स्ववियुको निर्वाचन चैत ५ गते गर्ने तयारी
काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते गर्ने तयारी थालेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचन चैत ५ गते गर्न सिफारिस गरेको छ।
बिहीबार बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले जानकारी दिए।
उनले भने, ‘विद्यार्थी कल्याण परिषद्को बिहीबार बसेको बैठकले चैत ५ गते निर्वाचन गर्न कार्यकारी परिषद् समक्ष प्रस्ताव पेश गरेको हो। कार्यकारी परिषद्ले प्रस्ताव पास गरेमा छिट्टै निर्वाचन कार्यतालिका प्रकाशन गर्छौ।’
विद्यार्थी कल्याण परिषद्को सिफारिसमा त्रिविको कार्यकारी परिषद्ले स्ववियु निर्वाचनको निर्णय गर्ने व्यवस्था छ। त्रिवि कार्यकारी परिषद्को बैठक भोलि (शुक्रबार) का लागि बोलाइएको छ। भोलिको बैठकबाटै विद्यार्थी कल्याण परिषद्ले स्ववियु चुनाव गर्न गरेको सिफारिस अनुमोदन गर्ने बुझिएको छ। देशभर ६२ आंगिक क्याम्पस रहेका छन्। त्रिविले लामो समयदेखि स्ववियु निर्वाचन गराउन सकेको थिएन।