धनुषामा महिलाको हत्या गरी घरमै गाडेर फरार श्रीमान र जेठाजु ६ महिनापछि पक्राउ

धनुषामा एक महिलाको हत्या गरेर शरीरको भागलाई टुक्रा-टुक्रा गरी फालेको आरोपमा संगलग्न रहेका श्रीमान् र जेठाजुलाई घटनाको ६ महिनापछि प्रहरीले आइतबार बिहान पक्राउ गर्न सफल भएका छन् ।
पक्राउ पर्नेमा मृतक महिलाकी श्रीमान् धनुषाको शहिदनगर नगरपालिका– ७ नेमुवा टोलका ५५ वर्षीय सुदिप ठाकुर सोनार र जेठाजु ६० वर्षीय उदित ठाकुर सोनार रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताएका हुन् ।
प्रहरीका अनुसार गत कार्तिक १० गते ४५ वर्षीया रेखादेवी ठाकुर र श्रीमान् ५५ वर्षीय सुदिपबीच बिबाद भएको थियो । आवेशमा श्रीमान सुदिपले बन्चरोको पछाडीको भागले १ बन्चरो टाउकोमा प्रहार गरेपछि श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको भोलिपल्ट श्रीमानले आफ्नै घरभित्र ५.५ फिट जती गहिरो खाल्डो खनी शवलाई खाल्डोमा पुरी घटनाको बारेमा आफ्नै सहोदर दाजु उदित ठाकुरलाई जानकारी गराई सो पश्चात दुवै दाजु–भाइसँगै भारतमा काम गर्न गएका थिए । पछि प्रहरीले महिलाको शवको कंकाल बरामद गरेको थियो ।