मेयर बारबरियाले सशस्त्रका डीआईजीलाई भने “बोर्डरमा किसानलाई मल ल्याउन सहज होस्”
जनकपुरधाम । शहीदनगर नगरपालिकाका मेयर उदयकुमार बारबरिया (यादव)ले प्रदेश नं. २ का सशस्त्र प्रहरी बलका डिआइजी गणेश ठाडा मगरलाई सीमामा किसानको मल नसमातिन आग्रह गरेका छन् ।
धनुषाको महिनाथपुर बीओपीमा नयाँ भवनको उद्घाटन समारोहमा बोल्दै मेयर बारबरियाले असल किसानले ल्याएको कम्तीमा एक बोरा मल नसमातिन आग्रह गरेका हुन् ।
कृषकको अहिलेको समस्यालाई मध्यनजर गर्दै बिओपी महिनाथपुरको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा महिननाथपुर आएका डिआइजी मगरलाई मेयर बारबरियाले सीमा क्षेत्रमा कम्तीमा एक बोरा मललाई सहज बनाउन आग्रह गरे ।
वर्तमान अवस्थामा अन्नदाता भन्ने किसानलाई आन्दोलनमा सामेल हुन बाध्य पार्नु यहाँको सरकारको दुर्भाग्यपूर्ण भएको भन्दै कम्तीमा एक बोरा मल ल्याउन किसानलाई सहजै बनाइदिन आग्रह गरेका छन् ।
उनले सुरक्षाकर्मीको प्रोटोकललाई स्वीकार गर्दै व्यावहारिक भए पनि मल किसानलाई सहजै ल्याउन दिन आग्रह गरे। सो अवसरमा मेयर बारबरियाले बीओपी महिनाथपुरका इन्चार्ज इन्स्पेक्टर दिलीन्द्र खत्रीको खुलेर प्रशंसा गरे । इन्स्पेक्टर खत्रीले महिनाथपुर नाकामा कार्यसम्पादन भवन निर्माण गर्न भएको पहलको प्रशंसा गरे ।
कार्यक्रममा विदेह नगरपालिकाका मेयर बेचन दास, स्थानीय जनप्रतिनिधि, सशस्त्र प्रहरी धनुषाका एसपी नरेन्द्र सेन, डीआईजी गणेश थाडा मगर, इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक रविन मैनालीलगायत सुरक्षा निकायका अधिकारीहरुको उपस्थिति रहेको थियो ।