आउने सम्भावना कम छ,’ उनले भने, ‘सुरुमा स्याम्पल नै कन्टामिनेट भइसकेको छ ।’

निर्मलाको भजाइनल स्वाबबाट निकालिएको नमुनाबाट डिएनए परीक्षण गरी अभियुक्त पत्ता लगाउन असम्भव रहेको विज्ञहरूले बताइसकेका छन् । प्रहरीले वाई–एसटिआई विधिबाट डिएनए परीक्षण गरेको थियो, जुन विधि वंश पत्ता लगाउन प्रयोग गरिन्छ ।

सामान्यतया, अभियुक्त पहिचान गर्न अटोसोमल प्रविधिबाट परीक्षण गरिन्छ । निर्मलाको बलात्कारपछि हत्या भएको ४१ महिना भइसकेको छ । १० साउन ०७५ मा महेन्द्रनगर, उल्टाखामकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो ।

भोलिपल्ट अर्धनग्न अवस्थामा उखुबारीमा उनको शव भेटियो । बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै