सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

Makar Sankranti 2023 : आज मकर संक्रान्ति मनाइँदै

 १ माघ २०७९, आईतवार  

हरेक वर्ष सूर्यले धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर संक्रान्ति भन्ने गरिएको हो । धार्मिक तथा वैज्ञानिक दृष्टिकोणले पनि आजको दिनलाई विशेष महत्वका साथ हेर्ने गरिएको छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर जातिले मुख्य रूपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या/सेर्ल्हेस पनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । यस पर्वमा परिवारका अग्रज र आमा–बाबुले आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने बचन लिने गर्छन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । यी परिकार पूजापाठ गरी सर्वप्रथम घरका देवदेवीलाई चढाइन्छ । मिथिलाञ्चलमा भक्तजनले माघे सङ्क्रान्तिका दिन बिहानै चोखो भई प्रसन्न मुद्रामा भगवती मन्दिरका प्रवेशद्वार तथा आ–आफ्नो घर–आँगनमा कमलको फूलजस्तै चित्र बनाई श्रृङ्गार गर्छन् । कतिपय धर्मावलम्बीले बिहान नुहाएर भगवतीको उपासना गर्ने र कतिपयले भगवतीको प्रतिमासामु तेल, चामल, सख्खर आदि चढाएर आफूभन्दा कान्छो मानिसको हातमा दिने चलन छ । धार्मिक मान्यताअनुसार भगवान र भगवती दुवैलाई सम्मान र श्रद्धाका साथ पूजाआजा गरी भगवतीलाई सिन्दूर, चुरा र तिलको लड्डु चढाउने गरिन्छ भने भगवानलाई मिठाई, फलफूल र तिलको लड्डु अनिवार्य रूपमा चढाई खिचडीको भोग लगाइन्छ । यस पर्वमा खिचडी खान अनिवार्य भएकाले यसलाई खिचडी पर्व पनि भनिन्छ । यो पर्वमा ब्राह्मण भोजनको पनि व्यवस्था गरिन्छ । ब्राह्मणलाई दान गर्नका लागि तिल तथा सख्खरबाट बनाइएको लड्डुको प्रयोग गरिन्छ । यस पर्वमा तिल तथा चिउराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई तिलवाच्युरा पनि भन्ने चलन छ । यसबाहेक चामल, खिचडीका सामग्रीहरू जस्तै मासको दाल, अरवा चामल, नुन, बेसार, तरकारी, घिउ र दही दान गरिन्छ । कतिपय सम्पन्न व्यक्तिले जुत्ता, छाता, ठूलो रूमाल र कम्बल पनि दान गर्छन् । उक्त दान आफ्ना लागि वा पितृहरूका लागि पनि दान गर्ने परम्परा रहिआएको छ । खासगरी मैथिल महिलाका लागि तिला सङ्क्रान्ति पर्वको अझ बढी महत्त्व छ । यसै दिनदेखि कन्याहरू सुयोग्य वर प्राप्तिको कामनाले तुसारी पर्व मनाउन थाल्छन् भने विवाहित महिला पृथ्वी पर्व मनाउने गर्छन् । यस पर्वमा नवविवाहित दुलहाको घरबाट दुलहीको माइतमा तिल वा चिउराको कोसेली र जाडोमा लगाउने लुगा पठाइ दिने परम्परा पनि छ । यस प्रथालाई मैथिलीमा जडाउर भनिन्छ । धेरैजसो मिथिलावासी यसै दिनदेखि माघ स्नान सुरू गर्छन्, अर्थात् माघ महिनाभर एकाबिहानै नुहाएर घिउखिचडी खान्छन् ।

यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्त्वपूर्ण मानिएको छ । धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ । माघेसङ्क्रान्तिलाई हाम्रो देशमा थरिथरिका जनजातीले किसिमकिसिमले मनाउने चलन छ, यस आलेखमा हाम्रो देशका बेग्लाबेग्लै ठाउँमा बसोबास गर्ने भिन्नभिन्न जनजातीसँग रहेको यस पर्वको सम्बन्ध र त्यसले सञ्चरण गर्ने एकता र सद्भावको सन्देशलाई समेट्ने प्रयास गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै