जीबी राईको राहदानी रद्द गर्न अदालतको आदेश

काठमाडौं,०४ माघ । कास्की जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न सरकारलाई आदेश दिएको छ। शुक्रबार न्यायाधीश हिमाल बेलबासेको एकल इजलासले राहदानी विभागलाई राईको पासपोर्ट रद्द गर्न निर्देशन दिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका पूर्व व्यवसायिक साझेदार रहेका राईमाथि देशभरका विभिन्न सहकारी संस्थामा ठगी गरी सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोप छ। हाल उनी मलेसियामा रहेका छन्। राहदानी रद्द नभएकै कारण उनलाई मलेसियाबाट नेपाल ल्याउन चुनौतीपूर्ण भएको बताइएको छ।
पाँचवटा सहकारी ठगीका मुख्य अभियुक्त रहेका राई विदेश भागेपछि सरकारले उनलाई नेपाल फिर्ता ल्याउन प्रयास गरिरहेको थियो। यसअघि प्रहरीले राहदानी रोक्का गर्न अनुमति मागे पनि अदालतले अस्वीकृत गरेको थियो। अदालतको अनुमति नपाएपछि प्रहरीले राहदानी विभागमा राईको पासपोर्ट रोक्का राख्न पत्राचार गरेको थियो।