भारतमा लोकसभा निर्वाचन सुरु, मोदीको कस्तो पर्ला असर ?
जनकपुर – भारतमा लोकसभा निर्वाचन सुरु भएको छ । लोकसभाको ५ सय ४३ सिटका लागि हुने निर्वाचनअन्तर्गत आज पहिलो चरणको मतदान भइरहेको छ ।
आजदेखि सुरु हुने मतदान सात चरण अर्थात १ जुन सम्म चल्नेछ भने ४ जुनमा मतगणना गरिनेछ।
आज पहिलो चरणमा उत्तर प्रदेश, बिहार, मध्यप्रदेश, राजस्थान, उत्तराखण्ड , पश्चिमबंगाल, असम, मेघालय, अरुणाचल, मणिपुर, महाराष्ट्र, तमिलनाडु, छत्तीसगढ, मिजोरम, नागालैंड, सिक्किम, त्रिपुरा, जम्मु कश्मिर, अण्डमान निकोबार टापु, लक्षद्वीप तथा पुडुचेरीका १ सय २ सिटमा मतदान भइरहेको हो।
करिब एक अर्ब ४४ करोड जनसंख्या रहेको भारतमा करीब ९७ करोड मतदाता रहेका छन् । कुल मतदातामध्ये ४९ करोड ७० लाख पुरुष मतदाता र ४७ करोड १० लाख महिला मतदाता रहेको जनाइएको छ । मतदानकालागि देशभर करिब १५ लाख मतदानस्थल स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदान ५५ लाख इलेक्ट्रोनिक भोटिङ्ग मेसिनको व्यवस्था गरिएको छ । वृद्ध र असक्तका लागि पहिलो पटक हुलाकबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
५४३ सदस्यीय लोकसभामा सामान्य बहुमतका लागि २७२ सिट आवश्यक छ । यो निर्वाचन मार्फत प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकाल पनि सत्ता सम्हाल्ने आकांक्षामा छन् । उनले चार सयभन्दा सिट जित्ने दाबी गर्दै आएका छन् ।