बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रदेश २ मा शीतलहरका कारण मृत्यु हुनेको संख्या ३ पुग्यो

 २२ पुष २०७८, बिहीबार  

शीतलहरका कारण सिरहाको कल्याणपुर नगरपालिका–१ मटिअर्वाकी ६० वर्षीया पल्टीदेवी सदाको बुधबार बिहान ओछ्यानमा कठ्यांग्रिएर मृत्यु भयो।

शीतलहरसँगै चलेको पश्चिमी हावाका कारण बढेको चिसो थेग्न नसक्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको पनि मृत्यु भएको छ।

यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ठाकुरको घरमै मृत्यु भएको हो। शीतलहर चलेसँगै बढेको चिसोले एक दिनमै प्रदेश २ का तीन जिल्लामा तीनजनाको मृत्यु भएको हो। कठ्यांग्रिएर मृत्युवरण गर्नुपर्ने अवस्था निम्तिन सक्ने भन्दै धेरैजना त्रासमा छन्।

हुस्सुले ढाकेको बिहानको शीतलहरमा लुगलुग काम्दै घरबाहिरभित्र गरिरहेका कल्याणपुर–१ का चन्देश्वर सदाको प्रत्येक जाडोयाम मरिने हो कि भन्ने त्रासमै बित्छ। आफ्नै गाउँका कैयन् मान्छेले चिसोले कठ्यांग्रिएर प्राण त्यागेको उनले प्रत्यक्ष देखेका छन्। तर, जति डर लागे पनि उनको घरमा ओढ्ने र लगाउने न्यानो कपडा छैन।

माथि खरले छाएको छाप्रोमा ओत लागेर चिसोको सामनाका लागि संघर्ष गर्नु उनको बाध्यता हो। पराल ओछ्याइएको भुइँमा उनको रात बित्छ। कल्याणपुरको अति विपन्न यस दलित बस्तीमा अरूको जस्तै ५० वर्षीय लटुु सदाका निम्ति पनि सिरक ओढेर मिठो निद्रा सुत्नु सपना मात्रै हो।

उनको पनि गतिलो छाप्रो छैन। राम्ररी नबारेको भित्ताबाट छिर्ने रातको चिसोले उनको मुटु कपाउँछ। पुसको पहिलो सातादेखि चलेको शीतलहरको त झन् कुरै भएन। ‘मालिकको मजदुरी गरेर भात खान ठिक्क हुन्छ,’ उनले भने, ‘ओढ्ने, ओछ्याउने र न्यानो कपडा कहाँबाट किन्नु?’

कल्याणपुर नगरपालिकामा ५५ हजार जनसंख्यामा १८ हजार दलित रहेको स्थानीय अभियन्ता सञ्जय महराले बताए। जसमा मुसहर, चमार, बातर, खत्बेलगायत समुदाय छन्। मजदुरी गरेर गुजारा चलाउने अधिकतर मुसहर सुकुमबासी छन्। ऐलानी, पर्तीमा शीतसमेत छेक्न नसक्ने छाप्रामा जीवन बाँचिरहेका विपन्न समुदायका मानिसहरू शीतलहरका कारण सबैभन्दा बढी पिरोलिएका छन्। हरेक वर्ष प्रदेश २ का आठ जिल्ला शीतलहरको कहरले प्रभावित हुने गरेका छन्।

२०७४ सालयता शीतलहरकै कारण यस प्रदेशमा ७६ जनाले मृत्युवरण गरेको तथ्यांकले यहाँको गरिबीलाई प्रस्ट्याउँछ। जाडो लागेपछि सुरु हुने दुर्दशाको कथा उल्लिखित पात्रको घरमा मात्रै सीमित छैन। मधेसका अधिकांश दलित विपन्नको व्यथा यस्तै कहालीलाग्दो छ।

प्रत्येक वर्ष आउने शीतलहरले विपन्न बस्तीको जनजीवन कष्टकर मात्र बनाउँदैन व्यक्तिको ज्यानै लिने गर्छ। शीतलहरका कारण यस प्रदेशमा सबैभन्दा बढी मानिसले मृत्युवरण गरेको वर्ष २०७४ हो। प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांकअनुसार २०७४ सालमा सबैभन्दा धेरै रौतहटमा २८, सप्तरीमा १८, महोत्तरीमा तीन, सिरहा र धनुषामा दुई/दुई तथा पर्सा र सर्लाहीमा एक/एक जनाको मृत्यु भएको छ। २०७७ सालमा शीतलहरका कारण १० जनाको मृत्यु भयो। सिरहा र पर्सामा चार/चार र सर्लाहीमा दुईजनाको मृत्यु भएको थियो।

२०७५ सालमा रौतहटमा चारजनाले शीतलहरका कारण ज्यान गुमाएका थिए भने सिरहा, धनुषा, पर्सा र बारामा एक/एक जनाको ज्यान गएको थियो। २०७३ सालमा पर्सामा एकजनाको मृत्यु भएको प्रहरीको तथ्यांकले देखाउँछ। यो त प्रहरीले शीतलहरका कारण भएको मृत्यु भएकाको सूचीमा रेकर्ड भएको तथ्यांक मात्र हो। चिसोका कारण भएका धेरै मृत्यु त प्रहरीमा दर्ज नै हुँदैनन्।

प्रहरी अधिकारीका अनुसार शीतलहरकै कारण कसैको मृत्यु भएको भनेर प्रमाणित गर्न पोस्टमार्टम गर्नुपर्छ, जुन हुँदैन। प्रदेश २ को नीति तथा योजना आयोगका अनुसार यो प्रदेशमा झन्डै ६० लाख जनसंख्या छ।

यसको १८ प्रतिशत बढी दलित छन्। त्यसमध्ये ५० प्रतिशत दलित त अति नै विपन्न छन्। दलितबाहेकको पनि ५ प्रतिशत जनसंख्या अत्यन्त गरिब छन्। आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाका अनुसार शीतलहरबाट सताइने भनेकै दलित र विपन्न वर्ग हुन्। यस प्रदेशका करिब १५ प्रतिशत जनता शीतलहरको कहरबाट सताइएका छन्।

दलित र विपन्नलाई जाडोले पिरोलिनुको मुख्य कारण मौसमभन्दा पनि गरिबी रहेको दलित अभियन्ता सञ्जय महरा बताउँछन्। शीतलहरको प्रभाव गरिब र विपन्न परिवारमा चर्को रहेको सरकारी अधिकारीहरू पनि स्वीकार गर्छन्। प्रदेश सरकारको तथ्यांकले पनि यहाँ ४८ प्रतिशत बहुआयामिक गरिबी रहेको देखाएको छ। विपद्को दृष्टिकोणले प्रदेश २ अति नै जोखिमयुक्त प्रदेश हो।

शीतलहरजस्ता आइपर्ने विपद् व्यवस्थापन गर्न प्रदेश २ सरकारले २०७५ सालमै ऐन बनायो तर फितलो कार्यान्वयनका कारण अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। ऐनमा ‘उच्च संकटको अवस्थामा रहेका समुदायको पहिचान गरी जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने/गराउने तथा आपतकालीन उपचारका लागि सार्वजनिक तथा निजी अस्पताल वा स्वास्थ्य संस्थामा पर्याप्त पूर्वाधार तथा सुविधाको व्यवस्था गरी विपद् प्रभावितलाई तत्काल स्वास्थ्य उपचारको व्यवस्था मिलाउने’ भनिएको छ। तर, ऐन कार्यान्वयन  प्रक्रिया अत्यन्त सुस्त छ। शीतलहर आउनैलागिसक्दा पनि प्रदेश सरकारले पूर्वतयारीको कामसमेत गरेको छैन। शीतलहर सुरु भइसक्दा प्रदेश २ का जिल्लाले विपद् व्यवस्थापन समितिको बैठक बोलाउँदैछन्।

सिरहाका प्रजिअ लालबाबु कबारीले सबै स्थानीय तहलाई न्यानो कपडा र कम्बल तयारी अवस्थामा राख्न र दाउरा संकलन गर्न भनिसकेको बताए। महोत्तरीका प्रजिअ वासुदेव दाहालले पनि दाउरा तयारी अवस्थामा राख्न वन कार्यालयलाई भनिसकिएको जानकारी दिए। रौतहटका प्रजिअ कृष्णबहादुर शाहीले जाडोमा बाल्न भनेर सबै स्थानीय तहलाई दुई चट्टा (एक चट्टामा ५ सय क्युबिक फिट हुन्छ) का दरले दाउरा वितरण गर्ने निर्णय भएको जानकारी दिए।
बाराका प्रजिअ कृष्णबहादुर कटुवालले प्रभावितलाई कम्बल र दाउरा वितरण गर्न तयारी अवस्थामा राखिएको बताए। गाउँपालिकालाई दुई चट्टा, नगरपालिकालाई चार र महानगरपालिकालाई आठ चट्टा दाउरा उपलब्ध गराउन वन कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको पर्साका सहायक प्रजिअ भीमकान्त पौडेलले जानकारी दिए।

सप्तरीका प्रजिअ दनार्दन गौतमले ‘शीतलहरमा बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, बाढीबाट प्रभावित भई हालसम्म पुनस्र्थापना हुन नसकेका परिवारलाई प्रत्यक्ष प्रभाव पर्न सक्ने हुँदा आवश्यक स्रोतसाधनको प्रबन्ध गर्ने’ भनेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै